
२८ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा क्यामेरा जडानको प्रक्रिया सुरु गरेको छ । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्राधिकरणले गत शुक्रबार एक सम्झौता गरेको छ । जसअनुसार पोखरा–जोमसोम रुटमा कम्तीमा ५ वटा क्यामेरा जडान हुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
सम्झौता अनुसार पोखरा–जोमसोम हवाई रुटमा पर्ने माहुरीडाँडा, कटुका र लेतेमा मौसमी जानकारी दिने क्यामेरा जडान हुने छ । यसले हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुग्ने उनले जानकारी दिए ।
‘अहिले मौसम विज्ञान विभागबाट विमानस्थलको यकिन सूचना र यसको ८ किलोमिटर आसपासको प्रक्षेपणको मात्र सूचना हामीले पाउने गरेका छौं,’ उनले भने, ‘क्यामेरा जडान भएपछि इनरुटको रियल टाइम सूचना प्राप्त हुनेछ ।’
परीक्षण सफल भए अन्य विमानस्थलमा विस्तार
पोखरा–जोमसोम रुटमा परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तारको योजना प्राधिकरणको छ । सूचना अधिकारी भूलका अनुसार यो परीक्षण सफल भएमा लुक्ला, डोल्पा, सिमीकोट, मुगुसहितका दुर्गम र कठिन भौगोलिक अवस्थिति भएका विमानस्थलमा समेत यस्तै प्रविधि जडान गरिने छ ।
आविष्कार केन्द्रसँग भएको सम्झौतामा समेत यसबारे उल्लेख गरेको छ । सम्झौतामा भनिएको छ, ‘पोखरा–जोमसोम हवाई रुटमा राखिएको मौमसी क्यामराले उपलब्ध गराउने मौसमी विवरण सुरक्षित उडानका लागि उपयोगी भएमा अन्य व्यस्त र भौगोलिक जटिलता भएका विमानस्थलमा समेत थप सुविधा बिस्तार गर्नु परेमा दुवै पक्षले आपसी सहमतिमा कार्यक्षेत्र विस्तार गर्न सकिने छ ।’
खर्च प्राधिकरणको,प्रविधि केन्द्रको
प्राधिकरण र आविष्कार केन्द्रबीच भएको सम्झौता अनुसार क्यामेरा जडानमा लाग्ने खर्च प्राधिकरणले बेहोर्ने छ । यसको प्रविधि भने राष्ट्रिय आविष्कार केन्द्रले जुटाउने छ ।
क्यामेरासहित सम्पूर्ण सामान, जडान र जडान पश्चात नियमित सञ्चालनका लागि लाग्ने सबै खर्च प्राधिकरणले बेहोर्ने भएको छ । मौमसी क्यामरा जडान गर्दा सिमकार्ड प्रयोग गरेर पठाउने डाटालाई आवश्यक पर्ने डाटा प्याकेज नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने भएको छ । जडान भएका मौसमी क्यामरामा गडबडी भई सेवा सूचारु नभएको अवस्थामा यसलाई सुचारु गर्ने काम केन्द्रले गर्ने भएको छ ।
प्रविधि र क्यामेराको सञ्चालनको सुनिश्चितता भने केन्द्रले गर्ने भएको छ । यी क्यामेराबाट प्राप्त हुने डाटाको स्वामित्व प्राधिकरणको मात्र रहने र सूचना अन्य निकायलाई दिन नपाइने समेत सम्झौतामा उल्लेख छ ।
सूर्योदयदेखि सूर्यास्तसम्म चल्ने क्यामराले दिनेछन् सूचना
प्राधिकरणका अनुसार यसरी जडान हुने क्यामराले सूर्योदयदेखि सूर्यास्तसम्मको मौसमी सूचना दिनेछन् । यी सूचना पोखरा र जोमसोमस्थित केन्ट्रोल टावरमा प्राप्त हुने सूचना अधिकृत भूलले जानकारी दिए । ती टावरले पाइलटलाई मौसमबारे रिर्पोटिङ गर्नेछन् । यसले हवाई सुरक्षा अभिवृद्धिमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
प्राधिकरणका अनुसार नेपालमा भएका ९० प्रतिशत हवाई दुर्घटना इनरुटमा भएका छन् । यसमा छिनछिनमा परिवर्तन हुने मौसम मुख्य कारण रहने गरेको छ ।
प्रतिक्रिया 4