
काठमाडौं । बलिउड अभिनेता नाना पाटेकर लामो समयदेखि अभिनयबाट टाढा छन् । यौन दूराचार प्रकरणका कारण उनी फिल्मबाट टाढिएका थिए । अब भने उनलाई लिएर नयाँ खबर छ । उनी चाँडै निर्देशक प्रकाश झाको आगामी वेब सिरिज ‘लालुबत्ती’मार्फत अभिनयमा पुनरागमन गर्दैछन् ।
नाना पाटेकर पछिल्लो पटक सन् २०२० मा रिलिज भएको फिल्म ‘इट्स माई लाइफ’मा देखिएका थिए । अभिनेत्री तनुश्री दत्ताले लगाएको मीटूको आरोपपछि उनी लामो समय अभिनयबाट टाढिएका थिए ।
स्वयं नाना पाटेकरले आफूले प्रकाश झाको सिरिज ‘लालुबत्ती’मा अभिनय गर्न लागेको पुुष्टि गरेका छन् । नानासँगै यसअघि ‘मिर्जापुर’, ‘बंदिश ब्यान्डिट्स’जस्ता सिरिजमा काम गरिसकेकी अभिनेत्री मेघना मलिक पनि यसमा देखिंदैछिन् ।
नाना र प्रकाशले यसअघि फिल्म ‘राजनीति’मा सहकार्य गरिसकेका छन् । सन् २०१८ मा मीटू मुभमेन्टको क्रममा तनुश्रीले नानामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । सन् २००८ मा निर्माण भएको फिल्म ‘हर्न ओके प्लीज’को सेटमा नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप तनुश्रीले लगाएकी थिइन् ।
त्यसपछि नानाले धेरै आलोचनाको सामना गर्नुपर्यो । यस घटनापछि उनले हाउसफुल ४ जस्तो व्यावसायिक हिट फिल्म समेत गुमाउनुपर्यो । तर नानाले आफूमाथि लागेको मीटू आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया 4