+
+

विनाशकारी बन्दै मिचाहा काँडा, नियन्त्रणमा उदासीनता

आफ्नो ऐतिहासिक भौगोलिक थातथलो भन्दा पर पुगेर नयाँ वातावरणमा नकारात्मक असर पार्ने प्रजातिहरूलाई मिचाहा प्रजाति भनिन्छ । मिचाहा प्रजातिहरू जैविक विविधता संकट र पछिल्लो शताब्दीमा प्रजाति लोप हुनुको एउटा मुख्य कारक हो ।

लीलानाथ शर्मा लीलानाथ शर्मा
२०७९ कात्तिक २२ गते ९:१९
विनाशकारी मिचाह काँडा र त्यसकै घाँस खाएर मरेका बाख्राहरू ।

कुरा सुरु गरौं, तीन प्रसङ्गबाट ।

एक- यसै वर्ष असारको अन्तिम हप्ता । बिर्तामोड चारपानेका एक स्थानीय आफ्नो बारीको झार हटाउँदै थिए । उनको हातमा काँडा र झुस बिझ्यो । सुरुमा यसलाई सामान्य ठानेका उनलाई त्यो बेला पीडादायी भयो, जब हात चिलाउँदा चिलाउँदै घाउ भएर नजिकैको क्लिनिकमा उपचार गर्नु पर्‍यो र घाउ निको हुन हप्तादिन भन्दा बढी लाग्यो ।

दुई- १३ भदौ २०७७ मा मोरङ जिल्ला उर्लाबारी नगरपालिका भोटेपुलका टेकबहादुर कटुवालले गाउँमा नयाँ देखिएको उल्टाकाँडा भनिने झार खसीहरूलाई खुवाए । लगत्तै उनका पाँचवटा खसीबोका मरे । एउटा विपन्न परिवारमा दशैंको मुखमा ५ वटा खसी मर्नु ठूलो बज्रपात थियो ।

तीन- आफ्नो खेतमा काम गर्ने क्रममा अर्जुनधारा नगरपालिका भित्तीगाउँकी एक महिलाको शरीरमा लज्जावती झार जस्तै देखिने वनस्पतिको झुस र काँडा बिझ्यो । काँडा बिझेपछि शरीर चिलाएर खपिनसक्नु भयो । उनले खरानी पानीले शरीर नुहाइन् । एक पटकमा झुस नपखालिएपछि उनले बारबार नुहाउँदा काँडा बिझेको ठाउँमा घाउ पाकेर अरू दुःख भयो ।

यसरी नौलो देखिएको झारको झुसले एलर्जी हुने, काँडाले घाउ बनाउने र पशु चौपाया ढाडिने तथा मर्ने कुरा पश्चिमी झापा र पूर्वी मोरङमा प्रशस्तै सुनिन्छन् । यी दुई जिल्लामा बग्ने बिरिंग, रतुवा, टिमाई र मावा खोला किनारका बस्तीहरूमा सुनिंदै र भोगिंदै आएका यस्ता घटना विस्तारै खोला किनारबाट परपर फैलिंदै छन् ।

माथि भेटिएका टेकबहादुरको बयानसँगै झापा र पूर्वी मोरङमा पछिल्लो दुई दशकमा घटेका घटनालाई जोडेर हेर्ने हो भने उनका खसीहरू मर्नुको कारण त्यही उल्टा काँडा झार हो भन्ने कुरामा दुईमत छैन । यो लेखक संलग्न एउटा अध्ययनको प्रारम्भिक नतिजा अनुसार झापा र मोरङ जिल्लामा यो झार खाएर ५०० भन्दा बढी चौपाया मरेको देखिन्छन् । यसमा बाख्राको हिस्सा ४० प्रतिशत छ ।

अन्य देशको उदाहरण लिंदा सन् १९९२ मा थाइल्याण्डमा यो झार खाएपछि २२ वटा भैंसी मरेका थिए । अर्को तथ्य, यो झार खाएका भैंसीको मुटु, मिर्गौला, कलेजो, फोक्सो र आन्द्रामा असर परेको कुरा रिपोर्ट गरिएको छ ।

