
२२ कात्तिक, काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले साथ दिएका छन् । उनीहरुले आज (मंगलबार) संयुक्त रुपमा फेटा गाउँपालिका क्षेत्रीय सभा आयोजना गरेका छन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार छन् ।
यहाँबाट नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार थिए । तर सत्ता गठबन्धनको भागबण्डामा बारा–४ एकीकृत समाजवादीको भागमा परेपछि पूर्व श्रममन्त्री श्रेष्ठले टिकट पाए । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा छैटौं स्थानमा रहेको एकीकृत समाजवादीलाई कांग्रेसले सो क्षेत्र छाडेको भन्दै रुष्ट वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
तिनै वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका हुन् । प्रभु साहको अभियानमा एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपाने पनि लागेका छन् । न्यौपाने चुरे भावर पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । चितवनमा अयोजित एमालेको दशौं महाधिवेशनबाट न्यौपाने केन्द्रीय सदस्यसमेत भएका थिए । एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि रुष्ट साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका छन् । मधेश प्रदेशमा आफ्नो राम्रो पकड रहेको दाबी गर्ने प्रभु र बद्री दुवै एमालेविरुद्ध लागेर वाग्लेलाई समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
२०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट सांसद चुनिएका मिया यसपटक एमाले प्रवेश गरी प्रतिस्पर्धामा उत्रिएका छन् । अर्कोतर्फ २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी कृष्णकुमार यसपटक बारा ४ मा उम्मेदवार बनेका छन् । सबै उम्मेदवारहरु भोट आ–आफ्नो पक्षमा तान्न रस्साकस्सीमा छन् ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधार मान्दा बारा क्षेत्र नम्बर ४ मा नेकपा एमाले पहिलो पार्टी हो । कांग्रेस दोस्रो र लोसपा तेस्रो पार्टी हुन् ।
एमालेको २१ हजार १६७, कांग्रेसको १६ हजार ५८९ र लोसपाको १५ हजार ८० मत छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रको मत ९ हजार १३, पाँचौ स्थानमा रहेको जसपाको ५ हजार ६९१ र छैटौं स्थानको एकीकृत समाजवादीको ५ हजार १९ मत छ ।
प्रतिक्रिया 4