
मेरो नाम सिफारिसमा
परेकोमा किन बधाई ?
के पायौ तिमीले ?
त्यो पनि छैन ।
तिमीलाई दिन केही सकिन
र पनि बधाई मलाई !
म पार्टीमा छानिएँ त किन बधाई ?
तिम्रो योगदानलाई माटोमा मिलाएर
ख्वामितको चाकडी गरेको मात्र हुँ
फेरि बधाई किन ?
मलाई चुनाब जितेकोमा बधाई किन ?
मैले जित्दा तिमीले हारेका छौ
बरू भन -जिम्मेवारी पूरा गर
ममाथि साङ्लो लगाऊ लगामको
सीसीपसलाई जस्तै कठोर सजाएँ देऊ ।
म मन्त्री भएकोमा बधाई किन ?
यो जित हैन
जिम्मेवारी भएको भए
निर्मलाहरू किन मर्थे ?
मिटर-ब्याजीहरू किन लुटिन्थे ?
पार्टीमा मेरो पदोन्नतिमा तिमीले के पायौ ?
तिमीले गर्न नसकेको मैले के गरें ?
मैले के गरें समाजका लागि ?
किन लेखा जोखा गर्दैनौ
तिमी मेरा सबै कुकामहरूलाई ?
तिमीले पढ्ने स्कुल बिगारेर
मेरो छोरी देश छाडेर विदेश गएकोमा बधाई किन ?
म मन्त्री नेपालको
छोराको दिक्षान्तमा विदेश गएकोमा बधाई किन ?
म मेरो देशको छहरालाई बिर्सेर
पैसा खर्च गर्न थाइल्याण्ड गएकोमा बधाई
एकै ठाउँ दुई पटक शिलान्यास
गरेकामा पनि बधाई
तिम्रो गाउँमा भैंसी गोठ सार्ने
बाटो बनाउन बजेट पारेकोमा बधाई
आखिर मेरो काम के थियो ?
तिमीले तिम्रो पार्टी छाडेर
मेरो पार्टीमा आएकोमा बधाई
मलाई जन्मदिन मनाउन
टोकियो पुगेकोमा बधाई
एनिभर्सरी मनाएकोमा बधाई
मन्दिर गएकोमा बधाई
मोबाइल किनेकोमा बधाई
म सुत्दा नि बधाई
उठ्दा पनि बधाई
नियम मिच्दा पनि बधाई
गुँड बनाउँदा पनि बधाई
सडकमा ट्राफिक नियम
मिच्दा पनि बधाई
मुद्दा दिंदा पनि बधाई
मुद्दा जित्दा पनि बधाई
ख्वामित मैले तिमीलाई
के गरें र मलाई बधाई ?
काल्पनि फिल्म हेर्दा पनि बधाई
फिल्म हेर्दाको फोटो राख्दा पनि बधाई
तिम्रो चाप्लुसी गर्दा पनि बधाई
बधाई धेरै बरबरायो:
एक्काइसौं शताब्दीको दास प्रथामा
हे गणतन्त्र !
बधाईको खेती नगर
अधिकार र जिम्मेवारीको कुरा गर ।
प्रतिक्रिया 4