+

बेल्जियमको स्वर्ण पुस्तालाई कतार विश्वकप अन्तिम अवसर !

२०७९ कात्तिक  २३ गते ८:१६ २०७९ कात्तिक २३ गते ८:१६
बेल्जियमको स्वर्ण पुस्तालाई कतार विश्वकप अन्तिम अवसर !

काठमाडौं । बेल्जियमको स्वर्ण पुस्तालाई कतारमा हुने फिफा विश्वकप अन्तिम मौकाको रुपमा रहेको छ । मिडफिल्डर केभिन डे ब्रुएनाले कतार विश्वकप आफ्नो अन्तिम हुने सक्ने बताएपछि बेल्जियमको उत्कृष्ट खेलाडीहरु सम्मिलित टिमका लागि यो अन्तिम अवसरको रुपमा हुनेछ ।

उत्कृष्ट खेलाडी हुँदै फिफा वरीयतामा शीर्ष स्थानसम्म पुगेको बेल्जियम अहिलेसम्म ठूला अन्तर्राष्ट्रिय उपाधिविहीन छ । उसलाई ‘अन्डरएचिभर्स’को ट्याग लाग्दै आएको छ ।
स्टार खेलाडीहरुले भरिएको बेल्जियन टिममा डे ब्रुएनासँगै थिबाउट कोर्टवा, इडेन हाजार्ड र रोमेलु लुकाकुजस्ता खेलाडी छन् ।

नोभेम्बर २० मा कतारमा फिफा विश्वकप सुरु हुँदा बेल्जियम पनि उपाधिको एक दाबेदारको रुपमा रहनेछ । तर, बेल्जियमले आफ्नो स्तर अनुसार प्रदर्शन गर्न संघर्ष गरिरहेको छ ।

सन् २०१२ मा नेदरल्याण्ड्समाथि ४–२ को जितपछि बेल्जियम अन्तर्राष्ट्रिय स्तरमा उदाएको थियो र यो टिमले करिब एक दशक सँगै खेलिसकेको छ ।

सन् २०१४ को विश्वकपमा बेल्जियम अर्जेन्टिनासँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।
चार वर्षपछि रुसमा भएको विश्वकपमा बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो । यो नै बेल्जियमको टिमको उत्कृष्ट प्रदर्शन मानिन्छ ।

सम्भावित विजेताको रुपमा रहेको टिम युरोकपमा २०१६ र २०२० मा दुवै पटक क्वाटरफाइनलमै पारजित हुँदै बाहिरिएको थियो । दाबेदारको रुपमा स्वभाविक प्रदर्शन गर्न नसकेपछि बेल्जियम कम उपलब्धि हात पार्ने टोलीको रुपमा बदनाम छ ।

बेल्जियमका पूर्व प्रशिक्षक जिओर्ज लिकेन्सले ट्रफी जित्न असफल हुनुमा बर्तमान प्रशिक्षक रोबर्टो मार्टिनेजको मानसिकतामाथि नै प्रश्न गरेका छन् । ‘ट्रफी बिनै हामी फिफा वरियतामा पहिलो स्थानमा पुग्यौं । तर, यो वरियताले कुनै काम गर्दैन,’ लिकेन्सले भनेका छन्, ‘जब तपाईं केही गर्ने हिम्मत गर्न सक्नुहुन्न, तपाईंसँग केही पनि छैन । बलियो मानसिकता र जित्ने इच्छा मार्टिनेजको समूहमा छैन ।’

बेल्जियमका धेरै जसो स्टारहरु अहिले ३० वर्ष हारहारीका छन् । उनीहरुका लागि यो नै विश्वकप अन्तिम पनि हुनसक्छ ।

उदाउँदा क्षमतावान खेलाडीहरु लोइस ओपेन्डा, चाल्र्स डे केटेलाएरे र अमादोउ ओनाना बेल्जियमको भविष्य हुन् ।
तर, डी ब्रुएना, हाजार्ड, कोर्टवा, टोबी एल्डरवाएरल्ड, जान भर्टोनघन, एक्सल विट्सल र ड्राएस मर्टेन्स अर्को विश्वकपसम्म सन्यास लिइसकेका हुनेछन् वा २०२६ को विश्वकपसम्म उनीहरुको खेल्ने सम्भावना कम भइसक्नेछ ।

‘हामीले केही पनि जितेका छैनौं’

बेल्जियमका कप्तान हाजार्डले विश्वकपका लागि कतार जाँदा आफूहरुको लागि यो निर्णायक क्षण हुन सक्ने स्वीकार गरेका छन् । ‘सधैं गोल्डेन जेनेरेसन बारे कुरा हुन्छ । यसमा केही सत्यता पनि छ । हामीले १० वर्ष सँगै बिताइसकेका छौं,’ २०१५ देखि बेल्जियमको कप्तानी गरिरहेका हाजार्डले भने, ‘निश्चय पनि, हामीसँग राम्रा खेलाडीहरु छन् तर, हामीले अहिलेसम्म केही पनि जितेका छैनौं ।’

बेल्जियमको प्रशिक्षकको रुपमा छैटौं वर्षमा रहेका मार्टिनेजले डी ब्रुएनाले अर्को विश्वकप खेल्ने सम्भावना कम रहेको बताउँदा टिमका अन्य खेलाडीमा एकताको भावना थप्ने आशा राखेका छन् ।

म्यानचेष्टर सिटीका मिडफिल्डर डी ब्रुएनाले कतारमा बेल्जियमको समूह चरणको खेल हेर्न आफ्नो परिवारलाई पनि लैजाने बताएका छन् । उनले एक पटक परिवारलाई आफूले विश्वकप खेलेको देखाउन चाहेको बताए ।

फिफा विश्वकप बेल्जियम टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय