
२२ कात्तिक, विराटनगर । कोसी राजमार्गको विराटनगर प्रवेशद्वार खारजीबाट करिब सात सय मिटर पश्चिम पर्छ, ‘खारजी कोहबरा’ ।
विराटनगर महानगरपालिका– ४ मा रहेको यो बस्तीले विकासको नाममा वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुुने सडक र विजुलीको पोलबाहेक केही पाएको छैन ।
सडक, खानेपानीलगायतका पूर्वाधारबाट टाढै छ यो बस्ती । प्रदेश राजधानीमै पर्ने यो गाउँका बासिन्दा राज्यसँग विकासका योजना माग्दा माग्दै थाकिसकेको बताउँछन् ।
‘गिटी हाल्देऊ भनेर पोहोर (२०७४) को चुनावमा पनि भनेको हो’, स्थानीय हिरालाल ऋषिदेवले भने, ‘चुनावमा आउँदा काम गरिदिन्छु भने, तर यो बाटो जस्ताको तस्तै छ ।’
हिरालालका अनुसार २०७४ सालको चुनावमा मुसहर बस्तीका बासिन्दाले दिनाभद्रीको मन्दिर निर्माण र गाउँमा सडक ग्राबेल गर्नका लागि गिटी मागेका थिए ।
निर्वाचनअघि पुगेका कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला र एमाले उम्मेदवार लालबाबु पण्डितले हुन्छ भन्दै आश्वासन दिए । तत्कालीन प्रदेशसभा सदस्य उम्मेदवार चुमनारायण तबदार र जीवन आचार्यले पनि आश्वासन दिए । हार्ने त हार्ने भइगए, जित्ने उम्मेदवार लालबाबु पण्डित र चुमनारायण तबदार पनि फर्किएर पुगेनन् ।
मंसिर ४ गतेका लागि उनीहरुको एजेण्डा पुरानै छ, ‘दिनाभद्रीको मन्दिर घेराबारा र सडक ग्राबेल गर्न ८–१० टिपर गिटी ।’ मोरङ–६ मा पर्ने यो क्षेत्रबाट ४ मंसिरमा हुने चुनावमा पनि पुरानै उम्मेदवार कोइराला र पण्डित छन् ।
मुसहर समुदायले दिनाभद्रीको पूजा गर्छन् । कोहबराका मुसहर समुदायले दिनाभद्रीको मन्दिर खुला आकाशमुनि बासको भाटाले बेरेर बनाएका छन् । ‘अरुतिर मन्दिर टिनको छानो लाएर पक्की पनि बनाएका छन्’, हिरालालले भने, ‘१३–१४ वर्ष भयो हाम्रो त यस्तै छ ।’
स्थानीय अमल ऋषिदेवका अनुसार गाउँको अर्काे ठूलो समस्या नागरिकता हो । बर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले नागरिकता बनाउन नसकेको उनले बताए । ‘भोट हाल्न उमेर पुगेकाहरु त धेरै छन्, तर नागरिकता नै छैन’, उनले भने, ‘बुबाको नागरिकता जन्मसिद्ध हुँदा ठूला छोरा छोरीले नागरिकता बनाउन पाएनन् ।’
४२ वर्षीय अमन यही बस्तीमा जन्मिएका हुन् । उनले मजदुरी गर्ने विराटनगर बजारको विकासक्रम देखेका छन् । तर आफ्नो गाउँको अवस्थामा पहिले जस्तै रहेकामा दुखी छन् ।
‘१९९० सालको भुईंचालोमा बुबा यहीँ हुनुहुन्थ्यो, त्यसअघि नै जंगल फाँडेर बस्नु भएको रे,’ उनले भने, ‘अहिले यो जग्गा हाम्रो नाममा छैन ।’
करिब ६० परिवार बसोबास रहेको जग्गाको मालिक भने अर्कै छन् । मुसहर समुदायले बसोबास गरेको यो जग्गा प्रताप निधि र सुनिल पौडेलको नाममा छ । सहरिया गरिब समुदायका उनीहरुलाई जग्गाधनीले हटाउन खोजिरहेका छन् । तर मानेका छैनन् । ‘हामीलाई हटाउन खोज्छन् तर कहाँ जाने,’ उनले भने, ‘हामी छोडेर जाने ठाउँ छैन ।’
मंसिर ४ गतेको निर्वाचनका लागि सो क्षेत्रमा ठूला दलका उम्मेदवार पुगेका छैनन् । भोट माग्न जाने उम्मेदवारलाई पुरानै बाचा सम्झाउने स्थानीयको तयारी छ । ‘जितेर जाने नेताहरु केही गरेनन्,’ स्थानीय दुखनी ऋषिदेवले भनिन्, ‘नेताहरु जितेर जान्छन्, फर्कदैनन्, हाम्रो दुःख जस्ताको तस्तै छ ।’
नागरिकता खोज्दाखोज्दै थाकेकी मालोदेवी
ढाकी बुन्दै गर्दा भेटिएकी मालोदेवी ऋषिदेवलाई आफ्नो उमेरै थाहा छैन । उनका अनुहार चाउरी परेका छन् । दाँत सबै झरिसके, तर नागरिकता छैन । शारीरिक रुपमा अशक्त हुँदै गएकी उनको उमेर ७५ वर्ष भन्दामाथि रहेको छिमेकी अमन ऋषिदेवले बताए । तर नागरिकता बनाउन नसक्दा राज्यले दिने सामाजिक सुरक्षा पाएकी छैनन् ।
‘पहिले पहिले त कार्ड हुँदा भोट हाले तर नागरिकताको सिस्टम आएपछि हाल्न पाइन्’, उनले भनिन्, ‘ नागरिकता बनाउन हजारचोटी धाइसके तर बनेन ।’
उनको श्रीमानको नागरिकता जन्मसिद्धका आधारमा बनेको छ । बुबा आमाको नागरिकता छैन । श्रीमानको पनि मृत्यु भइसकेका कारण नागरिकता बनाउन नसकेको उनले बताइन् ।
‘नागरिकता भएको भए भत्ता पाउथेँ, हातमा नागरिकता छैन’, उनले भनिन्, ‘नेताहरुलाई पनि भने तर कसैले बनाइदिएन ।’
प्रतिक्रिया 4