
काठमाडौं । अभिनेता राजेश हमालले हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेरेका छन् । सोमबार बेलुका निर्देशक र कलाकारसँग सँगै फिल्म हेरेर उनले प्रशंसा गरे ।
फिल्मले आजको समाज र परिवारको कथालाई प्रस्तुत गरेको हमालले बताए । ‘क्लाइमेक्सबारे खुल्दुली लागेको थियो । समयसापेक्ष छ, कथावस्तु राम्रो छ । युवाको पक्ष ओगटेको छ । आजको समाजमा आमाबुवाको परिस्थितिलाई पनि अँगालेको छ,’ उनले भने ।
हरेक दर्शकले फिल्म हेरेपछि आफूलाई महसुस गर्न सक्ने हमालले बताए । ‘दर्शकको रुपमा पनि मैले फिल्ममा आफ्नो कोण देखें । हरेक व्यक्तिले कुनै न कुनै हिसाबबाट रिलेट गर्छ । कुनै न कुनै भावनाबाट हरेकले आफ्नो कोण देख्छ,’ उनले भने ।
वास्तविक जीवनमा पनि पिता चुडामणि हमालसँग आफ्नो लामो समय बोलचाल नभएको प्रसंगमा उनले भने, ‘फिल्मले नाता, सम्बन्धलाई नियाल्न बाध्य बनाउँछ । यो फिल्मले त्यही नै गर्यो ।’
प्रौढ उमेरमा मानिस एक्लो हुने र विवाह गर्नु आवश्यक रहेको हमालको मत छ । ‘प्रौढ उमेरमा व्यक्ति सन्तानबाट एक्लो हुन्छ । यतिबेला साथ चाहिन्छ,’ उनले भने ।
दर्शकले हेर्दा आनन्द आउने र रुचि हुने फिल्म गर्नेतर्फ आफूलाई मन भएको समेत हमालले बताए । चुनावसम्बन्धी सोधिएको एक प्रश्नमा हमालले यसपटकको निर्वाचनमा उथलपुथल आउनुपर्ने बताए । ‘अहिलेको नतिजामा उथलपुथल भयो भने अबको पाँच वर्षमा मुलुकले नयाँ बाटो प्राप्त गर्नेछ,’ उनले भने ।
निर्र्देशक प्रदीप भट्टराईले आइडियामा रिसर्च गरेर कथावस्तु लेखिएको बताए । ‘हाम्रो टीमले एउटा आइडियामा रिसर्च गरेका थियौं । फिल्म भोलि पनि बनाइएला, हिजो पनि बनाइएको थियो । तर दुई दिन पनि ढिला नगरी बनायौं,’ उनले भने ।
निर्देशक भट्टराईले अभिनेता हमालसँग फिल्म गर्ने इच्छा व्यक्त गरे । ‘अबकै प्रोजेक्ट पनि हुनसक्छ कि,’ उनले भने । डेब्यु अभिनेत्री अञ्जना बराइलीले फिल्म हेरिरहँदा आफूले हमालको एक्टिभिटिज नियालेको बताइन् । डेब्यु अभिनेता अरुण क्षेत्रीले हमालका चर्चित डायलग सुनाए ।
हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘महापुरुष’ हलमा तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया 4