
काठमाडौं । नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ ।
क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन् ।
फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँचअभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको चर्चित फिल्म कलेजसँग आफूहरूले सम्झौता गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन । हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक र प्राविधिक दुवै हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौं,’ उप्रेतीले भने ।
दुवै फिल्म पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदानप्रदान गर्नेछन् । यसरी आउने/जाने विद्यार्थी १ महिना, ३ महिना र ६ महिनासम्मका लागि आउन/जान सक्ने कार्यक्रममा जानकारी गराइयो ।
नेपालबाट जाने विद्यार्थी न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लसएञ्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन् । अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन् ।
नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौता भएको कार्यक्रममा जनाइएको थियो ।
विद्यार्थी आदानप्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमाका विविध विषयमा कार्यशाला तथा मास्टर क्लासको आयोजना हुने पनि सम्झौतामा उल्लेख छ ।
यसैगरी नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा रहेका कथाको उत्खनन् गर्ने र तिनलाई दृश्यमा जिवन्त बनाउने ‘कथायात्रा’को आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइयो ।
क्याम्पस प्रमुख शिशिर उप्रेतीले न्युयोर्क फिल्म एकेडेमीले फिल्म निर्माणमा चाहिने उपकरण सित्तैमा दिने वाचा गरेको र भविष्यमा स्नाताकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि चाहिंदो सहयोग गर्ने प्रतिवद्धता जनाएको कार्यक्रममा जानकारी गराएका थिए ।
प्रतिक्रिया 4