+
+
रिपोर्ट : भक्तपुर–२ :

महेश र दुर्लभ : उस्तै पात्र, उस्तै प्रतिस्पर्धा

दिपेश शाही दिपेश शाही
२०७९ कात्तिक २० गते २०:१७

२० कात्तिक, भक्तपुर । प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर २ को प्रतिस्पर्धा कति तीव्र छ भन्ने थाहा पाउन नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीको प्रचार तथा घरदैलोलाई नियाल्दा हुन्छ ।

नयाँ ठिमीको शंखधर साख्वा चोकबाट उकालो लागेपछि आउँछ नेवार समुदायको बाक्लो आवादी भएको बस्ती । निर्वाचन आयोगले प्रचारप्रसारका लागि तोकेको मितिको पहिलो दिन नै बस्नेत र थापाले सोही बस्तीबाट आफ्नो चुनावी प्रचारका लागि घरदैलो कार्यक्रम थाले । प्रचार अवधि सुरु नहुँदै घरदैलो गरेर निर्वाचन आयोगलाई स्पष्टीकरण दिइसकेका दुवैले अब भने औपचारिक रूपमा प्रचार अभियान सुरु गरेका हुन् ।

बस्नेत मध्यपुरठिमी नगरपालिकाको कार्यालय रहेको बाखा बजार क्षेत्रभन्दा माथिपट्टिको भागमा र्‍याली गरिरहँदा थापा त्यहीं तलपट्टिको बस्तीमा घरदैलो कार्यक्रममा व्यस्त थिए । फूलमाला र टीका लगाएका बस्नेत एमालेको प्रचार र्‍यालीको ब्यानर अगाडि सबैलाई नमस्कार गर्दै तीव्र गतिमा हिंडिरहेका हुन्थे । उनी सबै मतदाताको घरघर पुगेर मत माग्न भ्याइरहेका छैनन् । र्‍याली हिंडिरहेको रुटमा पर्ने शुभेच्छुक र समर्थकका घरबाट केहीले टीका लगाएर स्वागत गर्थे ।

कांग्रेस उम्मेदवार थापा भने र्‍यालीलाई चोकहरूमा नाराबाजी गर्न लगाएर आसपासका घरमा पुग्ने कोसिस गरिरहेका देखिन्छन् । एउटै टोलमा पनि सकेसम्म घरैपिच्छे पुगेर सबैसँग मत माग्थे ।

बस्नेतको र्‍यालीमा आफ्नै पार्टीका प्रदेशसभा उम्मेदवारसँगै पार्टीकै केही कार्यकर्ता र एमालेको मात्रै झण्डा देखिन्छन् ।

थापाको र्‍यालीमा भने रोचक दृश्य देखिन्छ । वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (ख) मा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ उठेका छन् । त्यसैले पनि होला, उनको र्‍यालीमा कांग्रेसको भन्दा एकीकृत समाजवादी र माओवादी केन्द्रका झण्डा बोकेका कार्यकर्ता धेरै हुन्छन् । यसले थापालाई उक्त क्षेत्रमा गठबन्धनको बलियो साथ छ भन्ने देखाउँछ ।

राजनीतिक दल भिन्न भए पनि स्वभावका हिसाबले बस्नेत र थापाबीच कैयौं समानता छन् । दुवैको विगत पनि करिब मिल्दोजुल्दो छ । दुवै दलबलको राजनीति गर्न माहिर मानिन्छन् ।

स्वभावका हिसाबले उस्तैउस्तै दुवैलाई पार्टी नेतृत्व दाहिना छ । तर पार्टीकै अर्को पक्षले त्यति नरुचाउने भएकाले मतदाता भेटेर मात्र पुग्दैन, पार्टीका गुट र गठबन्धनका विभिन्न खेमाहरूलाई पनि मनाउनुपर्ने दबावमा छन् । त्यसो गरिएन भने को कता फुत्किने हो भन्ने टुंगो छैन ।

