
२३ कात्तिक, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै निर्देशका जारी गर्न विभागसँग आग्रह गरेको हो ।
त्यसक्रममा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक महेश भट्टराईले व्यवसायीहरुको मागलाई आफूले सकारात्मक रुपमा लिएको र शीघ्र निर्देशका जारी गर्न पहल गर्ने बताए । यसका लागि आवश्यक अध्ययन गरी शीघ्र प्रक्रिया अगाडि बढाउने उनले आश्वासन दिए ।
सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रष्ट निर्देशिका नहुँदा व्यवसायी मर्कामा पर्दै आएको उनीहरुले बताएका छन् । व्यवसायीले बजारको माग अनुरुप आपूर्ति व्यवस्था मिलाउनका लागि आवश्यक पहल गर्न पनि विभाग समक्ष आग्रह गरे । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी मर्कामा परेका छन् ।
विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको महासंघले जनाएको छ । पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाइ छ ।
प्रतिक्रिया 4