+
+

‘कांग्रेस साइजमा नआउँदासम्म, माओवादीको बरफ नपग्लिंदासम्म यो क्रम जारी रहन्छ’

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक २१ गते १९:२०

२१ कात्तिक, काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीलाई बालकोटस्थित उनको निवासमा भेट्न जाँदा उनी मोबाइलमा टिकटक हेर्दै थिए । त्यसको भिडियोमा उनीविरुद्ध कसैले नारा लगाइरहेको दृश्य थियो । नारा लगाउनेहरु एमाले पक्षधर नै थिए भन्ने बुझ्न सकिन्थ्यो । उनले त्यसलाई दोहोर्‍याएर हेरे । तर कुनै प्रतिक्रिया दिएनन् ।

आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमाले ओलीको नेतृत्वमा प्रतिस्पर्धा गर्न गइराखेको छ । कांग्रेस, माओवादीसहितको चारदलीय गठबन्धनसँग लड्न ओलीले यसबीचमा जसपा, राप्रपा, कांग्रेस बीपीसित केही सिटमा तालमेल गरेका छन् ।

उनले आफ्ना दुई प्रतिस्पर्धीहरु कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै दुईवटा मिसन चलाए । पहिलो, उनले पार्टीको पछिल्लो महाधिवेशन प्रचण्डको विगतको निर्वाचन क्षेत्रमा गराए । दोस्रो, उनले आसन्न संघ र प्रदेश चुनावको प्रचार देउवाको गढ मानिने सुदूरपश्चिमको दार्चुलाबाट थालेका छन् ।

उनी स्वयंलाई पनि सजिलो भने छैन । थुप्रै आन्तरिक असन्तुष्टिहरुलाई छोपछाप पार्दै चुनावमा जानुपरेको परिस्थितिका बीच ओली अनलाइनखबरसँग लामो कुराकानी गर्न तयार भए ।

हाम्रो स्वाभाविक जिज्ञासा थियो, गत स्थानीय चुनावमा कांग्रेससँग दोस्रो हुनुपरेको अनुभव, अनि पार्टीभित्रका कार्यकर्ताहरुका कतै संगठित, अनि कतै छरिएको मनोविज्ञान लिएर ओली कसरी चुनावमा जालान् ?

अनि राष्ट्रका ज्वलन्त मामिलाहरुमा उनको पोजिसन कस्तो रहला ?

साधारणतया चुनावको सम्मुखमा जुनसुकै उम्मेदवार, अनि नेतालाई आफ्नै किसिमको मानसिक दबाव हुन्छ । ओली भने फुक्काफाल मुद्रामा बसिरहेका थिए । हामीसँग कुराकानी गर्न बस्नुअघि उनी काठमाडौं–धादिङ जोड्ने सुरुङमार्ग अवलोकन गरी फर्केका थिए ।

उनलाई हामीले सोध्यौं, नागरिकहरुमा एक किसिमको बेचैनी र छटपटी छ, जसलाई कुनै एउटा चुनावले सम्बोधन गरिहाल्ला भन्ने भरमा उनीहरु बसेको देखिंदैन । यसमा सत्ता गठबन्धनलाई मात्रै दोष दिएर तपाईं उम्किन मिल्ला र ?

ओलीले जनतामा त्यस्तो अविश्वास र निराशा नरहेको दाबी गरे । यसलाई हल्लाका रुपमा स्थापित गर्न खोजिएको दाबी गर्दै उनले भने :

‘कतिपय असन्तुष्टि छन्, तर नेपाली कांग्रेस जबसम्म साइजमा आउँदैन नि, र जबसम्म आएँ भन्ने बुझ्दैन, अथवा माओवादीको बरफको डल्लो पग्लिसक्दैन, तबसम्म यो क्रम जारी रहन्छ । पहिले पहिले त लोकतन्त्र भनेको कांग्रेस, कांग्रेस भनेको लोकतन्त्र भन्थ्यो । त्यसको पर्याय नै आफूलाई ठान्थ्यो । आचरण व्यवहार गर्नुपरेन, विचार बोक्नु परेन । त्यो खालको थियो । अहिले त्यसबाट अलिकति पछाडि हटेको स्थिति छ । र, नेपाली कांग्रेस, सिङ फुक्लिसक्यो, अझै पनि हार मानेको छैन । एउटा बाँकी छ सिङ । त्यसकारण अर्को सिङ नफुक्लेसम्म उसले आफूले गर्न सक्दैन, अरुले गरेको काममा जस दिन सक्दैन । संसद देशलाई अगाडि बढाउनका लागि एउटा रचनात्मक थलो हो । कानुन बनाउनका लागि, सरकार बनाउनका लागि, सरकारको रखबारी गर्नका लागि भन्ने कुरा बिर्सिएर त्यसलाई दुरुपयोग गर्छ ।’

ओलीले आफ्नो नेतृत्वमा सरकार बनाएर सामाजिक काम, सामाजिक सुरक्षाका काम, उत्तरदायी, लोककल्याणकारी राज्य र एउटा जिम्मेवार राज्यको भूमिका खेल्ने दाबी गरे । अहिले भएका पार्टीमध्ये नागरिकको मनमा आशा जगाउने पार्टी एमाले मात्रै भएको भन्दै उनले भने, ‘फुसको छानो भएकालाई जस्तापाता दिइएको छ । कहाँनेर पुगेको छैन नेकपा एमाले ? कुन ठाउँमा उसको ध्यान पुगेको छैन । महिलाहरुको समस्या हेरेको छैन कि ? के हेरेको छैन ? कोभिडमा विकसित राष्ट्रहरु भन्दा राम्ररी पर्फमेन्स गरेको छ र क्षति कम भएको छ । विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ ।’

ओलीलाई हामीले संसदबाट दुईपल्ट पारित भई शीतलनिवासमा अड्केको नागरिकता विधेयक, विगतमा उनले गरेका सबल, दुर्बल कामको आत्मसमीक्षा, उनका सहकर्मी र प्रतिस्पर्धीहरुका बारेमा टिप्पणीलगायत विभिन्न विषयमा प्रश्न सोधेका छौं । ओलीसँगको अन्तर्वार्ता केही बेरमा अनलाइनखबरमा प्रकाशित हुनेछ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?