+
+

प्रदेश सभा सदस्यका लागि जिल्ला प्रमुखद्वयको टक्कर

रामहरि ओझा रामहरि ओझा
२०७९ कात्तिक २८ गते १२:१४

२८ कात्तिक, डोटी । डोटीमा प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका जिल्ला सभापति र नेकपा एमालेका जिल्ला अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशसभा (१) मा कांग्रेसले जिल्ला सभापति नरेन्द्रवहादुर सिंह र एमालेले पनि जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ ।

सिंह गत वर्ष १४औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका हुन् । २०३४ सालदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसमा अवसर नपाएका नेतामध्येमा पर्छन् ।

उनी ०४९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन जिल्ला विकास समितिको सभापति हुन चाहन्थे । कांग्रेसबाट निर्वाचित गाउँ विसका समितिका अध्यक्ष/उपाध्यक्षहरुले उनको पक्षमा हस्ताक्षर अभियानै चलाएका थिए ।

तर पाटीभित्र नेताहरुको व्यवस्थापन गर्ने क्रममा उनी परेनन् । उनले उपसभापति त पाउँछु कि भन्ने आश गरेका थिए, त्यो पनि पाएनन् । ‘पार्टीले नेताहरुको व्यवस्थापन गर्नुपर्ने भयो, त्यसैले तपाईले पाउनु हुन्न भन्यो । मैले स्वीकार गरेँ’ सिंह भन्छन् ‘त्यसपछि म पार्टीको जिम्मेवारीमै खटे, मैले कुनै लाभको पदमा आश गरेन ।’

०७० सालको संविधान सभा निर्वाचनको बेला सिंहको नाम समानुपातिक सूचीमा पर्‍यो, तर सूचीमै सिमिति रह्यो । यो पटक भने उनले प्रदेशसभा सदस्यको टिकट पाएका छन् ।

उनका प्रतिस्पर्धी छन्, एमाले जिल्ला अध्यक्ष मल्ल । विद्यार्थी आन्दोलनबाट आएका मल्ल ०६९ मा एमालेको डोटी अध्यक्ष चुनिएका थिए ।

उनी ०७० सालको संविधान सभा निर्वाचनमा उनी सोही क्षेत्रबाट उम्मेदवार हुने दाबीमा थिए । जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस पनि भएको थियो ।

तर उनी टिकट परेनन् । ०७४ सालमा तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार वनेका थिए । उनी झिनो मत अन्तरले पराजित भए ।

यो पटक फेरि प्रतिस्पर्धामा छन् ।

दुई उम्मेदवारका केही भिन्नता, केही समानता

डोटी प्रदेश सभा “क” का दुवै प्रतिस्पर्धीको घर एउटै पालिका आदर्शमा पर्छ । उनीहरु दुवै नजिकका नातेदार पनि हुन् । सिंह र मल्ल दुवै पार्टीको जिल्ला नेतृत्वमा छन् । दुवैले बिद्यार्थी संगठनबाटै राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् ।

मल्ल र सिंह दुवैले आफ्नो जीवन निर्वाहको वैकल्पिक बाटो वनाएका छन् । बाणिज्यशास्त्रमा स्नानकोत्तर सिंह रजिष्टर्ड लेखापरीक्षक हुन् । यस्तै अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर मल्लले निजी शिक्षण संस्था सञ्चालन गर्नुका साथै कृषि फर्म चलाउँछन् ।

सिंह र मल्लमा केही भिन्नता पनि छन् । सिंहले हालसम्म पार्टीभित्रको चुनावी प्रतिस्पर्धा मात्रै गरेका छन्, मल्लले पार्टीभित्रको प्रतिस्पर्धाका साथसाथै बिद्यार्थीहरुबीच र संसदीय निर्वाचन दुवैमा प्रतिस्पर्धाको अनुभव लिएका छन् ।

मल्ल युवाहरुमाझ लोकपि्रय छन् भने सिंहलाई पाकाहरुले बढी चिनेका छन् ।

चुनावी एजेण्डा उस्ता उस्तै, प्राथमिकता फरक

दुई प्रमुख प्रतिस्पर्धीका चुनावी एजेण्डा भने करीव करीव उस्ता उस्तै देखिन्छन् । गठबन्धनका साझा उम्मेदवार सिंहले खुटिया बिपिनगर दिपायल फाष्ट ट्रयाकलाई आफ्नो प्रमुख एजेण्डा वनाएका छन् । उनी फाष्ट ट्रयाक निर्माण भए डोटीलाई छोटो दुरीमा कैलाली जोड्न सकिने र डोटीको विकासको ढोका खुल्ने वताउँछन् ।