त्यस्तैगरी भारतलगायत अन्य धेरै ठाउँमा भुलबस यो खुवाउँदा र यो भएको ठाउँमा चौपाया चराउँदा चौपाया मर्ने वा पशु चौपायाको छाला र बाहृय अंगहरूमा घाउ हुने कुरा उल्लेख गरिएका प्रशस्तै उदाहरण भेटिन्छन् । यसमा हुने मिमोसिन नामक एउटा रसायन विषालु हुने तथा यसमा भएका काँडा र मसिनो झुसले मानिस र चौपायालाई प्रतिकूल असर पार्ने कुरा अन्यत्रका धेरै अध्ययनले उल्लेख गरेका छन् ।

यो प्रजातिले पशुचौपाया र वातावरणमा ठूलो क्षति पुर्‍याउनु आफैंमा एउटा चिन्ताको विषय हो । थप, यत्रो ठूलो क्षति पुर्‍याउने र धेरै ठाउँमा मिचाहा प्रजाति भनी चर्चित बनेको यो प्रजाति नेपाल भित्रिएको करिब तीन दशकसम्म पनि वनस्पति अध्ययन टोलीको आँखामा नपुग्नु झनै विडम्बनापूर्ण हो । झापाका विभिन्न स्थानमा आजभन्दा १५ वर्ष पहिले नै यसका नकारात्मक असरहरू बारेमा स्थानीय रूपमा जानकारीमा आएको पाइन्छ तर ती स्थानीय सूचनालाई सरोकारवालाले गम्भीरतापूर्वक नलिंदा अझै धेरै क्षति भएको देखिन्छ ।

करिब तीन दशकअघि नेपालमा भित्रिएको अनुमान गरिएको यो झार एउटा मिचाहा प्रजातिको वनस्पति हो । आफ्नो ऐतिहासिक भौगोलिक क्षेत्रमा सीमित वनस्पति र जीवजन्तुहरू मानव गतिविधिसँगै एउटाबाट अर्को महादेशमा पुग्ने क्रम बढ्न थाल्यो । यातायात सञ्जाल र अन्तर्राष्ट्रिय व्यापारसँगै यस्ता प्रजातिहरू उपयोगिताको लागि वा दुर्घटनावश एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने क्रम पनि बढ्न थाल्यो ।

आगन्तुक प्रजातिहरूमध्ये सबैले नयाँ वातावरणमा हानि गर्छन् नै भन्ने छैन तर कतिपय आगन्तुक प्रजातिहरू भने रैथाने प्रजाति र वातावरणको लागि अभिशाप बन्न पुग्छन् । कतिपय अवस्थामा त यस्ता पाहुना प्रजातिले रैथाने प्रजाति लोप समेत गराउँछन् ।

यसरी आफ्नो ऐतिहासिक भौगोलिक थातथलो भन्दा पर पुगेर नयाँ वातावरणमा नकारात्मक असर पार्ने प्रजातिहरूलाई मिचाहा प्रजाति भनिन्छ । मिचाहा प्रजातिहरू जैविक विविधता संकट र पछिल्लो शताब्दीमा प्रजाति लोप हुनुको एउटा मुख्य कारक हो ।

नेपालको सन्दर्भमा ५५० भन्दा बढी प्रजातिका वनस्पतिहरू बाहृय उत्पत्तिका छन्, ती सबै मिचाहा छैनन् र अधिकांश त हाम्रो दैनिक जीवनमा प्रयोगमा समेत आएका छन् । जस्तै आलु, मकै, खुर्सानी, एभोकाडो, ड्रागन प|mुट, इपिल इपिलहरू यसकोे उदाहरण हुन् । नेपालमा मिचाहा वनस्पतिका प्रजातिहरूको संख्या २९ पुगिसकेको, छ यो क्रम बढ्दो छ ।

