
२६ कात्तिक, चितवन । सत्तारुढ गठबन्धनले शनिबार चितवनमा आमसभा गर्दा कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइराला पक्षधरले उनीमाथि गरिएको कारवाही फिर्ताको माग गर्दै भरतपुरमा प्रदर्शन गरे ।
उनीहरुको मुख्य उद्देश्य थियो, कोइराला माथि गरिएको कारवाही फिर्ता गराउन दबाव दिने । भरतपुरको वीरेन्द्र क्याम्पस गेट र त्रिचोकमा भेला भएका कोइराला पक्षका कांग्रेसका नेता कार्यकर्ताले विकास कोइरालामाथिको कारवाही फिर्ता गरे नारासहितका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
सभामा आएका कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान आफूतिर आकर्षित गर्न कोइरालाले यो काम गरेका थिए । पार्टी सभापति देउवालाई भेट्न भरतपुर महानगरका पूर्व सभापति भरत अधिकारीसहितका नेता मञ्चमा नै पुगे । विकास कोइरालाको कारवाही फिर्ताको माग गरिएको पत्र र हस्ताक्षरसहितको ब्यानर बुझाए ।
देउवाले सभालाई सम्बोधन गर्ने क्रममा कोइरालामाथि कारवाही फिर्ताका लागि एउटा सर्त राखे । ‘चुनाव जिताएको भोलिपल्टै (कारबाही) फिर्ता गर्नेछु, तपाईं चुनाव जिताउनुस् फिर्ताको काम मेरो भयो, कसैलाई पनि कारवाही गर्ने मन छैन, मैले गरेको पनि हैन, धेरै बर्ष अगाडिको कुरा रहेछ, १० बर्ष अगाडिको, मलाई थाहा पनि थिएन, निर्धक्क भएर काम गर्नुस् जिताउनुस् म भएँ’ देउवाले सभामा सम्बोधनका क्रममा भने ।
२०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालिन पार्टी सभापति सुशील कोइरालाका विरुद्ध साविक चितवन क्षेत्र नं. ४ बाट विकासले बागी उम्मेदवारी दिएपछि उनलाई पार्टीले कारवाही गरेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा आउँदासमेत देउवाले विकासलाई चुनाव जिताएर देखाए कारवाही फिर्ता गर्ने आश्वासन दिएका थिए । तर स्थानीय तहको निर्वाचन भएको ६ महिना हुँदासमेत देउवाले कारवाही त फिर्ता लिएनन् नै उल्टै भनिदिए मलाई यो अहिलेसम्म थाहै थिएन ।
देउवाले सार्वजनिक कार्यक्रममार्फत नै काररवाही फिर्ता लिने भने पनि कोइराला भने आश्वस्त भएका छैनन् । ‘मैदान बाहिर खेलाडी राखेर लौ खेल जिताउनु भनेर हुन्छ र ? हुटिङ मात्रै गरेर त खेल जितिन्न’ कोइरालाले भने, ‘खेल जिताउन त मैदानमा नै लैजानुपर्छ ।’ चितवनका ३ संघीय सांसद र ६ प्रदेश सांसदमध्ये कुनै एउटाले हारे त्यसको जिम्मा कसरी लिने भन्ने प्रश्न पनि कोइरालाले उठाए ।
प्रतिक्रिया 4