
केही दिनअघि स्व. उज्ज्वल थापाकृत पुस्तक ‘ह्वाई नेपाल’ विमोचन भयो। पुस्तक विमोचनमा विद्वान अर्थशास्त्री स्वर्णिम वाग्ले, स्वास्थ्य क्षेत्र सुधारका नेतृत्वकर्ता डा. गोविन्द केसी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, महिला अधिकारकर्मी मोहना अन्सारीलगायत वक्ता थिए।
उज्ज्वल थापाले परिकल्पना गरेको लोकतन्त्र कसरी मूल्य-मान्यतासहितको लोकतन्त्र थियो र हाम्रो संस्काररहित लोकतन्त्रलाई त्यो बाटोमा पुर्याउनको लागि सबैले भूमिका नखेलेसम्म लोकतन्त्र बलियो नहुने विचार वक्ताहरूले राखे।
उज्ज्वल थापा कोरोना कहरमा बिते। उनी छोटो जीवन बाँचे, तर अबको पुस्तालाई धेरै ठूलो विचार र सन्देश दिएर गएका छन्। लोकतन्त्र, नीति, नेतृत्व, समाज र सरकार कस्तो हुनुपर्छ भन्ने विषयमा उनका आफ्नै मूल्य–मान्यता र विचार थिए।
उज्ज्वल थापाले के गरे ?
उज्ज्वल थापा लुटतन्त्रको विरोधी लोकतन्त्रको पक्षधर मानिन्थे। मध्यमार्गी राजनीतिको वकालत गर्ने उज्ज्वल थापा कांग्रेस नेता गगन थापाको शब्दमा भन्दा नयाँ राजनीतिको सिद्धान्त मात्र होइन, मूल्यसहितको नयाँ राजनीतिको पक्षधर थिए। उनी थोरै बाँचे तर अबको पुस्ताले कस्तो राजनीतिलाई बोक्नुपर्छ भनेर बलियो उदाहरण पेश गरेर गए।
उज्ज्वल थापाले आफ्नो जीवनकालमा समाजका लागि केही कामहरू गरेका थिए जसले उनी आउने पुस्तासम्म चिनिनेछन्। करिब सत्तरीको दशकतिर देश संविधान निर्माणको चरणमा थियो। त्यतिबेला ‘नेताजी संविधान देऊ’ भन्ने अभियानबाट उनको राजनीति सुरु भयो। चरम नेपाल बन्द हुँदा र ठूला दल सबै बन्दको होडबाजीमा लाग्दा ‘नेपाल खुल्ला छ’, ‘बन्दलाई सधैंको लागि बन्द गरौं’ भन्ने अभियान लिएर माइतीघरमा उभिन्थे।
अहिले १० वर्षपछि हेर्दा नेपालमा बन्दको संस्कृति सधैंलाई बन्द भए जस्तै छ। उनले २०७२ सालको भूकम्प जाँदा विवेकशील नेपाली दललाई काठमाडौंमा सबैभन्दा चाँडो उद्धारमा पठाएर राजनीति सेवासँग कसरी जोडिनुपर्छ भन्ने सन्देश दिएका थिए।
डा. गोविन्द केसीको अनशनसहितको शिक्षा क्षेत्र सुधारको आन्दोलनको समर्थनमा उनी बाँचुन्जेल सडकमा नेतृत्व गर्दै उभिए। ‘अकुपाई बालुवाटार’ देखि अन्य धेरै आन्दोलनको नेतृत्व गरेका उनले मूल्य–मान्यताको राजनीति गर्ने हिसाबले विवेकशील नेपालीको गठन समेत गरेका थिए।
साझा पार्टीसँगको सम्बन्ध
२०७४ सालमा सम्पन्न स्थानीय चुनावमा विवेकशील नेपालले रन्जु दर्शना र साझा पार्टीले किशोर थापालाई चुनावमा उठाएको थियो। दुवैले राम्रो प्रदर्शन गर्दै तेस्रो र चौथो स्थान हासिल गरेपछि धेरै मतदाताको शुभेच्छालाई कदर गर्दै उज्ज्वल थापाले पार्टी एकीकरण अगाडि बढाए। त्यतिबेला दुवै पार्टी वैचारिक हिसाबले अवस्था परिवर्तन र सुशासनको राजनीतिको लागि उदाएका थिए।
