
२६ कात्तिक, पाँचथर । पाँचथरको प्रदेश सभा २ मा ८ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोबीच हुनेछ ।
नेम्वाङ संविधान सभा सदस्य हुन् भने आङ्बो प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री हुन् । जिल्लामा लोकप्रिय रहेका दुई युवा नेताहरु पहिलो पटक एक अर्काविरुद्ध प्रतिस्पर्धामा आएका हुन् ।
पाँचथरको फाल्गुनन्द, मिक्लाजुङ, तुम्वेवा, कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको वडा नम्बर ५,६ र ९ पर्ने यो प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादीलाई समर्थन गरेका कारण कांग्रेसको उम्मेदवार छैन ।
आङ्बोले २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । त्यतिबेला एमालेको साथ पाएका आङ्बोले कांग्रेसका उम्मेदवार सुरेन्द्र दाहाललाई पराजित गरेका थिए ।
२०७४ मा आङ्बोलाई जिताउने भूमिकामा रहेका नेम्वाङ यसपटक आफैं जित्ने अभियानमा छन् ।
संविधान सभा सदस्यको रुपमा संविधान बनाउन भुमिका खेलेको र अब संविधान कार्यान्वयन गर्न आफूले जित्नुपर्ने नेम्वाङ बताउँछन् । तर नेम्वाङलाई जित्न सजिलो भने छैन ।
दुई पटक प्रदेशको अर्थ मन्त्रालय सम्हालेका आङ्बोले जिल्लामा विकासवादी नेताको पहिचान बनाएका छन् । उनले प्रदेश सरकारबाट धेरै योजना यस क्षेत्रमा पारेका थिए ।
यो क्षेत्रमा स्थानीय चुनावको नतिजा पनि नेम्वाङको विपक्षमा छ । यस क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकाको प्रमुख माओवादीले तथा फाल्गुनन्द, तुम्बेवा र कुम्मायक कांग्रेसले जितेको थियो ।
एमाले उम्मेदवार नेम्वाङ पार्टीले यसअघि आङ्बोलाई जिताएर गल्ती गरेको भन्दै भोट मागिरहेका छन् । ‘आङ्बो क्षेत्र नम्बर १ का बासिन्दा हुन्, म यसै क्षेत्रको भएकाले मैले जित्नुपर्छ’, नेम्वाङ भन्छन् ।
आङ्बो भने यस क्षेत्रको विकासका लागि थालनी गरेको योजनाको निरन्तरताका लागि पनि आफूले जित्नुपर्ने बताउँछन् । ‘अघिल्लो पटक जनतासँग खासै परिचित नहुँदा पनि जनताले माया गर्नुभयो यो पटक त उहाँहरुले चिन्ने धेरै काम गरेको छु । उहाँहरुको मायाले फेरि निर्वाचित हुनेमा ढुक्क छु’, आङ्बोले भने ।
प्रतिक्रिया 4