
२४ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको सेयर कारोबार एकिकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ ।
तर, आधारभुत सेयरधनीको सेयर कारोबार भने रोक्का हुनेछ । मर्जर सम्झौता भएको सूचीकृत कम्पनीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको दिन वा भोलिपल्ट कारोबार सुर हुन अगाडि साधारणसभा नभएसम्म सेयर कारोबार रोक्का राख्न आधारभुत सेयरधनीको विवरणसहित संगठित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
यस्तै आधारभुत सेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोबार समय अगाडि नै धितोपत्र बजार वा केन्द्रीय निक्षेप सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । सोहीअनुसार कारोबार रोक्का हुने आधारभूत सेयरधनीको विवरण अद्यावधिक हुने जनाइएको छ ।
निर्देशिका कार्यान्वयनमा आएसँगै साधारण सेयधनीको सेयर कारोबार भने १५ दिनका लागि मात्रै रोक्का हुने भएको छ । ‘मर्जरमा गएको संस्थाको एकीकृत व्यवसायीक कारोबार गरेको मितिबाट गाभ्ने/गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ,’निर्देशिकामा भनिएको छ ।
हाल मर्जर प्रक्रियामा रहेका कम्पनीको पनि निवेदन दिएर कारोबार खोल्न सकिने नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमालले बताए । ‘आधारभुत सेयरधनीको प्रारम्भिक सम्झौता भएदेखि एकीकृत कारोबार हुँदासम्म रोक्का हुन्छ भने, सो बाहेक सेयरधनीको भने हुँदैन,’ बोर्ड अध्यक्ष हमालले भने, ‘आधारभुत बाहेकका सेयरधनीको एकिकृत कारोबार हुँदा अधिकतम १५ दिन कारोबार रोक्का हुनछ । अहिले कारोबार रोक्का रहेको कम्पनीले पनि निवेदन दिएर आधारभुत सेयधनी बाहे अन्यको सेयर कारोबार सुरु गर्न सक्छन् ।’
बोर्डले जारी गरेको निर्देशिका अनुसार यसअघि मर्जर तथा प्राप्तीकै कारणले सेयर रोक्का रहेका कम्पनीहरुको कारोबार फुकुवा गर्नुपर्नेछ । सम्बन्धित कम्पनीले आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीको कारोवार फुकुवा गर्न आधारभुत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्ऽीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ ।
निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ । उक्त निर्देशिका २४ कात्तिक बिहिबारबाटै कार्यान्वयन भएको बोर्ड अध्यक्ष हमालले बताए ।
प्रतिक्रिया 4