संविधानका व्यवस्थालाई आधारभूत हिसाबले मान्दै अवस्था परिवर्तनको मुख्य मुद्दा उठाउने सहमतिमा पार्टी एकता भएको थियो। वैकल्पिक राजनीतिलाई संस्थागत रूपले सुरु गरेका थापाले पनि नेतृत्व रवीन्द्र मिश्रले गर्छन् भने सहयोग गर्नुपर्छ भन्ने भावना प्रकट गरे।
एकता यही कारण सम्भव भयो। अन्ततः विवेकशील साझा पार्टी बन्यो र संसदीय चुनावमा भाग लियो। संसदीय चुनावमा वाम गठबन्धनको रापतापका बीच करिब दुई लाखभन्दा धेरै मत ल्याएर संसद बाहिरको ठूलो दल बन्न पुग्यो। मिश्र स्वयं निकटतम प्रतिद्वन्द्वी बन्न सफल भए भने अन्य नेताहरू सम्मानजनक मत ल्याउन सफल रहे।
थापालाई कारबाहीको त्यो प्रस्ताव र पहिलो विभाजन
पार्टी एकता भएको १७ महिना नपुग्दै विवेकशील साझा पार्टी फुट्यो। यो तथ्य धेरैलाई थाहा छ तर त्यो फुटको एउटा कारण मिश्रले वैकल्पिक राजनीतिको संस्थापक आफ्नै सहकर्मीलाई कारबाही गर्न प्रस्ताव गर्नु थियो। नेतृत्वको कुनै पनि लोभ नभएको र विधि र मूल्यको राजनीतिलाई प्रधानता दिने थापाजस्ता पात्रमाथि कस्तो कारबाहीको प्रस्ताव गरियो होला भन्ने धेरैलाई लाग्न सक्छ।
विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्न सकेन। थापाले मिश्रलाई पूर्व–पश्चिम यात्रामा जाने प्रस्ताव राखे। नागरिकसँग अन्तरक्रिया बढाउनुपर्छ भन्ने थापाको मान्यता थियो। पार्टीका सबल र दुर्बल पक्ष थाहा पाउन नागरिकसँग सजीव अन्तरक्रियाको विकल्प नरहेकोमा थापाको जोड थियो।
मिश्रले यो प्रस्ताव मानेनन्। थापाले व्यक्तिगत हिसाबले यो यात्रा अगाडि बढाए। यही यात्राको सिकाइ र अनुभूति सम्हालेर उनले एउटा दस्तावेज लेखे। त्यो दस्तावेज केन्द्रीय समितिमा छलफल गरौं भन्ने प्रस्ताव थापाले राखे।
एउटा सामान्य प्रस्ताव आफ्नै हैसियतको संयोजकले केन्द्रीय समितिमा छलफल गरौं भन्दा उनले उज्ज्वल माथि कारबाहीको डण्डा चलाउने र आफ्नो पक्षका केही मानिस ठाडो प्रस्तावमा केन्द्रीय समितिमा थप्ने प्रस्ताव ल्याए। यसले पार्टी विभाजनको बीउ रोप्यो।
दोस्रो एकता र राजावादी दस्तावेजको रजगज
पार्टी फुटेपछि विवेकशील नेपाली यत्तिकै सकिन्छ भन्ने कतिपयको बुझाइ थियो, तर त्यसो भएन। थापाले विधि र मूल्य मान्यतामा पार्टीलाई अगाडि बढाए। नीति र नेतृत्व सम्मेलन भयो। थापाले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरे र मिलन पाण्डे अध्यक्ष बने।
यही समयमा पोखरामा भएको चुनावी नतिजापछि दुवै पार्टी मिल्ने बाटोमा पुगे। पार्टी एकताको बेला मिश्रले सहमति गरेरै ६ महिनामा महाधिवेशन गर्ने तथा पार्टीलाई नीतिगत हिसाबले प्रष्ट सेन्टर लेफ्ट तथा संविधानवादी पार्टी बनाउने दस्तावेजमा हस्ताक्षर गरेका थिए।
