
काठमाडौं । रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।
बुधबार बिहान उनी भोट माग्दै नयाँ बानेश्वरस्थित अभिनेत्री झरना थापाको निवासमा पुगे । जहाँ उनको भेट झरना, सुहाना थापा र सुनिलकुमार थापासँग भयो । थापा परिवार फिल्म निर्माणमा संलग्न छ ।
पछिल्लो छिमलकी अभिनेत्री सुहाना राजनीतिक विषयवस्तुमा समेत चासो राख्छिन् । सुहानासँगको भेटपछि सामाजिक सञ्जालबाट उम्मेदवार मिश्रले तस्वीर सेयर गरेका छन् ।
सुहानासँगको भेटपछि रवीन्द्र लेख्छन्, ‘आफ्नै निर्वाचन क्षेत्रकी चर्चित अभिनेत्री सुहाना थापासँग एक क्लिक । सुहानाजीको पुस्ताको लागि यो देश बस्नयोग्य बनाउन सकियो भने यो ‘दिल’ खुसी हुनेछ । नत्र त यो देश वृद्धाश्रम हुन लाग्यो, जहाँ नेताहरू खुसी र जनता सधैं दुःखी हुने भए ।’
मिश्रले सुहानालाई आफू लिखित पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार पनि दिए । रवीन्द्र मिश्रले सन् २०१२ मा रिलिज भएको दीपक रौनियार निर्देशित फिल्म ‘हाइवे’मा अभिनय समेत गरेका छन् ।
प्रतिक्रिया 4