
२५ कात्तिक, काठमाडौं । अभिनेता सम्राट सापकोटा रंगमञ्चबाट राजनीतिमा होमिएका छन् । सधैं पर्दामा देखिने सापकोटा अहिले चुनावी मौदानमा देखिइरहेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रदेशसभा १ का उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।
उनी नेपाल सुशासन पार्टीको तर्फबाट मतदाताको घरघरमा पुगिरहेका छन् । मतदाताले जनताका खातिर काम गर्न सक्ने नयाँ अनुहार खोजेकाले आफू उम्मेद्वार बनेको उनको भनाइ छ ।
‘काम नगर्ने, सधैं जनतालाई झुक्याएर भोट मात्रै माग्न पुग्ने राजनीतिक दलका नेताबाट जनता फ्रस्टेड भइसकेका छन् । जनताले पुराना काम नगर्ने नेताको विकल्प खोजिरहेका छन् । उनी भन्छन्, ‘मेरो उम्मेद्वारी जनताको इच्छा आकांक्षा अनुसार नै हो ।’
रंगमञ्चका माध्यमबाट पनि आफूले समाजका खातिर काम गरेको बताउँदै अबका दिनमा प्रत्यक्ष रुपमा समाज र जनतासँग आवद्ध भएर काम गर्ने उनी बताउँछन् ।
समाज तथा देशको नेतृत्वमा गलत र जनताको पक्षमा काम नगर्ने नेता तथा सांसद पुग्दा जनताले दुःख पाएको उनको भनाइ छ ।
उनी राजनीतिक दलले मुलुकमा निम्त्याएको विकृति–विसंगति कुशासन र भ्र्रष्टाचारका कारण जनताले आधारभूत आवश्यकताबाट बञ्चित हुनु परेको सुनाउँदै मत मागिरहेका छन् । ‘प्रत्यक्ष राजनीतिमा आएर जनताका आवाज बुलन्द गर्नका लागि मेरो उम्मेद्वारी हो’ सापकोटाले अनलाइनखबरसँग भने ।
आफ्नो उम्मेद्वारीप्रति मतदाता सकरात्मक रहेको र मत दिने वाचा गरेको बताउँदै उनी आफ्नो जित सुनिश्चित रहेको जिकिर गर्छन् । ‘घरदैलोमा जाँदा मतदाताले सकारात्मक प्रतिक्रियाका साथै तपाईं जस्तो मान्छे चाहिन्छ भनिरहेका छन् । सापकोटा भन्छन्, ‘मतदाताको आश्वासन र तपाईं जस्तो मान्छे चाहिन्छ भन्दै उत्साह व्यक्त गरेको देख्दा मेरो जित शतप्रतिशत छ ।’
जनताको आश्वास नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै उनी आफू मतदाताको आश्वासनप्रति ढुक्क भएको बताउँछन् । ‘जनताले दिएको आश्वासनलाई आधार मान्ने हो भने म प्रदेशसभामा पुग्छु । मेरो प्रतिद्वन्द्वी नै छैनन्,’ उनी भन्छन् ।
सापकोटा मतदातालाई पुराना नेता तथा सांसद परीक्षण भइसकेका र उनीहरु जनता, समाज तथा देशका पक्षमा काम गर्न पूर्ण रुपमा असफल भइसकेकाले राजनीतिमा नयाँ अनुहारलाई अवसर दिन आग्रह गरिरहेका छन् ।
‘पहिले रंगमञ्च तथा सिनेमामा हेर्नु भयो अब राजनीतिमा हेर्नुहुने छ । काम गर्न सक्ने र प्रदेश सभामा तपाईंहरुका आवाज बोल्न सक्ने उम्मेद्वारलाई मत दिनुस्,’ भन्दै उनी घरदैलो गरिरहेका छन् ।
सापकोटाले राजकुमार, प्रतिरक्षा र कर्णवीर जस्ता दर्जनौं चलचित्रमा काम गरिसकेका छन् । सापकोटाले अन्तिम पटक २०७६ सालमा अभिनेता अनुप विक्रम शाहीलाई लिएर ‘कप्स’ चलचित्र निर्माण गरेका थिए ।
विगत दुई तीन वर्षदेखि आफू समाजसँग निकट रहेर आफ्नो क्षेत्रका जनतासँग काम गर्दै आएको उनको जिकिर छ ।
काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा सम्राटसहित १५ जना उम्मेद्वार चुनावी दौडमा छन् जसमध्ये ७ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।
नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ, एमालेका रामप्रसाद अमगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाही, नेपाल मजदुर किसान पार्टीका राजमाया महर्जन लगायत उम्मेदवार छन् ।
त्यस्तै स्वतन्त्र तर्फ गौरी पण्डित, जानकी पन्थी, हरि कृष्ण थापा, सरोज रानामगर, विनोद शाही, हरिकुमार लामा र कमला गौतम पनि उम्मेद्वार छन् ।
प्रतिक्रिया 4