तर, आफूले गरेको सहमति विपरीत उनले पार्टीलाई राजावादी धारमा लैजाने उद्देश्यका साथ विचारभन्दा माथि देश भन्ने दस्तावेज सार्वजनिक गरे। यसले विवेकशीलको सार्वजनिक पूँजीमा गम्भीर क्षयीकरण भयो।
राजनीतिमा विश्वास नै गुमेपछि कस्तो अवस्था होला ? धोकैधोका पाएका नागरिकमा कुन हदसम्मको निराशा जन्मिएला ? हामीले जवाफ अहिलेको राजनीतिमा खोज्नुपर्छ। आम रूपमा नेता, कार्यकर्ता र समर्थकमा शक्तिशाली निराशाको सञ्चार भयो।
पार्टीको घोषित नीति विपरीत पार्टीलाई सुहाउँदै नसुहाउने दस्तावेज ल्याएकोले उनको विरोध सार्वजनिक वृत्तमा तीव्र रूपमा हुनपुग्यो। मान्छेको इमानदारी कसरी जाँच्ने ? गल्ती गर्दिनँ भन्ने सार्वजनिक प्रतिबद्धतालाई कसरी पत्याउने ? विवेकशील साझाको निकट इतिहासले हामी धेरै जवाफ पाउँछौं। राजनीतिक दस्तावेजमा गरेको हस्ताक्षरको मसी नसुक्दै बाटो बदल्ने ‘इमानदारी’लाई कसरी बुझ्ने ?
जेहोस्, युवा पुस्ताले राजनीतिमा समग्र रुपान्तरणको लागि नयाँ संस्कृति बसाउने गरी सुरु गरेको लामो राजनीतिक अभियानमाथि कुठाराघात भएको छ। नयाँ पुस्तामाथि धोका भएको छ।
उज्ज्वल थापाविरुद्ध राखिएको कारबाही प्रस्ताव विवेकशीलका अन्य नेतृत्वमाथि पनि चल्यो। यो बीचमा न कुनै महाधिवेशन भयो न कुनै व्यवस्थित बैठक नै। वैकल्पिक राजनीतिको गोरेटोमा पहिरो लडाइयो तर सार्वजनिक प्रतिबद्धता यसलाई राजमार्ग बनाउने हो भनेर गर्न छोडिएन।
विकृत राजनीति सुधार्ने यो कस्तो तरिका हो ? राजनीति भनेको चर्को स्वरमा गरिने भाषण होइन, न त ग्लोबलियन शैलीमा इमानदारीको रटान लगाउनु हो। यो त व्यवहार हो र फेरि पनि व्यवहार हो।
भ्रष्टाचार पैसामा मात्रै हुन्छ ? ओठमा तराजु बोलेर मनमा हलो सजाउनु भ्रष्टाचार होइन ? गणतन्त्रको दस्तावेजमा हस्ताक्षर गरेर राजतन्त्रको नारा लगाउनु सैद्धान्तिक भ्रष्टाचार र बेइमानी हो कि होइन ?
अङ्ग्रेजीमा एउटा शब्द छ- स्नोलिगोस्टर। एकदमै थोरै प्रयोग हुने यो यस्तो शब्द हो जसको शाब्दिक व्याख्या आर्थिक भ्रष्टाचार गर्ने नेता भन्दा डरलाग्दो हुन्छ। आफ्नो राजनैतिक लाभको लागि सैद्धान्तिक मूल्यलाई सिद्ध्याएर अर्को सिद्धान्तको छातामुनि ओत लाग्न पुग्ने प्रवृत्तिलाई यो शब्दले प्रतिनिधित्व गर्छ। असैद्धान्तिक तर चतुर मानिसले पुर्याउन सक्ने क्षति अचाक्ली हुन्छ।
पछिल्लो पटक २०१६ मा धर्मनिरपेक्षतावादी गठबन्धनबाट बिहारको मुख्यमन्त्री निर्वाचित भएपछि पुनः भाजपाको एनडीए गठबन्धनमा आबद्ध भएपछि कांग्रेस नेता शशि थरूरले नितिश कुमारमाथि यस्तो टिप्पणी गरेका थिए-हाम्रो समाजमा यस्ता पात्र जताततै छन्। समयमै चिनौं।
प्रतिक्रिया 4