
२३ कात्तिक, स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र भट्टराईले उम्मेदवारी निस्क्रिय बनाएका छन् ।
नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको राय र सुझाव एवं पार्टीका केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको भट्टराईले विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका भट्टराईले २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न उम्मेदवारी निस्क्रिय बनाएको बताएका छन् ।
५ दलीय गठबन्धनको सिट बाँडफाँटको साझा सहमति र पार्टीको निर्णय बमोजिम स्याङ्जा क्षेत्र नं. २ प्रदेशसभा १ समाजवादीको भागमा परेको थियो । तर ५ दलीय गठबन्धनको साझा सहमति र निर्णय विपरीत गठबन्धनको एक दल नेपाली कांग्रेसबाट पनि उम्मेदवारी परेको थियो । त्यसपछि दलका केन्द्रीय नेतृत्वको आन्तरिक छलफलबाट आएको निर्देशन अनुसार एकीकृत समाजवादीका भट्टराईले उम्मेदवारी निस्क्रिय बनाएका हुन् ।
प्रदेशसभा सदस्यका लागि उक्त क्षेत्रमा ५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसबाट भोजराज अर्याल, नेकपा एमालेका मोहनप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेशनका राजु गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र स्वतन्त्रका धनबहादुर गुरुङको उम्मेदवारी छ ।
भट्टराईको उम्मेदवारी निस्क्रिय भएसँगै कांग्रेसका अर्याल सत्तागठबन्धनको साझा उम्मेदवार बन्न सफल भएका छन् ।
प्रतिक्रिया 4