
२० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी डटकमलाई समाचार हटाउन दिएको निर्देशन सच्याउने भएको छ ।
सञ्चारमाध्यमहरुको अनुगमन प्रेस काउन्सिलले नै गर्ने नीतिगत निर्णय यसअघि नै भएको भन्दै आयोगले शनिबारको सेतोपाटी डटमलाई स्पष्टीकरण सोध्ने र समाचार हटाउन दिएको निर्देशन सच्याउने भएको हो ।
‘कहाँ कुन चिठी लेखियो, ती विषय गौण हुन् । हामी त्यसलाई सच्याउछौं’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘कहिलेकाहीं आयोगले विषयवस्तु के रहेछ भनेर पनि चिठी लेखेर बुझ्ने काम गर्छ । मिडिया अनुगमनको काम प्रेस काउन्सिलले गर्ने भनी नीतिगत निर्णय भइसकेकाले आयोग थप अघि बढ्दैन ।’
झापा–१ का एमाले उम्मेदवार अग्नि खरेलका परिवारका सदस्य जोडिएको विषयमा प्रकाशित समाचारलाई लिएर निर्वाचन आयोगले सेतोपाटी डटकमलाई स्पष्टीकरण सोध्नुका साथै समाचार हटाउन निर्देशन दिएको थियो ।
आयोगको उक्त कदमको चौतर्फी आलोचना भएपछि निर्णय सच्याएको हो ।
प्रतिक्रिया 4