
२२ कात्तिक, काठमाडौं । काठमाडौ– ८ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार रहेका शिवसुन्दर राजवैद्य हिजोआज मतदाता भेट्न घरदैलोमा छन् ।
अष्टलक्ष्मी शाक्यलाई साथमा लिएर चुनावी अभियानमा रहेका राजवैद्य सोचे भन्दा बढी मत ल्याएर जित्ने दाबी गर्छन् । ‘मैले सोचे भन्दा बढी मत पाउँछु’ उनी भन्छन्, ‘टिकट लिनु र पाउनुमा परक छ । पार्टीले मूल्याङ्कन गरेर, उचित छ भनेर मलाई टिकट दिएको हो । यसकारण पनि कन्फिडेन्स छ ।’
राजवैद्य २०३६ सालदेखि राजनीतिमा छन् । नेकपा माले निकटको नेपाल स्वतन्त्र मजदुर युनियनबाट राजनीतिमा जोडिएका वैद्यले काठमाडौं जिल्ला समन्वय समितिको संयोजक भएर पाँच वर्ष काम गरे । पार्टीको नीति र निर्देशन मान्ने स्वभावकै कारण आफू पछि परेको बताउने उनी यसपटक पार्टीले दिएको अवसर सदुपयोग गर्ने बताउँछन् ।
राजवैद्यसँग प्रतिस्पर्धामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई पनि उनले प्रतिस्पर्धीका रुपमा लिएका छन् । तर, नतिजा आफ्नै पक्षमा आउने उनको दाबी छ । उनै राजवैद्यसँग गरिएको छोटो कुराकानी :
कस्तो भइरहेको छ चुनाव प्रचार प्रसार, के भनिरहेका छन् मतदाताहरु ?
कात्तिक १७ गतेदखि हामीहरु घरदैलो कार्यक्रममा छौं । घरघरमा पुग्दा मतदाताले राम्रोसँग रेक्पोन्स गर्नुभएको छ । विगतमा निर्वाचित माननीयहरु चुनाव जितेपछि नफर्किएको उहाँहरुको गुनासो छ । तपाईं पनि चुनाव जितेपछि फर्किनुहुन्न कि, पाँच वर्षमा एक चोटी मात्रै आउने होला नि हैन ? भनेर प्रश्न गरिराख्नुभएको छ ।
पार्टी फुटका विषय पनि उहाँहरुले राखिराख्नुभएको छ । हामीले एमालेलाई जिताएको तर, (जीवनराम श्रेष्ठ) अर्कोतिर जानुभयो । तपाईं पनि त्यसै पो गर्ने हो कि भनेर आशंका गर्दै प्रश्न गर्नुहुन्छ ।
यो राजनीतिक रुपमा तपाईंलाई गरिएका जिज्ञासा भए । विकास निर्माण, सुशासन, राष्ट्रिय राजनीतिमा कस्तो भूमिका निभाउनुहुन्छ भन्ने प्रश्नहरु कत्तिको आएको छ ?
छ । प्रतिनिधिसभा र प्रदेशसभा भनेको नीति निर्माण गर्ने थलो हो । सही नीति निर्माण भयो भने स्वतः सबैतिर विकास हुन्छ ।
जनताको मागहरु सही नीतिले सम्बोधन गर्छ । तैपनि, उहाँहरुलाई बुझाउनको लागि, चित्त बुझाउनको लागि विकास र समृद्धिका योजनाहरु, सम्पदा संरक्षणका कुराहरुमा प्रतिवद्धता जनाएका छौं, निर्वाचित भएपछि पूरा गर्न पहल गर्नेछौं ।
मेरो निर्वाचन क्षेत्रमा पुराना ऐतिहासिक थलोहरु छन् । कतिपयको मर्मत र जिर्णोद्धार गर्नुपर्ने छ । खानेपानी र ढलको पनि समस्या छ । बाटोकै पनि कहीँ कहीँ समस्या छ । यी समस्याहरु समाधानका लागि निर्वाचित भएपछि पहल गर्छौं भनेर प्रतिवद्धता जनाएका छौं ।
मठ मन्दिर जाँदासमेत नाक थुन्नुपर्ने बाध्यता छ । ढल व्यवस्थापनको सही विकल्प कसैले दिन सकेनन् भन्ने विषयलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
काठमाडौंभित्र धेरै पुराना ढलहरु छन् जुन ढलहरु धेरै वर्ष अगाडि सिमित परिवारका लागि बनाइएको हो । त्यसलाई अपग्रेड गर्नुपर्ने छ । चार÷पाँच सय घरका लागि बनाएको ढल चार÷पाँच हजार परिवार हुँदा त समस्या भइहाल्छ । यो समस्या आउनु स्वभाविक हो समाधान नहुनु समस्या हो । यसलाई सम्बोधन गर्न ढलकै अपग्रेड गर्नुपर्ने छ ।
यसका लागि हामीहरु नीति निर्माण गर्दा ध्यान दिन्छौं, संघबाट स्थानीय तहलाई यससम्बन्धी योजनाका लागि बजेट पठाउन पहल गर्छौं, अन्य समस्याहरु समाधानमा पनि ध्यान दिन्छौं ।
नेतृत्वले अष्टलक्षी शाक्यलाई रोज्दै थियो, उहाँले छाडेपछि तपाईंले टिकट पाउनुभयो । अन्तिममा टिकट पाउने कुराले के फरक पर्दो रहेछ ?