यहाँ चर्चा गरिएको प्रजाति यिनै २९ मध्ये एक हो । पात झट्ट हेर्दा अरेली काँडा र लज्जावती झार जस्तै देखिने यो लहरे वनस्पतिको वानस्पतिक नाम मिमोसा डिप्लोट्राइका हो । नेपालमा यसका काँडा हुने र काँडा नहुने गरी दुईवटा उपजातहरू देख्न सकिन्छ । यो वनस्पति अमेरिकाको उष्ण प्रदेशीय क्षेत्र (विशेषगरी मध्य र दक्षिण अमेरिका) र क्यारेबियन क्षेत्रको रैथाने हो ।

यो वनस्पति हाल अफ्रिका, अस्ट्रेलिया, दक्षिण एशिया र दक्षिण पूर्वी एशिया एवं प्रशान्त महासागर क्षेत्रका ३० भन्दा बढी देशहरूमा मिचाहा प्रजातिको रूपमा फैलिसकेको छ । भारतमा यो वनस्पतिलाई माटोमा नाइट्रोजनको मात्रा वृद्धि गराउन भनी भित्र्याइएको अनुमान गरिए तापनि दक्षिणएशियामा यो कहिले भित्रियो भन्ने यकिन तथ्यांक छैन ।

नेपालको संविधानले जैविक विविधता र वातावरण संरक्षणको संवैधानिक व्यवस्था गरेको छ । नेपालको संविधान अनुसूची ५ देखि ९ सम्म व्यवस्था भएका तीन तहका सरकारका अधिकार क्षेत्रहरूमा वातावरण संरक्षण र जैविक विविधतालाई तीनै तहका सरकारका एकल र साझा अधिकार क्षेत्रको रूपमा प्रत्यक्ष तथा परोक्ष रूपमा उल्लेख गरिएको छ । यसरी हेर्दा जैविक विविधता र वातावरणलाई तीनै तहका सरकारको अधिकार क्षेत्रभित्र समावेश गरिएको छ ।

जैविक विविधता र वातावरण दुवैलाई प्रतिकूल असर पार्ने हुनाले उल्टाकाँडा जस्ता मिचाहा प्रजातिको व्यवस्थापनलाई जैविक विविधता र वातावरण अन्तर्गतकै अधिकार क्षेत्रमा रहेको मान्न सकिन्छ । त्यस्तै, नेपालको जैविक विविधता राष्ट्रिय रणनीति र कार्ययोजना २०१४-२०२० ले जैविक विविधताका ५ वटा प्रमुख चुनौती पहिचान गरेको छ । तीमध्ये मिचाहा प्रजाति पनि एक हो । सोही रणनीतिले मिचाहा प्रजातिको चुनौती उच्च रहेको र यो चुनौती माथिल्लो हिमाली क्षेत्र बाहेक सबैतिर बढ्दो क्रममा रहेको पनि स्वीकार गरेको छ ।

सोही रणनीतिमा मिचाहा प्रजातिको व्यवस्थापनका लागि सर्वेक्षण गर्ने, भौगोलिक वितरणको नक्सा बनाउने, नियन्त्रणका योजना बनाउने, जनचेतना बढाउने जस्ता कार्यहरू गर्ने उल्लेख छ । यसरी मिचाहा प्रजाति व्यवस्थापन गर्ने कुरा उक्त रणनीतिको योजना भए पनि मूर्त रूपमा काम भएको भने देखिंदैन । उपलब्ध सूचना संकलन गर्ने केही प्रजातिको भौगोलिक नक्सा बनाउने बाहेक व्यवस्थापनलाई सहयोग पुग्ने खाले अध्ययन हुनसकेका छैनन् ।

केही सामुदायिक वनहरूले मिचाहा प्रजाति नियन्त्रण गर्न केही कार्य गरे पनि उचित विधि र उपयुक्त समय नहुँदा नतिजा अपेक्षित हुनसकेको छैन । वनमा झाडी सफाइ गर्ने कार्यलाई दीर्घकालीन वन पुनस्र्थापनासँग जोड्न नसक्दा मिचाहा प्रजाति नियन्त्रणको प्रयास अपेक्षित रूपमा सफल हुनसकेको छैन । वन व्यवस्थापन बृहत् विधा हो तर आज हाम्रो वन व्यवस्थापन साँघुरिएको छ । वन व्यवस्थापन भनेको रूख र काठ व्यवस्थापन बनेको छ ।

