
२० कात्तिक, बुटवल । रुपन्देही क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार टिकाराम चापागाईंले दलहरुलाई सच्याउन स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
आइतबार देवदहमा पत्रकार सम्मेलन गर्दै उनले ठूला दलहरुमा सीमित नेताको निरंकुशता हावी हुँदा नयाँले अवसर नपाएकाले पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेको उनले दावी गरे ।
चापागाईं स्थानीय चुनावसम्म नेकपा एमाले देवदह नगर कमिटी अध्यक्ष थिए । उनी २०७४ को चुनावमा एमालेबाट मेयरको उम्मेदवार हुँदा नेपाली कांग्रेसका हिरा केसीसँग पराजित भएका थिए ।
‘एउटा पार्टी मात्र हैन,सबै ठूला पार्टीमा केही नेताको निरंकुशता भयो, आफू प्रत्यक्षमा, श्रीमती र आफन्तलाई समानुपातिकमा उम्मेदवार बनाएका छन्,’ चापागाईंले भने, ‘यस्तो निरंकुशता तोड्न र ठूला भनिने दलहरुलाई सच्याउन मेरो उम्मेदवारी हो ।’
आफू स्वतन्त्र भए पनि सबै दलका मतदाताको साथ पाएकाले ३९ हजार मत ल्याएर चुनाव जित्ने चापागाईंले दाबी गरे ।
यो क्षेत्रमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा र एमाले छाडेका घनश्याम भूसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार छन् ।
पत्रकार सम्मेलनमा चापागाईंले ४० बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र मन नपरेका उम्मेदवारलाई नो भोट वा रिकलको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने, राजनैतिक पदमा एक व्यक्ति १० वर्ष भन्दा धेरै बस्न नपाउने, पदमा बहाल नहुँदा राज्यबाट सेवा सुविधा पाउने व्यवस्था खारेज गर्न नीति र कानून बनाउन भूमिका खेल्ने चापागाईंले बताए ।
चापागाईंले ठूला नेतालाई मात्र मिडियाले हेविवेट भनेर प्रचार गरिदिँदा आफूहरुमाथि विभेद भएको गुनासो समेत गरे ।
प्रतिक्रिया 4