पार्टी अध्यक्ष केपी ओलीसँग निकट बस्नेतलाई अर्को पक्षले रुचाउँदैन । पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिने थापालाई पनि कांग्रेसको अर्को पक्षले उतिसारो रुचाउँदैन । दुई कार्यकाल लगातार जिल्ला पार्टीको सभापति भइसकेका उनीसँग कोही न कोही त असन्तुष्ट हुने नै भयो । सहयात्री दलहरूको विश्वास जित्न उनलाई गठबन्धनले तय गरेका कार्यक्रममा पुग्नु छ ।

मत माग्दै गर्दा बस्नेत र थापाले एकअर्काप्रति द्वेष राख्ने वा तितो आलोचना भरिएका टिप्पणीहरू भने गरेको त्यति सुनिएन ।

एमालेका उम्मेदवार बस्नेत पाँचवर्षे कार्यकालमा आफूले गरेका विकास निर्माणका कामकै कारण मतदाताले आफूलाई दोहोर्‍याउने विश्वास गर्छन् । ‘हामीले गएको पाँच वर्षमा भक्तपुर क्षेत्रमा गरेको विकासलाई हेरेर जनताले मूल्यांकन गर्नेछन्’ एमाले उम्मेदवार बस्नेतले अनलाइनखबरसँग भनेका छन् । ‘टोलटोलमा विकास पुर्‍याउन हामीले गरेका प्रयत्नमा जनसमुदायको साथ र सहयोग हुनेछ त्यसले भक्तपुरलाई थप समृद्ध बनाउने छ भन्ने हाम्रो विश्वास छ ।’

गठबन्धनको साथ पाएका कांग्रेसका उम्मेदवार थापा चाहिं स्थानीय निर्वाचनमा प्राप्त मतबाट बढी उत्साहित देखिन्छन् ।

जनताले प्रत्यक्ष अनुभव गर्ने विकासका लागि आफ्नो उम्मेदवारी भएको भन्दै उनले भने, ‘मेरो निष्कलंक व्यक्तित्व, सदाचार र सांसद नहुँदा पनि विकासका लागि गरेका प्रयासलाई मतदाताले बुझेका छन् ।’ अरू कसैले गरेको भन्दा आफू राम्रो काम गर्न सक्ने भएकाले मत पाउने उनको विश्वास छ ।

समान जनधारणा

राजनीतिक दल भिन्न भए पनि स्वभावका हिसाबले बस्नेत र थापाबीच कैयौं समानता छन् । दुवैको विगत पनि करिब मिल्दोजुल्दो छ । दुवै दलबलको राजनीति गर्न माहिर मानिन्छन् । पार्टीका प्रमुख निकट छन् । बस्नेत एमाले अध्यक्ष केपी ओलीसँग र थापा कांग्रेस सभापति देउवाका निकट छन् ।

बस्नेत २३ वर्र्षको उमेरमा भक्तपुरको गुन्डु गाविस अध्यक्ष भइसकेका थिए । त्यसपछि युवा संघको राजनीतिमा लागेर पार्टीको संस्थापन पक्षसँग निकट रहँदै आएका छन् । पछिल्लो समय अध्यक्ष केपी ओलीको खेमामा रहँदै आएका उनी सुरुमा झलनाथ खनालको गुटमा थिए । युवा संघको पदाधिकारी बनाउने खनालले साथ नदिएपछि उनी गुट परिवर्तन गरेर ओलीको पक्षमा लागेका थिए ।

माओवादीको युवा संगठन वाईसीएल विरुद्ध लड्न बनाइएको युथ फोर्सको जिम्मेवारी पाएपछि बस्नेतले चर्चा बटुले । त्यसपछि एमालेमा ओलीको प्रभाव विस्तार हुँदै गएपछि उनी पनि थप शक्तिशाली बन्दै गए । कतिसम्म भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएर पनि बस्नेत ओलीकै गुटबाट मन्त्री समेत बन्ने अवसर पाएका थिए ।

