
२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित भएनन् ।
मंगलबार नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नं. १ को प्रदेश सभा २ का उम्मेदवार उपस्थित् भएनन् ।
केन्द्रीय गठबन्धनअनुसार क्षेत्र नं. १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस र २ मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो ।
तर माओवादी केन्द्रले पाएको क्षेत्रमा पनि कांग्रेसले उम्मेदवार उठाएपछि दुई पार्टीबीच जिल्ला स्तरमा खटपट छ ।
खटपटकै कारण शीर्ष नेताहरु सहभागी कार्यक्रममा प्रदेशसभा २ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामानन्द यादव र कांग्रेसबाट उम्मेदवारी दिएका देवकरण कलवार उपस्थित नभएका हुन् । चुनावी सभामा प्रदेशसभा १ बाट उम्मेदवारी दिएका कांग्रेसका विश्वप्रेम पाठक भने सहभागी थिए ।
माओवादी केन्द्रबाट यादवले उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका कलवारले पनि कांग्रेसको आधिकारिक भएरै उम्मेदवारी दिएका थिए । सहमति विपरीत उम्मेदवारी दिएको भन्दै माओवादीले उम्मेदवारी निष्क्रिय पारेर समर्थन गरेको घोषणा गर्न कांग्रेसलाई पटक पटक आग्रह गरे पछि कलवारको उम्मेदवारी यथावत छ । दुबै जना आ–आफ्नो प्रचारमा जुटेका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएको कार्यक्रममा कुनै एक उम्मेदवार सहभागी भए एक अर्का दलले बिरोध गर्ने भएपछि दुबै जना उम्मेदवार सहभागी नभएका हुन् ।
सभामा उपस्थित नभएका माओवादी केन्द्रका उम्मेदवार यादवले पार्टीको चुनावी सभामा कार्यकर्ता पठाउनु परेकाले आफू गाउँमै रहेको बताए ।
कांग्रेसबाट उम्मेदवारी दिएका कलवारले आफू बिरामी परेर सभामा नगएको बताएका छन् ।
माओवादीका जिल्ला स्तरका नेताले कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवार आए कार्यक्रम बहिष्कार गर्ने र माओवादी केन्द्रका उम्मेदवार आए कांग्रेसका एक पक्षका नेता कार्यकर्ताले मञ्चमै बिरोध जनाउने तयारी गरेका थिए ।
कांग्रेसको एक पक्षका नेता कार्यकर्ता सहमतिअनुसार गठबन्धन घटककै माओवादी उम्मेदवार कायम हुनुपर्ने अडानमा छ । जिल्ला स्तरका कांग्रेससहितको गठबन्धनका नेताहरुको बैठकले कलवारको उम्मेदवारीलाई बागीको संज्ञा दिएको छ ।
शीर्ष नेताहरुले कुनै एक उम्मेदवार कायम रहेको घोषणा गर्नेमा दुई दलका जिल्लास्तरका नेता र कार्यकर्ताहरु विश्वस्त थिए । तर उम्मेदवारीबारे शीर्ष दुवै नेताले केही बोलेनन् ।
माओवादी अध्यक्ष प्रचण्डले यस क्षेत्रमा गठबन्धनमा केही समस्या रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताए ।
तर प्रधानमन्त्री देउवाले भने उम्मेदवारी बारे मुखै खोलेनन् । उनले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट उठेका उद्योगपति विनोद चौधरीलाई जिताउन आग्रह गरे ।
यो क्षेत्रमा चौधरीसँग जनता प्रगतिशिल पार्टी जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठीलाई जसपाले पनि समर्थन गरेको छ ।
प्रतिक्रिया 4