
काठमाडौं । उच्च रक्तचाप र हातखुट्टा चलाउन असहज भएपछि गायक कुबेर राई अस्पताल भर्ना भएका छन् । सोमबार बेलुका उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।
उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको जनाइएको छ । ‘उहाँको अवस्था स्थिर छ । मानसिक रुपमा उहाँ स्वस्थ हुनुहुन्छ, तर देब्रे हातखुट्टा चलाउन मुस्किल छ,’ उनका नातेदार राजु सुब्बाले भने, ‘आत्तिनुपर्ने अवस्था छैन ।’
अचेतजस्तै अवस्था भएपछि गायक राईलाई अस्पताल लगिएको सुब्बाले जानकारी दिए ।
इलामको एउटा गाउँमा खेती किसानी गर्दै बसिरहेका गायक राईको मूल कर्म भनेको संगीत नै हो । उनी लामो समयदेखि अनवरत रुपमा संगीत साधना गरिरहेका छन् । ‘गायक बन्न’ कुनैबेला उनी काठमाडौं आएका थिए । त्यसबेला उनको उमेर १६ वर्षको थियो । त्यसबेला रेडियो नेपालमा स्वर परीक्षा पास गरेर उनले औपचारिक संगीत यात्रा सुरु गरे ।
गायक राईले ‘प्रतिभाको खोजी’ नामक देशव्यापी आधुनिक गायक प्रतियोगितामा भाग लिएर सानै उमेरमा आफूलाई चिनाए । यो २०३९ सालको कुरा हो । त्यसपछि २०४० सालमा रत्न रेकर्डिङले आयोजना गरेको ‘अधिराज्यव्यापी युवा गायन प्रतियोगिता’मा भाग लिएर उनी प्रथम भए । २०५१ सालमा रेडियो नेपालले गरेको आधुनिक गीत प्रतियोगितामा पनि उनले प्रथम स्थान हासिल गरे ।
राई लामो समय काठमाडौंमा टिक्न सकेनन् र गाउँ फर्किए । खेतीपातीमा लागे । यद्यपि खेतीपातीसँगै आफ्नो मूल कर्मबाट भने विचलित भएनन् । उनले ‘अन्तराल’, ‘निरन्तर’, ‘अविरल’, ‘आवृत्ति’ जस्ता गीति एल्बम बजारमा ल्याए । ‘मायाले मूलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु’ लगायत गीत उनका निकै लोकप्रिय छन् ।
आप्रवासी नेपालीमाझ उत्तिकै प्रिय उनी गाउँमै रहँदा देश विदेशको संगीत कार्यक्रममा पनि निरन्तरजसो सहभागी भइरहे । कहिले हङकङ त कहिले बेलायत, कहिले अष्ट्रेलिया त कहिले कोरिया ।
प्रतिक्रिया 4