
२३ कात्तिक, गोरखा । चीनसँग सिमा जोडिएको गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गरिएको छ ।
निर्वाचनपछि मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
‘यही कात्तिक ३ गते जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्यौ,’ समिति संयोजकसमेत रहेका प्रजिअ आचार्यले भने, ‘सोही निर्णय अनुसार गृह मन्त्रालय र निर्वाचन आयोगलाई हेलीको माग गर्दै पत्र पनि पठाइसकेका छौ ।’
जिल्ला निर्वाचन कार्यालयका अनुसार चुमनुव्रीमा कुल २२ मतदान केन्द्र छन् । सडक सञ्जाल नजोडिएको र भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समस्या हुने गरेको छ । ‘सडक नभएकै कारण मतपेटिका बोकाएर ल्याउनुपर्छ, मान्छेले बोकाएर ल्याउँदा ढिला हुने र सुरक्षा जोखिम पनि हुन्छ’, उनले भने । मान्छेले बोकेर मतपेटिका ढुवानी गर्दा तीनदेखि चार दिन लाग्ने उनले बताए ।
हेलिकप्टर मार्फत मतपेटिका ढुवानी भएमा मतगणना पनि छिटो सुरु गर्न सकिने उनको भनाइ छ । ‘हेलीबाट ल्याइयो भने एकै दिनमा आउछ, गणना पनि चाडै सुरु गर्न पाइन्छ,’ उनले भने । गोरखा सदरमुकामबाट सबैभन्दा टाढाको मतदान केन्द्र चुमनुव्रीको साम्दो स्थित साम्दो आधारभूत विद्यालय हो । सो क्षेत्र सदरमुकाममा ५२ कोस दूरीमा पर्छ ।
प्रतिक्रिया 4