
काठमाडौं । सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्म सिनेमाघर एपमा रिलिज हुन लागेको जानकारी दिइयो । निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकलाई लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए ।
‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यावसायिक पक्ष पनि हेर्छ । आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भन्ने पनि हुन्छ । यी दुवै कुराका लागि ‘कबड्डी ४’ सिनेमाघर एपमा रिलिज गर्न लागेका हौं ।’
सिनेमाघरका सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । उनले अब युट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए ।
उनले भने, ‘युट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन । युट्युबमा धेरै दर्शकले त हेर्लान् तर पैसा एकदमै कम आउँछ । अहिले सिनेमाघर निर्मातालाई युट्युबभन्दा धेरै रेभिन्यु दिन सक्ने अवस्थामा पुगिसकेको छ ।’
युट्युबमा सित्तैंमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न गाह्रो भए पनि बिस्तारै यस्तो बानीको विकास भइरहेको उनले बताए ।
दशैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाइ गरेको उल्लेख गर्दै लामिछानेले दुई-तीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०–४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे ।
चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद् रहेको भन्दै यस्ता प्लेटफर्मलाई सहयोग गर्न बोर्ड पनि तयार रहेको बताए ।
प्रतिक्रिया 4