
२०१४ सालमा काठमाडौंमा जन्मिएका शिवसुन्दर राजवैद्य २०३५-३६ को आन्दोलनमय माहोलमा राजनीतिबाट टाढा बस्न सकेनन् । अनि, २२ वर्षे उनी नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध भएर राजनीतिमा सक्रिय भए ।
२०३७ सालको जनमत संग्रहमा बहुदल हारेको घोषणा भएपछि पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन २०४६ चैतसम्म लम्बियो, जसमा निरन्तर लागिरहे ।
त्यसपछिको राजनीतिक जीवनमा नेकपा -एमाले)को प्रतिबद्ध सिपाही भएर लागिपरेका राजवैद्यले ६५ वर्षको उमेरमा बल्ल यसपालि काठमाडौं-८ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् ।
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रचार अभियानमा संलग्न उनले २०५६, २०६४, २०७० र २०७४ को चुनावमा यो क्षेत्रबाट पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेले ।
पार्टी निर्णयलाई शिरोधार्य गरेर हिंड्ने स्वभावका कारण सहकर्मीभन्दा पछाडि परेको ठानिने राजवैद्य यसपटक आफूलाई सबैको सहयोग रहेको बताउँछन् ।
‘पार्टीले दिएको आदेश मान्ने मान्छे हुँ । यसपटक मूल्याङ्कन गरेर टिकट दिएको छ र सबैको साथ-सहयोग छ’ उनी भन्छन्, ‘त्यसकारण चुनाव जित्न समस्या छैन ।’
काठमाडौं-८ मा नागार्जुन नगरपालिकाको वडा नम्बर ४ र ५ सहित काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडा पर्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर राजवैद्य वडा नम्बर १३ का स्थायी बासिन्दा हुन् ।
उनले पार्टीबाट यसअघि पाएको अवसर भनेको २०७४ देखि २०७९ सम्म काठमाडौं जिल्ला समन्वय समितिको प्रमुखको पद हो । आफ्नो आकांक्षालाई पार्टी निर्णयमा चढाउँदै आएका उनलाई जिताउन एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य काठमाडौं-८ मा सक्रिय छिन् ।
यसपटक राजवैद्यलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन पनि शाक्यको प्रमुख भूमिका छ । खासमा उनले आफूलाई दिइएको टिकटमा राजवैद्यलाई प्रस्ताव गरेकी हुन् । विगतमा हरेक पटक आफूलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका राजवैद्यलाई यसपटक जिताएरै गुन तिर्नेमा छिन् शाक्य ।
काठमाडौं-८ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ उम्मेदवार छन् । हाम्रो नेपाली पार्टीका सुमन सायमी, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलगायत पनि यहींबाट प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी छन् ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा सत्ता गठबन्धन अगाडि छ । उक्त चुनावमा कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३ र एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएको छ ।
तर, स्थानीय चुनावमा वडा तहमा दलहरूले पाएको शतप्रतिशत मत प्रदेश र संघका उम्मेदवारले नपाउने राजवैद्य बताउँछन् । यद्यपि, उनका अगाडि सत्ता गठबन्धन मात्र नभई अन्य थुप्रै स्वतन्त्र युवा उम्मेदवारको चुनौती खडा छ ।
प्रतिक्रिया 4