
त्रिभुवन विश्वविद्यालयको प्राध्यापन छाडेर राजनीतिमा आएका भीमसेनदास प्रधान काठमाडौं-६ बाट लगालग दुईपटक सांसद र एकपटक मन्त्री बने । त्रिविमा नेपाल प्राध्यापक संघको अध्यक्ष रहेका उनी २०६७ सालमा नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको सभापति पनि भए ।
प्रधान काठमाडौं कांग्रेसभित्र पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको पेलाइमा परेका नेताका रूपमा चिनिन्छन् । उनी अर्का नेता कृष्णप्रसाद सिटौलाको गुटबाट २०७४ सालमा रक्षामन्त्री बनेका थिए ।
२०१५ साउनमा जन्मिएका प्रधान रसायनशास्त्रका स्नातकोत्तर हुन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी नेता हितमान शाक्यसँग पराजित भए । २०७० र २०७४ मा जितेर दोस्रो संविधानसभा र संघीय संविधान जारी भएपछिको प्रतिनिधिसभामा पुगे ।
प्रधानले २०७० मा नेकपा एमालेका योगेश भट्टराई र २०७४ मा एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई हराएका थिए । कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं–६ मा प्रधानलाई नै उम्मेदवार बनाएको छ ।
उनलाई रोक्न एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उठाएको छ । ‘खनालजी न राजनीतिक मान्छे हो न त मेरो लागि चुनौती नै,’ प्रधान भन्छन्, ‘न त उहाँको सार्वजनिक छवि नै राम्रो छ ।’
प्रधानको एउटा सबल पक्ष भनेको उनी विवादमा नपरेका नेता मानिन्छन् । दुई कार्यकाल सांसद रहँदा राष्ट्रिय मुद्दाहरूमा महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयक विरुद्धको आन्दोलन, खुलामञ्च खाली गर्ने अभियान, रानीपोखरीलाई कंक्रिटको नभई मल्लकालीन शैलीकै बनाउनेलगायत अभियानमा मेरो खास भूमिका थियो’, उनी भन्छन् ।
गत स्थानीय निर्वाचनमा काठमाडौं–६ मा वडाअध्यक्षहरूले ल्याएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसको १७ हजार २७७, वाम गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्रले क्रमशः १४ हजार ३०३ र २ हजार ४६२ मत पाएका छन् ।
प्रधान यसपटक सत्ता गठबन्धनको उम्मेदवार छन् । यो हिसाबले उनी काठमाडौं–६ मा एमालेका प्रत्यासी खनालभन्दा मजबूत देखिन्छन् । कांग्रेसभित्रको विवाद र यो क्षेत्रमा माओवादी केन्द्रमा भएको गडबडी भने उनका चुनौती हुन् ।
काठमाडौं-६ मा चौथो पटक थोपरिएको भन्ने आरोपले पनि प्रधानलाई केही अप्ठ्यारोमा पारेको छ । तर एमालेका प्रतिस्पर्धी खनालको सार्वजनिक छवि राम्रो नहुनु र अराजनीतिक व्यक्ति भएको हुनुले त्यसको फाइदा पुग्ने र तेस्रो पटक जित निकालेर ह्याट्रिक गर्ने दाउमा प्रधान छन् । यसबाट स्वतन्त्र उम्मेदवार शिशिर खनाललाई केही फाइदा पुग्न सक्छ ।
प्रतिक्रिया 4