वन व्यवस्थापन साँघुरो हुँदा यस्ता मिचाहा प्रजातिको व्यवस्थापनमा वनका निकायहरूको यथोचित ध्यान जान सकेको छैन । जसको कारण हामीले हेर्दाहेर्दै लहरे वनमारा चितवनबाट दाङ र पोखरा पुगेको छ । ऽुत प्रतिक्रिया चाहिने यस्ता मिचाहा प्रजाति नियन्त्रणमा सरोकारवालाहरूको गम्भीरता देखिंदैन ।

आफूलाई हैरान पारे पनि मिचाहा प्रजाति किसान र वन समूहको काबुभित्रको विषय नहुन पनि सक्छन् । किसान र वन समूहहरूको नियन्त्रण प्रयासलाई दिशा निर्देशित गर्न र नतिजामुखी बनाउन राज्यका निकाय र सरोकारवालाहरूको सहयोगको जरूरी हुन्छ । यद्यपि यस्तो उचित सहयोग कसले कसरी गर्ने भन्ने व्यावहारिक अन्योल देखिन्छ । विधागत हिसाबले मिचाहा प्रजाति वन, वातावरण र कृषि मन्त्रालयअन्तर्गत हुन् भन्ने आम बुझाइ देखिन्छन् र माथि उल्लिखित जैविक विविधता रणनीति हेर्दा पनि यही कुरा बुझिन्छ ।

तर वन क्षेत्र र कृषि क्षेत्र भन्दा बाहिर सडक र नदी तटमा फैलिएका मिचाहा प्रजाति कुन निकायले हेर्ने भन्ने व्यावहारिक अन्योल देखिन्छ । सडक किनार जुन मिचाहा प्रजाति फैलिनको लागि सहयोगी मार्गको काम गर्छ, त्यस ठाउँमा सडक विभागको विज्ञता पर्याप्त छैन !

विषयवस्तुको विज्ञता र जनशक्तिको हिसाबले डिभिजन वन कार्यालय नै स्थानीयस्तरमा व्यवस्थापनको संयोजनको लागि उपयुक्त हुनसक्छ । तर मिचाहा प्रजाति व्यवस्थापनमा तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय व्यक्ति, जैविक विविधता र वातावरणको क्षेत्रमा काम गर्ने सबैको सहकार्यको जरूरी पर्दछ ।

संघले यस्ता प्रजातिको लागि राष्ट्रिय रणनीति बनाउने र कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारले काम गर्दा उपयुक्त हुन्छ । किनकि कार्यान्वयन त स्थलगत रूपमा नै गर्नुपर्ने हुन्छ ।

टेकबहादुरलगायत अन्य धेरै किसानको नोक्सानी र हैरानीको कारण बनेको उल्टाकाँडा झार आउनुमा न किसानको दोष छ न त यसको वृद्धि र विस्तारमा नै । यद्यपि समयमै यसको नियत्रण नहुनुमा भने राज्यका निकायहरू दोषी छन् ।

आज झापा र मोरङमा देखिएको यो झार अन्यत्र फैलिएर थप जोखिम हुन नदिन सरोकारवालाहरूले तुरुन्त पहलकदमी लिनुपर्दछ । मिचाहा प्रजाति वातावरणीय जोखिम हुन् भन्ने मनन गर्दै यिनको व्यवस्थापनमा गम्भीर बनिएन भने हामीले अरू धेरै र अनपेक्षित क्षति व्यहोर्नुपर्नेछ ।

000

तस्बिर-१ – उल्टा काँडाले भएको घाउ -तस्बिरः टीकाराम वन)
तस्बिर-२- उल्टा काँडा खाएपछि मरेका खसी -तस्बिरः सजलसन्देशडटकम)
तस्बिर-३ – उल्टा काँडा झार -तस्बिरः लीलानाथ शर्मा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?