
२६ कात्तिक, टाँडी (चितवन) । रत्ननगर नगरपालिका–१०, मेनरोडमा शुक्रबार बिहान पौने ११ बजे सूर्य चिह्न अंकित झण्डा बोकेर एमाले कार्यकर्ता बुरुक–बुरुक उफ्रिँदै नाच्न थाले । ९/१० जना महिला र केही पुरुष नाचिरहँदा गीत घन्किरहेको थियो, ‘मै पनि एमाले, सइँ पनि एमाले ।’
अगाडि रोकिएको गाडीमा चितवन क्षेत्र १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सुरेन्द्रप्रसाद पाण्डे र प्रदेशसभाका उम्मेदवार प्रकाश खनाल ‘शैलेश’को तस्वीरसहितको ब्यानर छ ।
कार्यकर्ताको भीडमा पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे आफैं चाहिँ नजर पर्दैनन् । बरु केही पर प्रदेशसभाका उम्मेदवार शैलेश भेटिन्छन् । उनी प्रायः कार्यकर्तासँग गफिइरहेका भेटिन्छन् ।
माइकमा उद्घोषक बोलिरहेका छन्, ‘अब केहीबेरमा हाम्रा आदरणीय नेता कमरेड सुरेन्द्र पाण्डेले सम्बोधन गर्दै हुनुहुन्छ ।’
उद्घोषण चलिरहँदा झण्डै ६० मिटर पर एमाले कार्यकर्ताको अर्को टोली झुल्किन्छ । त्यहीँ सयपत्री फूलको माला र खादा लगाएको अवस्थामा देखिए, पाण्डे ।
‘ल है सूर्यमा भोट है ।’
पाण्डे श्रद्धापूर्वक नमस्कार गर्दै कपडा पसलतिर छिरे । एक महिला र दुई पुरुषले मुन्टो हल्लाए । पाण्डे अघि बढिहाले ।
‘सुरेन्द्र पाण्डे भनेको ह्वाँ नै हो है, हाम्रो नेता ।’
अर्को पसलमा अगाडि पुगेर पाण्डेसँगै रहेका एक कार्यकर्ता बोले । पाण्डे फिस्स हाँसे । धेरै बोलेनन् । पसलमा बसेका दुवैजनासँग हात मिलाए ।
उनले पाण्डेलाई अर्को पसलतिर लगे ।
बजार क्षेत्रको हरेक पसलमा पाण्डेको चुनावी दौडाह चलिरहेको छ । आदर्शनगर जाने बाटो कट्नै लाग्दा राजु अधिकारी चोकैमा भेटिए । पाण्डेले श्रद्धापूर्वक नमस्कार गर्दै उनीसँग भोट मागे । अधिकारीले राम्रोसित जवाफ फर्काउनै पाएनन् । तुफान गतिमा हिँडेका पाण्डे अघि बढिहाले ।
पाण्डे अघि बढेपछि उनले अनलाइनखबरसँग कुरा गर्दै पहिले पाण्डेलाई नै भोट हालेको सुनाए । ‘तर यसपालि धरापमा छन्, विचार गर्छु’, उनले भने, ‘सत्य कुरा के हो भने उहाँले राप्तीतिरको बेल्ट मात्र धेरै काम गर्नुभयो । यता त्यति धेरै गर्नुभएको छैन ।’
पाण्डेले काम गरेको क्षेत्र पिछडिएको व्यक्ति भएको क्षेत्र भए पनि सबैलाई सन्तुष्ट बनाउन नसकेको उनले सुनाए । त्यतिञ्जेल घरदैलो टोली अलिपरै पुगिसकेको थियो । बल्ल उनले आफ्नो भेद खुलाए, ‘यसपालि विश्वनाथ पौडेललाई भोट हाल्ने हो ।’
खासमा अधिकारी नेपाल मावि पढ्दा ताका कांग्रेस उम्मेदवार पौडेलकै सहपाठी रहेछन् । यद्यपि, उनले पाण्डे पनि राम्रो छविको नेता भएको बताउँदै दुवै चाहिने मान्छे भएको सुनाए ।
‘टाँडी सु सेन्टर’मा पाण्डे छिर्दा उनले पसलमा सानो बोर्ड राख्दा पनि कर उठाएको भन्दै गुनासो गरे । ‘सधैँ हामीलाई सेक्ने काम मात्र भयो, हुँदा हुँदा पसलमा यत्रो बोर्ड राखेको पनि पैसा ?’, उनले प्रश्न गरे ।
पाण्डेले प्रदेशसभाका उम्मेदवार शैलेशतिर नजर लगाए । उनका सहयोगीले न्यौपानेको गुनासो एउटा चिर्कटोमा टिपे ।
‘मै पनि एमाले, सइँ पनि एमाले…’
बाजागाजा र नाराबाजीसहित कार्यकर्ताको टोली अनामटोल जाने गल्लीतिर लाग्यो । टोलका कुकुरहरु भौंभौं गर्दै भुक्न थाले । एमाले कार्यकर्ताको नारावाजीले भुकाइलाई नै ओझेल पारिदियो ।
आवाज सुनेर घरघरका मान्छेहरु बाहिर निस्किन थाले । पाण्डे एउटा टेलरिङ सेन्टरमा छिर्छन् । मुसुक्क हाँस्दै दुई महिला पाण्डेलाई नमस्कार गर्छन् ।