कांग्रेस उम्मेदवार थापा युवा र विद्यार्थी संगठनमा राजनीति गरेर आएका हुन् । उनी दोस्रोपटक भक्तपुरको जिल्ला पार्टी सभापतिको जिम्मेवारीमा छन् । लामो समय भक्तपुरमै बसेर राजनीति गरेको थापालाई अहिले प्रतिनिधिसभा सदस्यको टिकट दिनुमा देउवाको चाहनाले काम गरेको बुझाइ उनकै पार्टीका कार्यकर्तामा छ । यसअघिको चुनावमा पनि उनी सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धाका आकांक्षी थिए । तर पार्टीले दमननाथ ढुंगानालाई उठाउने निर्णय गरेपछि उनलाई देउवाले सम्झाएका थिए । त्यतिबेला ढुंगाना स्थानीयमाझ परिचित नभएका कारण पराजित भएको र अहिले आफूले स्थानीयसँग जोडिएकै कारण चुनाव जित्ने उनको दाबी छ ।

प्रतिस्पर्धा पनि बस्नेत र थापाबीच

चुनावी प्रचारलाई मात्रै नियाल्दा बस्नेत र थापाले आफ्नो निर्वाचन क्षेत्रमा अन्य दलका र स्वतन्त्रतर्फका उम्मेदवारहरूलाई छायाँमा पारेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका २६ जनामध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी राजनीतिक दलका उम्मेदवार छन् । तर बस्नेत र थापाबाहेक अरूको चुनाव प्रचार पनि त्यति देखिंदैन भने स्थानीयमा चासो पनि कम देखिन्छ ।

यसअघि पनि निर्वाचन जितेको र निर्वाचन क्षेत्र नम्बर १ मा बलियो पकड रहेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यो क्षेत्रमा राम्रो भोट छ । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा क्रमशः कांग्रेस, एमाले, नेमकिपा र राप्रपाभन्दा पछि एकीकृत समाजवादी र माओवादी केन्द्रको मत छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थन थापालाई छ भने नेमकिपा र राप्रपा दुवै दलको आफ्नै उम्मेदवार चुनावी मैदानमा छन् । नेमकिपाबाट अनुराधा थापा मगर पनि चुनावी मैदानमा छन् । भक्तपुर–२ मा राप्रपाका मोहनकुमार केसीले उम्मेदवारी दिएका छन् ।

तर मतदानको मितिसम्म बस्नेत वा थापामध्ये कुनै एक पक्षलाई सघाउनसक्ने चर्चा निर्वाचन क्षेत्रमा हुने गरेको छ । नेमकिपाले भने कसैलाई सहयोग नगर्ने बताएको छ भने राप्रपाका पनि जिल्लास्तरका नेताहरूले यस्तो सम्भावना नरहेको भन्दै ‘हल्ला मात्रै’ भएको प्रतिक्रिया दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा वडामा प्राप्त मतअनुसार कांग्रेस एक्लै एमालेभन्दा अगाडि भएको थियो । कांग्रेसले २५ हजार ७६४ मत प्राप्त गर्दा नेकपा एमालेले २४ हजार २८५ मत प्राप्त गरेको थियो । त्यसपछि नेमकिपाले ४ हजार ९२५, राप्रपाले ४ हजार १७२ मत प्राप्त गरेका थिए भने एकीकृत समाजवादीले १२०० भन्दा बढी र माओवादी केन्द्रले एक हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार थापालाई जितका लागि सहज छ । कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने गठबन्धनका दलहरू एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा २ हजार मत थपिने देखिन्छ । तर झापा, रूपन्देही, बाँकेमा तालमेल गरेको राप्रपाले साथ दियो भने बस्नेतलाई सहज हुनेछ ।

