
काठमाडौं । नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । यी तीन निर्माताबीच फिल्म ‘राजा’ निर्माणमा सहकार्य निश्चित भएको छ ।
झट्ट सुन्दा फिल्मको शीर्षक राजनीतिक लागे पनि यसको कथावस्तु र शैली चाहिं एक्सनप्रधान हुने जनाइएको छ । फिल्मको प्रमुख भूमिकामा राज कटुवाल तय भएका छन् भने नायिकाको खोजी भइरहेको छ ।
तीन करोड रुपैयाँ बजेटमा निर्माण हुने फिल्मलाई राज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । फागुनदेखि छायांकन सुरु हुने फिल्ममा चलेका अन्य कलाकारलाई समेत लिने तयारी छ ।
फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् भने दिवाकर भट्टराईले पटकथा लेखिरहेका छन् । राज इन्टरटेनमेन्ट अभिनेता कटुवालको होम ब्यानर समेत हो ।
चलचित्र विकास बोर्डका सदस्य समेत रहेका राज र निर्देशक सुदर्शनले ‘प्रसाद २’मा समेत सहकार्य गर्ने तयारी थियो, तर यतिबेला यो फिल्मको छायांकन अन्योलमा छ ।
बस्नेत आसन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (ख)बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् ।
प्रतिक्रिया 4