‘पर्चा खोइ, पर्चा ? दिउँ न’, पाण्डे कार्यकर्तालाई भन्छन् । अर्का कार्यकर्ताले अघि नै दिइसकेको बताउँछन् । पाण्डे फेरि सूर्य चिह्नमा मतदान गरौं है भन्दै हिँड्छन् । महिलाहरु ‘हवस्’ भन्दै मुन्टो हल्लाउँछन् ।
पाण्डे अघि बढ्छन् । मोटरसाइकलमा आएका दुईजना उनलाई देखेर रोकिन्छन् । उनी मुस्कुराउँदै हात मिलाउँछन् । ‘माहोल राम्रो छ है, दाइ’, पछाडि बस्ने व्यक्ति बोल्छन् । पाण्डे मुसुक्क हाँस्छन् ।
‘जनताको प्यारो सुरेन्द्र पाण्डे जनताकै घरदैलोमा…’
कार्यकर्ता पाण्डेको चुनावी गीत घन्काउँछन् । ‘यता जाउँ’ एकजना कार्यकर्ताले अर्को गल्ली देखाए ।
अलि पर एक हुल मानिसहरु सुरेन्द्रको घरदैलो टोलीलाई स्वागत गर्न बाटैमा उभिएका थिए । उनीहरुले सुरेन्द्रसहित अरु उम्मेदवारलाई माला, खादा लगाइदिए ।
नेकपा एमाले टोल कमिटीका अध्यक्ष शुक्रबहादुर परियार बाटोतिर आए । हात मिलाउँदै आफ्नो घरतिर पनि छिर्न संकेत गरे ।
‘आफ्नै मान्छेसँग त हात मात्र मिलाउने हो नि ! काँ घरतिर…’, कार्यकर्ता फुस्फुसाउन थाले । घरदैलोमा तुफान गतिमा हिँड्ने पाण्डे आँगनमा पुगिहाले ।
घरदैलो टोलीमा हिँडेका कार्यकर्ताले टोलमा व्यवस्थापन राम्रो नभएको भन्दै पाण्डेका सहयोगी स्वरुप सुयालसँग गुनासो गरे ।
सुयाल पनि विरक्त सुनिए, ‘अरुतिर गरिरहेको छु तर जहाँ पनि हस्तक्षेप गरेर त भएन नि ! वडाका साथीहरु छन्… ।’
पाण्डे एकैछिनमा निस्किहाले । चोक छेऊ ५/७ जना महिला बसिरहेका थिए । ‘ल है सूर्यमा मतदान गर्नु है’, पाण्डे हात हल्लाउँदै बोले । महिलाहरुले पर्चा समात्दै मुन्टो हल्लाए ।
टोलमै भेटिएकी नरमाया परियारले चाहिँ सधैँ सूर्यमै भोट दिएको बताउँदै अपाङ्ग नातिलाई परिचय–पत्र मिलाइदिन आग्रह गरिन् । सरकारले वर्गीकरण गरेर निश्चित प्रकृतिका अशक्तहरुलाई मासिक भत्ता दिने गर्छ ।
पाण्डेले परियारको कुरा गरेर सहयोग गरिदिन एकजना कार्यकर्तालाई आग्रह गरे ।
परियारले चाहिँ कार्यकर्ताहरुलाई विपक्षीले टोलमा पैसा बाँडेको सुनाइन् । ‘मान्छेलाई बोलाएर खान लिएर हिँडेका छन्’, उनले भनिन्, ‘मलाई धेरै भन्न लगाउनुस्, यत्ति बुझ्नुस् ।’
चितवन क्षेत्र नं. १ मा सत्ता गठबन्धनले उनको प्रतिस्पर्धी अर्थशास्त्री विश्वनाथ पौडेललाई बनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेलझैँ पाण्डे पनि अर्थतन्त्रको जानकार र व्यवहारिक नेता भएको भन्दै एमालेले मत मागिरहेको छ ।
पाण्डे स्वयंले पनि अनलाइनखबरसँग कुरा गर्दै आफूले स्नातक तहसम्म व्यवस्थापन पढेको बताए । ‘स्नातकोत्तरका लागि पनि मैले छात्रवृत्ति पाएको थिएँ’, उनले भने, ‘तर, भूमिगत भएका कारण पढ्न पाइन ।’
उनले आफू आर्थिक बहसमा सधैँ अग्रणी स्थानमा रहने पनि सुनाए । टाँडी, मेन रोडका एक कपडा पसल सञ्चालकले पाण्डेले सांसदका रुपमा गरेका कामसँग सन्तुष्ट देखिएनन् । उनले चितवनको विकास नभएको जिकिरसहित पाण्डेलाई किन दोहोर्याउने भन्दै प्रश्न गरे ।
पाण्डेले चाहिँ २०५० सालमा मरुभूमि रहेको पूर्वी चितवनलाई ड्याम बाँधेर आफूले नै उब्जनी हुनसक्ने जग्गा बनाएको बताए । ‘आर्थिक विकास, पुल पुलेसोहरु पनि पर्याप्त बनेका छन्’, पाण्डेले भने, ‘अब भनेको मान्छेको जीवनमा परिवर्तनका ल्याउने हो, यसका लागि उद्यम खडा गरेर रोजगारी सिर्जना गर्ने कुरा हो ।’
प्रतिक्रिया 4