२५ कात्तिक, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको १४० रन र करण केसीको ६ विकेटको प्रदर्शनलाई छायामा पार्दै प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १ विकेटको सनसनी जितसहित त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय प्रतियोगिताको इतिहासमा हरेकपल्ट फाइनलमा पुग्ने कीर्तिमान बनाएको आर्मीले उपाधिका लागि शनिबार एपीएफसँग खेल्नेछ । मधेश प्रदेशमाथि सहज जित निकाल्दै एपीएफ विहीबारै फाइनलमा पुगेको थियो ।
त्रिवि मैदानमा आर्मीले ३०५ रनको लक्ष्य इनिङको १ बल अगावै पूरा गरेपछि घरेलु क्रिकेटमा सर्वाधिक लक्ष्य पूराको कीर्तिमानसमेत बनेको छ । एकै खेलमा ६ सय १३ रन पनि घरेलु एकदिवशीय क्रिकेटमा अहिलेसम्म देखिएको थिएन ।
३०५ रनको लक्ष्य पछ्याएको आर्मीका लागि अन्तिम विकेटसम्म टिकेका राजेश पुलामी मगरले ४९.५ ओभरमा छक्का प्रहार गरी खेल जिताएका हुन् । त्यसअघि आर्मीका लागि हरिबहादुर चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय योगदान गरेका थिए ।
ओपनर हरिले ९२ बलमा ८ चौका र १ छक्कासहित ७५ रन बनाउँदा रोहितकुमार पौडेलले ८७ बलमा ९ चौकासहित ८९ रनको शानदार पारी खेले । रोहित र हरिले तेस्रो विकेटका लागि १३५ रनको शतकीय साझेदारी गरेपछि आर्मीले जितको आधार बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले ३० बलमा ३२ बनाए । विक्रम सोवले अन्तिमक्रममा आएर १८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३० रन बनाएपछि आर्मी जितनजिक पुगेको हो । खेलको प्लेयर अफ द म्याच बनेका राजेश पुलामीले धैर्यताका साथ ब्याटिङ गरी ३७ बलमा अविजित ४३ रन जोडे । आर्मीले १७ अतिरिक्त रन पाएको थियो ।

राष्ट्रिय टिमका तीव्र बलर करण केसीले ६ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । उनले १० ओभरमा ५४ रन खर्चिए । रशिद खान र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले कप्तान दपेन्द्र सिंह ऐरीको १४० र उपकप्तान आरिफ शेखको अविजित ९१ रन सहयोगमा ४ विकेट गुमाएर ३०४ रनको विशाल योगफल खडा गरेको थियो ।
प्रधानमन्त्री कपको जारी संस्करणमा दोस्रो शतक बनाएका दीपेन्द्रले १२५ बलमा ११ चौका र ५ छक्कासहित १४० रनको योगदान गरे । आरिफले १०९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे । यी दुईले चौथो विकेटका लागि २०४ रनको साझेदारी गरेपछि पुलिस विशाल योगफलमा अघि बढेको हो ।
ओपनर कुशल भुर्तेलले ३१, सुनील धमलाले १३ र अमित श्रेष्ठले १० रन बनाए । करण केसी ८ रनमा अविजित रहे । आर्मीका विक्रम सोवले ३ विकेट लिए ।
प्रतिक्रिया 4