
२७ कात्तिक, काठमाडौं । बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा वृद्धि गरेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । एकातिर एकातर्फी ब्याजदर वृद्धि तथा अर्कोतर्फ उद्योगीलाई कालो सूचीमा राख्ने कार्यले नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको बताएको छ ।
‘एकातिर बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमुलक उद्योगलाई ऋण प्रवाह नगर्ने र अर्कोतर्फ मनोमानी र एकतर्फी ढंगले चर्को रुपमा ब्याजदर बढाइरहेका छन्,’ महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भने, ‘परिणामस्वरुप बजार भाउ अप्रत्यासित रुपमा उकालो लागिरहेको छ ।’
प्रतिकूल बैंकिङ नीति र बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योग व्यवसाय धरापमा पर्दै गएको उनले बताए । यसले मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको उनले बताए । यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको उनले आरोप लगाए । आम नागरिकले यसलाई नेताहरुले आउँदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको महासंघको आरोप छ ।
प्रचलित बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन विपरीत केही नीजि क्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरु बैंकर पनि आफैं र उद्योगी व्यापारी पनि आफैं भएको हुँदा आफ्नो अन्तर बैकिङ सम्बन्धलाई प्रयोग गर्दै आफूहरुले सस्तो ब्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएका महासंघको आरोप छ ।
एकातर्फ बैंक मार्फत बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्को तर्फ उद्योगी व्यवसायीको पक्षमा बोले जस्तो गर्ने निजी क्षेत्रका ती छाता संस्थाका पदाधिकारीहरुले नाटकीय चरित्र देखाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकहरुले एकतर्फी ढंगले वृद्धि गरेको ब्याजदर, प्रिमियम लगायत सेवा शुल्कका अतिरिक्त लकडाउनको समयमा समेत आपूर्ति व्यवस्थालाई नियमित राख्न जोखिम मोलेर उद्योग सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगीहरुलाई कालो सूचीमा राख्ने सूचनाको विरोधमा आन्दोलित हुनुपर्ने बाध्यता आएको घरेलु महासंघले जनाएको छ ।
प्रतिक्रिया 4