यसअघि २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा नेमकिपाका सुनिल प्रजापतिले यस क्षेत्रबाट निर्वाचन जितेका थिए । त्यसपछि २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका रामेश्वर ढुंगेलले चुनाव जितेका थिए । उक्त चुनावमा पराजित भएका एमालेका बस्नेतले २०७४ सालको चुनावमा कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका थिए ।

समस्या अनेक, नारा विकासको

यो निर्वाचन क्षेत्रमा पुरानाभन्दा नयाँ मतदाताको संख्या बढ्दो क्रममा रहेको देखिन्छ । नयाँ बनिरहेका घर र बस्तीहरूले पनि यहाँको जनसंख्यामा बसाइँ सरेर आउनेको प्रभाव बढी भएको अनुमान गर्न सकिन्छ । यद्यपि, बसाइँसराइ गरेर आउने कतिपयको मतदाता नामावली पुख्र्यौली जिल्लामा भएकाले अहिले नै ठूलो असर गरिहाल्ने देखिंदैन । तर घर जोडिएर छिमेकी बदलिएसँगै मतदाताको आवश्यकता र मनोविज्ञानमा पनि स्वाभाविक असर पर्छ नै ।

बाक्लो आवादी भएसँगै मुख्य असर पर्ने भनेकै उपभोगजन्य वस्तु वा क्षेत्रमा हो । यसको असर यहाँ व्याप्त देखिन्छ । ठिमीबाट करिब दुई किलोमिटरको दूरीमा छ यस नगरपलिकाअन्तर्गतको वडा नम्बर ४ को कार्यालय ।

हामी स्थानीयसँग संवाद गर्दै जाँदा वडा कार्यालय रहेको गाम्चा चोकमै भेटिए खानेपानी कार्यालयका प्रमुख बद्री खड्का । हामी उनीसँग संवाद गर्दै गर्दा हस्याङफस्याङ गर्दै आइपुगिन् स्थानीय दुर्गा खड्का । ‘दाइ हप्ता दिन भइसक्यो, म यहाँ कतिपटक धाइसकें । लौ न ! धारामा पानी आएन, मान्छे पठाएर हेर्न लगाइदिनुपर्‍यो’, उनले आफ्नो समस्या सुनाइन् । कार्यालय प्रमुख खड्काले तुरुन्तै मान्छे नभएको भन्दै अर्को शुक्रबारसम्म आफैं मान्छे ल्याएर आउने बताए ।

तर कामका लागि केही दिन पर्खिन सकिन्छ, खानेपानी त केही छाक वा निमेष पनि पर्खिन सकिन्न । उनी आफैं भित्रपट्टि राखेको कुर्सीमा बसेर समस्याबारे थप खुलिन् । ‘हिजो अस्ति त छिमेकीको घरमा गएर पानी थापें । आज त पानी चोर भने’ छिटो समस्या सल्टिए हुन्थ्यो भन्ने भावमा उनले भनिन्, ‘अर्को शुक्रबारसम्म त एक हप्ता हुन्छ दाइ । आजै के खाने भन्ने समस्या भइसक्यो ।’

खानेपानी कार्यालयका प्रमुख खड्काले सकेसम्म छिटो समस्याको समाधान गर्ने आश्वासन दिई पठाए । केहीबेरमै एक वृद्ध पानीसँगै सम्बन्धित अर्को समस्या सुनाउन आइपुगे । उनले एकसासमा भने, ‘म दमको मान्छे, दुईपटक तल–माथि गर्दा त जान्छु कि जस्तो भइसक्यो हजुर ।’ खानेपानी प्रमुखले तत्कालै कर्मचारीलाई बोलाएर समस्या सल्ट्याउन अह्राए ।

