
२२ कात्तिक, तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा १० जना उम्मेदवार छन् । जसमध्येका डा. विजय सुब्बा र सीता गुरुङ दुवै पूर्वसांसद हुन् र उनीहरु एकअर्काबिरुद्ध पहिलो पल्ट प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका सुब्बा त २०४८ र २०५६ गरी दुई पटक सांसद चुनिएका थिए भने गुरुङ २०६४ र २०७० का दुवै संविधान सभामा समानुपातिक पद्धतिबाट सांसद थिइन् ।
त्यसो त गुरुङ २०७४ सालमा पनि तेह्रथुपमबाट उम्मेदवार थिइन् र त्यतिबेला उनी नेकपा एमालेका भवानी खापुङसँग २ हजार २१ मतान्तरले पराजित भइन् । उनै खापुङ मात्र होइन, २०७४ मा खापुङलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रको समर्थन अहिले गुरुङलाई छ । एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी गठन गरेका खापुङको दल सत्ता गठबन्धनमा छ ।
एकीकृत समाजवादी तेह्रथुमका अध्यक्ष कुष्णा चोङबाङ चुनाव जित्नका लागि मात्र नभएर संबिधान र जनताको हक अधिकार रक्षाको निम्ति गठबन्धन बनेको बताउँछन् । उनी भन्छन्, ‘संविधान र जनताको हक अधिकार रक्षाको निम्ति गठबन्धनका उम्मेदवारलाई जिताउनु हाम्रो कर्तव्य हो ।’
सत्ता गठबन्धन दलको समर्थन पाएकी सीता विगतमा आफूले तेह्रथुम जिल्लाको विकास र सम्ृद्धिका लागि गरेको योगदानलाई सम्मान गर्दै जनताले जिताउने बताउँछिन् ।
‘जिल्लाको छथरदेखि आठराईसम्मको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चुनावी मैदानमा आएकोछु,’ भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत भइसकेकी उनले भनिन्, ‘मतदाताले काम गर्ने मौका दिए गफ हैन फेरि एक पटक काम गरेर देखाउनेछु ।’
२०७० र २०७४ को चुनाव जितेका खापुङले पार्टी छाडेपछि एमालेबाट सुब्बा तेह्रथुममा निर्विकल्प उम्मेदवार बनेका हुन् र उनले पनि जितको दाबीसहित चुनावी अभियान अघि बढाइरहेका छन् ।
जिल्लाको समग्र विकासका लागि इमान्दार प्रयत्नका साथ लाग्नलाई आफू उम्मेदवार बनेको सुब्बा बताउँछन् । ‘जिल्लाका विकृत राजनीतिक परिवेशको सुधारको निम्ति र जनता र राष्टको पक्षमा कानुन निर्माणका लागि सार्थक उपस्थिति जनाउन मेरो उम्मेदवारी हो,’ उनले भने ।
स्थानीय तह चुनावमा वडाध्यक्षहरुले पाएको मतका आधारमा तेह्रथुममा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । नेकपा एमाले एक्लैको यहाँ २२ हजार ३१२ मत छ ।
तर सत्तारुढ गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा भने एमाले पछि पर्छ । यहाँ नेपाली कांग्रेसको २१ हजार ९११ र नेकपा माओवादी केन्द्रको ६८६ र नेकपा एकीकृत समाजवादीको ५४६ मत छ ।
२०६४ सालमा बाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ । २०६४ सालमा तेह्रथुमबाट कांग्रेसका तुलसी सुब्बाले चुनाव जितेका थिए । २०४८ सालमा २ क्षेत्र रहेको तेह्रथुमलाई त्यसपछि भने प्रतिनिधि सभाका लागि एक क्षेत्र मात्र बनाइएको थियो ।
प्रतिक्रिया 4