
२३ कात्तिक, सर्लाही । सर्लाही बरहथवाका नरेन्द्र साह कलवार र हरिप्रसाद उप्रेती २०७० सालको संविधान सभाका सदस्य हुन् ।
सर्लाहीको एउटै क्षेत्र (क्षेत्र नम्बर ३) को प्रतिनिधित्व गरेर उनीहरु दुवै जना त्यतिबेला संसद छिरेका थिए ।
२०७० सालमा नरेन्द्र तराई मधेस सदभावना पार्टीबाट समानुपातिक सांसद बनेका थिए भने उनकै वडाका हरिप्रसाद नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित ।
यो पटक सर्लाही ३ बाट उनीहरुसँगै १३ जना उम्मेद्वार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका नरेन्द्र र नेकपा एमालेका हरिप्रसादबीच नै हुने देखिन्छ ।
नरेन्द्रलाई सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको पनि साथ छ ।
नरेन्द्रसँग भिड्न लागेका एमालेका हरिप्रसादलाई जनता समाजवादी पार्टी जसपाको साथ छ । हरिप्रसाद अभिनेता निखिल उप्रेतीका दाइ हुन् ।
नरेन्द्र २०७४ मा स्वतन्त्र उठेका थिए । त्यतिबेला उनी नेकपा माओवादी केन्द्रका रामेश्वर रायसँग पराजित भए । रामेश्वरले २२ हजार ३६७ मत ल्याएका थिए भने नरेन्द्र १२ हजार ८६ मतसहित तेस्रो भए ।
दल बदल्दै अहिले उनी २०७४ मा आफूलाई हराउने दल माओवादीबाटै उम्मेदवार बनेका छन् । नरेन्द्र मनोनयन दर्ता गर्नुभन्दा केही दिनअघि मात्र माओवादीमा प्रवेश गरेका हुन् ।
नरेन्द्र विगतमा आफूले गरेको काम हेरेर नै जनताले आफूलाई चुनाव जिताउने दाबी गर्छन् । भन्छन्, ‘निर्वाचन प्रक्रिया पूरा गरेर घोषणा मंसिर १० भित्रमा हुने भए पनि चुनाव मैले अहिले नै जितिसकेको छु ।’
नेपाली कांग्रेस सर्लाहीका नेता डाकुरनाथ खतिवडा एमालेका उम्मेदवार उप्रेतीको भन्दा माओवादी उम्मेदवार नरेन्द्रले जनताको काम धेरै गरेकाले उनी लोकप्रिय रहेको दाबी गर्छन् ।
तर २०७० सालको चुनावमा यो क्षेत्रबाट एक्लै जितेकाले अहिले पनि चुनाव जित्नेमा हरिप्रसाद ढुक्क छन् । भन्छन्, ‘अहिले त जनता समाजवादी पार्टीको पनि साथ छ, मैले चुनाव नजित्ने कुरै छैन ।’
उनकै भनाइलाई सापट लिएर एमाले मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त भन्छन्, ‘हामीले चुनाव हार्ने कुनै कारण नै छैन ।’
स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा एमाले यो क्षेत्रको पहिलो दल हो । उसले २३ हजार ९६ मत पाएको थियो ।
दोस्रो भएको नेपाली कांग्रेसले २२ हजार ७६२ र तेश्रो भएको माओवादीले २१ हजार ८६ मत पाएको थियो ।
चौथो रहेको जनता समाजवादी पार्टीले भने १३ हजार ४६ र पाँचौ रहेको नेकपा एकीकृत समाजवादीले ३ हजार ५५४ मत पाएका थिए । जस अनुसार सत्तारुढ गठबन्धनको ४७ हजार ४०२ मत देखिन्छ भने एमाले र जसपाको कुल मत ३६ हजार १४२ छ ।
प्रतिक्रिया 4