कुराकानीका क्रममा पानीको समस्यालाई लिएर आइरहने फोनले उनलाई बिथोलिरहन्थ्यो, उनले पनि पानीको समस्या लुकाउन सकेनन् । यो निर्वाचन क्षेत्रका गुन्डु, सूर्यविनायक, ठिमी, बोडे, बालकोट, गट्ठाघर, लोकन्थलीलगायत कैयौं क्षेत्रमा खानेपानीको समस्या रहेको स्थानीय र भाडामा बस्नेहरूबाट सुनिन्छ ।

नगरपालिका पछाडिकै बस्तीमा पनि पानी र ढलको समस्या छ । निवर्तमान सांसद बस्नेतको चुनावी र्‍याली पछ्याउँदै पुगेको एउटा घरमा हामीले सोध्यौं, ‘तपाईंका केही समस्या थिएनन्, नेतालाई त केही भन्नु भएन नि ?’

‘खै के भन्नु ? सोधे पो भन्नु । समस्या त छ नि !’ सडक छेउमा भएको आफ्नै घरको सटरमा पसल चलाइरहेकी कुमारी श्रेष्ठले भनिन्, ‘पानीको समस्या त बानी नै भइसक्यो, ढलको मात्रै निकास भए पनि हुन्थ्यो । भन्नै पाइएन ।’

उनले दुई–तीन दिनमा एकपटक आउने पानी थापेर गुजारा चलाइरहेको सुनाउँदै ‘सेफ्टी ट्यांकी’ भरिएका कारण घरपछाडिको खाली जमिनमा ढल छाड्ने गरेको बताइन् । तर उक्त ठाउँमा अर्कैले घर बनाउन लागेको भन्दै अब कता निकास गर्ने भनेर उनी चिन्तित देखिन्थिन् ।

निवर्तमान सांसद बस्नेतले अघिल्लो कार्यकालमा आफूले विस्तार गरेको भनेर विस्तार गरेका र पिच गरेका सडकहरू देखाइरहेका छन् । अर्को कार्यकालमा जिते यस्तो विकासलाई थप समृद्ध बनाउने उनको प्रतिबद्धता छ ।

गठबन्धनका उम्मेदवार थापा पनि विकासका योजना सुनाइरहेका हुन्छन् । तर देखिनेभन्दा पनि मानव–जीवनमा अनुभूत हुने खालका समस्याले शहरी जीवनलाई गाँजिरहेको बारे उनीहरू स्पष्ट देखिंदैनन् ।

गाम्चा चोकबाट केही मिटर अगाडि कपडा पसल गरिरहेकी मन्दिरा बाँस्कोटा हेर्दा विकास देखिए पनि भोग्दा हुने संकट देखाउन नसकिएको बताउँछिन् । ‘सडक हेर्दा त चिल्लो भएको छ, चोक हेर्दा राम्रो देखिन्छ’ उनले सुनाइन्, ‘तर ढलको व्यवस्थापन हुन नसक्दा घर–घरै समस्या छ । पानीको पनि उस्तै हालत छ ।’

सार्वजनिक यातायातको समस्या पनि गुन्डु, बालकोट, गाम्चालगायत क्षेत्रमा छ । स्थानीय सुमन पन्तका अनुसार माइक्रो सञ्चालन गरेर दुईपटक उद्घाटन गरे पनि नियमित नहुँदा लामो यात्रा तय गरेर ठिमी वा सूर्यविनायकबाट सार्वजनिक यातायात चढ्नुपर्ने समस्या छ । ‘बिहानतिर केही माइक्रो आउँछन् तर दिउँसो टुंगो हुँदैन, जसले गर्दा यहाँका बासिन्दालाई तलसम्मै पुग्नुपर्ने समस्या छ’, उनले भने । गाडी नआउने र आए पनि यात्रुले गाडी नभरिएसम्म पर्खेर बस्ने हुँदा स्थानीय प्रायः हिंडेरै ठिमी वा सूर्यविनायक पुग्ने गरेको स्थानीयको भनाइ छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?