सिंहको अर्को एजेण्डा खप्तडको पर्यटकीय विकास छ । उनी खप्तडको प्रवद्धनका लागि मुख्य प्रवेशद्वार शैलेश्वरीमा धर्मशाला वनाउन चाहन्छन् । सहजपुर बोगटान सडकलाई दुई बर्षभित्रै स्तरोन्नति गरि कालोपत्रे गर्ने सिंहको लक्ष छ । यस्तै, ग्रामिण सडकको स्तरोन्नति, कृषि सिंचाई, बजारको उचित व्यवस्थापन, खानेपानी लगायतका एजेण्डाहरु सिंहसँग छन् ।

‘प्रदेशराजधानी त अव फर्काउन सकिन्छ वा सकिँदैन । काल्पनिक कुरा गरेर हुँदैन’, सिंह भन्छन्, ‘तर राजधानी सारिएको महसुस नहुने गरी हामीले अरु संरचना विकास गर्नुपर्छ । त्यसका लागि महत्वपूर्ण निकायहरु डोटी ल्याउनु पर्छ भन्ने मेरो एजेण्डा छ ।’

एमाले उम्मेदवार मल्लले व्यवसायिक शिक्षालाई आफ्नो प्रमुख एजेण्डा वनाएका छन् । भन्छन्, ‘युवाहरुलाई स्वदेशमै स्वरोजगार वनाउन व्यवसायिक शिक्षा अनिवार्य छ, हामीले युवा पलायन रोक्न सक्नुपर्छ ।’

उनले पश्चिम सेती परियोजनालाई पनि आफ्नो चुनावी एजेण्डामा राखेका छन् । आठ बर्षदेखि अल्पत्र परेको बान्डुंग्रीसैनको मोटरेवल पुललाई पनि मल्लले बिशेष प्राथमितामा राखेका छन् । सिंह जस्तै मल्लले पनि आफ्ना एजेण्डामा खुटिया बिपिनगर दिपायल फाष्ट ट्राक, खानेपानी, सिँचाइ, ग्रामिण सडकहरुको स्तरोन्नती मल्लका एजेण्डा छन् ।

प्रदेश राजधानीको एजेण्डा मल्लले पनि उठाएका छन् । भन्छन्, ‘म राजधानीको लागि आन्दोलनमा होमिएको कुरा सवैलाइ थाहै छ, अहिले पनि मेरो प्रष्ट अडान छ, प्रदेश राजधानी सवै कुराले डोटीनै उपयुक्त हो । राजधानी फर्काउन नसकेपनि त्यसको क्षतिपूर्ति डोटीले पाउनुपर्छ ।

के छन् जित्ने आधार ?

प्रमुख प्रतिस्पर्धी दुवैले आफु जित्ने दाबी गरेका छन् । कांग्रेसको संगठन बलियो भएको र स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने सबै स्थानीय तहमा जित हासिल गरेको हुँदा आफ्नो बलियो जित्ने आधार रहेको गठबन्धनका उम्मेदवार सिंह वताउँछन् ।

गठबन्धन पनि भएकाले आफ्नो जित सहज भएको सिंहको भनाइ छ । ‘लामो समयदेखि राजनीतिमा लागेको छु, हालसम्म कुनै लाभको पद पाएको छैन’ सिंह भन्छन्, ‘यस पटक जनताले मलाइ आफ्नो नेता चुन्नेछन् ।’

एमाले उम्मेदवार मल्ल आफू डोटेली जनतासँग नियमित रुपमा भिजेको, जनताको सुखदुःखमा उनीहरुको घरदैलोमा पुगेको र जिल्लाको भूगोल राम्रोसंग बुझेको भएकाले जनताले मत दिने दाबी गर्छन् । उनी जित्ने मुख्य तीन आधार प्रस्तुत गर्छन् ।

‘पहिलो म सधैं यही भूगोलमा छु, जिल्लाका गाउँगाउँ बस्तीबस्तीमा पुगेको छु, जनताका समस्या, भूगोलका समस्याहरु मैले बुझेको छु, दोस्रो पार्टीको संगठन मजबुत छ, नेता कार्यकर्ताहरु सवै एकढिक्का भएर खट्नु भएको छ’ मल्ल भन्छन्,’तेस्रो गत निर्वाचनमा जनताको चाहना हुँदाहुँदै पनि प्राविधिक कारणले म पराजित भएँ, यसपालि मप्रति जनताको सहानुभूति पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?