खासगरी कमरेड अष्टलक्षीले म संसदीय राजनीतिमा २०४८ देखि छु, अब दोहो¥याउँदिन भन्ने सोच राख्नुभयो । त्यही सोचले उहाँले छोड्नुभयो यसलाई अन्यथा सोच्नु हुँदैन ।
तपाईंले टिकट पाउनुलाई कसरी लिनुभएको छ ?
मैले जिल्ला समन्वय समितिमा पाँच वर्ष काम गरेँ । त्यस आधारमा मलाई पार्टीले टिकट दिएको हो । म नेपालको राजनीतिमा २०३६ सालदेखि नै छु । मैले नेकपा मालेको तर्फबाट नेपाल स्वतन्त्र मजदुर युनियनमा गरेँ । म पुरानो नेता हो । यसकारण पार्टीले सबैलाई न्याय गरेको छ । सबै नेता÷कार्यकर्ताहरु पार्टी अनुशासनमा बस्नुपर्छ । पार्टीको निर्देशन मान्नुपर्छ ।
बजारमा चलेजस्तो पार्टीले कसलाई न्याय वा अन्याय गर्यो भन्ने विषय हाम्रो पार्टी भित्र लाग्दैन ।
पार्टीकै निर्णय मान्ने स्वभावले तपाईं पछि पर्नुभयो भन्नेहरु पनि छन् । उनीहरुलाई के भन्नुहुन्छ ?
त्यो अवश्य हो । तर, मलाई यसपटक पार्टीले मुल्याङ्कन गरेरै टिकट दिएको हो ।
स्वयं अष्टलक्ष्मी शाक्य तपाईंसँगै घरदैलोमा हुनुहुन्छ, जित्नेमा कत्तिको विश्वस्त हुुनुहुन्छ ?
मेरो प्रतिस्पर्धामा सत्ता गठबन्धन छ । टिकट नेकपा एकीकृत समाजवादीले पाएको छ । यो पार्टीको मत बढीमा ३ हजार खस्छ ।
चुनाव जित्न ११/१२ हजार मत आउनुपर्छ । त्यति मत उसको छैन । गठबन्धनमा रहेका दलका मतदाताहरुले पूराका पूरा ह्वारह्वारती मत खसाल्ने हो भने त चुनावै गर्नुपर्ने थिएन, निर्वाचन आयोगले सिधै घोषणा गरिदिए भयो । त्यसकारण गठबन्धनको मत एकीकृत समाजवादीको होइन । यसैले पनि म कन्फिडेन्स छु ।
मैले सोचे भन्दा बढी मत पाउँछु । जहाँसम्म कमरेड अष्टको कुरा गर्नुहुन्छ । उहाँले रिपिट गर्दिन भनेपछि पार्टीले मलाई टिकट दिएको हो । पार्टीले जे आदेश दियो त्यही मान्ने मान्छे हुँ म । पार्टीले मुल्याङ्कन गरेर, उचित छ भनेर मलाई टिकट दिएको हो । यसकारण पनि कन्फिडेन्स छ ।
प्रतिक्रिया 4