
काठमाडौं । नेपालमा दोस्रो सप्ताहन्तमा समेत उत्कृष्ट कमाइ गरिरहेको फिल्म ‘महापुरुष’ले अमेरिकी र अष्ट्रेलियाली बजारमा सन्तोषजनक कमाइ गरिरहेको छ ।
डलासबाट अमेरिका प्रदर्शन थालेको फिल्मले एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जल्स, एक्रोनमा दैनिक कम्तीमा दुईवटा शोजसहित प्रदर्शन गरिरहेको छ ।
अमेरिका वितरणको जिम्मा लिएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका अनुसार युलेलस्थित सिनेपोलिस हलमा चलिरहेका १६ अन्य अंग्रेजी र हिन्दीजस्तै नेपाली फिल्मले पनि राम्रै कमाइ गरिरहेको छ ।
वितरक प्रतीक सुवेदीले आगामी साता ‘महापुरुष’ ग्रीन्सबोरो, सनफ्रान्सिस्को, न्युयोर्क, ओक्लाहोमा, न्युजर्सी, सियाटल, कोलम्बस र क्यानडाका तीन सहरमा रिलिज तयारीमा रहेको जनाए ।
नेपालमा फिल्मले दोस्रो सप्ताहन्तमा राम्रै कमाइ गर्ने स्पष्ट संकेत दिएको छ । शनिबार प्रमुख मल्टिप्लेक्सको अकुपेन्सी शतप्रतिशत देखिएका छ भने मोफसलमा समेत राम्रै अकुपेन्सी छ ।
फिल्मले पहिलो साता ४ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । दोस्रो सप्ताहन्तमा फिल्मले सजिलै ५ करोड ग्रसको आँकडा पार गर्नेछ ।
मोफसलका दर्शकसँग भेटघाटपछि महापुरुष राजधानी फर्किएर उपत्यकाका हलमा पुगेर दर्शकसँगै फिल्म हेरिरहेको छ । ‘फिल्मको बारेमा दर्शकले नै राम्रो छ भनेपछि दोस्रो हप्तामा झनै दर्शक बढिरहेका छन् । हामी विभिन्न हलमा पुगेर भेटघाट गर्दैछौं,’ कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले भने ।
फिल्ममा हरिवंश आचार्य, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतको अभिनय छ । षट्कोण आर्ट्सको व्यानारमा निर्मित फिल्मलाई म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4