+

विश्वकप १९७० : फुटबलमा आधुनिकताको सुरुवात

२०७९ कात्तिक  ३० गते ७:४५ २०७९ कात्तिक ३० गते ७:४५
विश्वकप १९७० : फुटबलमा आधुनिकताको सुरुवात

३० कात्तिक, काठमाडौं । उत्तर अमेरिकी देशले पहिलोपल्ट विश्वकप आयोजना अधिकार पाएको थियो । ६ वटै महादेशले प्रतिनिधित्व गरेको यो पहिलो विश्वकप थियो । यसअर्थमा वास्तविक विश्वकप यहाँबाट सुरुभयो ।

फिफाले अफ्रिका र एसियालाई कोटा छुट्यायो । यो उनीहरुको लामो समयदेखिको माग थियो । एल साल्भाडोर, इजरायल र मोरक्को प्रतियोगिताका लागि पहिलोपल्ट छनोट भए ।

राजनीतिक तिक्तता र सम्भावित बहिस्कारलाई ध्यानमा राख्दै मोरक्को र इजरायललाई फरक फरक समूहमा राखियो ।

यो विश्वकपदेखि फुटबलमा आधुनिकताको सुरुवात भएको हो । यही संस्करणबाट पहेँलो र रातो कार्डको प्रयोग सुरु भयो । यही संस्करणदेखि खेलमा सब्स्टिच्युडको व्यवस्था सुरु गरियो । त्यतिबेला एक खेलमा एउटा टिमले बढीमा दुई खेलाडी सब्स्टिच्युड गर्न पाउँथे ।

विश्वकपमा पहिलोपल्ट आधिकारिक म्याच बलको प्रयोग भयो । टेल्स्टार नाम दिइएको सो म्याचबल एडिडास कम्पनीले उत्पादन गरेको थियो ।

मेक्सिकोका पाँच शहरमा प्रतियोगिता विस्तार गरिएको थियो । राजधानी मेक्सिको सिटीमा अवस्थित स्टेडियम आज्टेकामा फाइनल खेल आयोजना गरिएको थियो । सो रंगशालाको दर्शक क्षमता १ लाख हो । तर, फाइनलमा १ लाख ७ हजार ४१२ जनाको उपस्थिति रहेको आधिकारिक तथ्यांक छ ।

आफ्नो उच्च स्कोरिङ खेल र आक्रामक शैलीका कारण १९७० को विश्वकपमा ब्राजिल टिमलाई इतिहासकै महान टिम मानिएको थियो । ब्राजिल टिमले सबै ६ खेल जितेर १२ वर्षको अन्तरमा तेस्रोपल्ट विश्वकप उपाधि भित्र्याउँदा १९ गोल गरेको थियो ।

यो पेलेको अन्तिम विश्वकप थियो । उनले फाइनलमा आफ्नो महानताको छाप छोड्न सके । उनले ब्राजिलका लागि पहिलो गोल गरे भने तेस्रो र चौथो गोलमा असिस्ट गरे । ब्राजिलले इटलीलाई ४–१ ले हराएर उपाधि उचालेको थियो ।

तीनवटा विश्वकप जितेपछि ब्राजिलले जुलेस रेमिट ट्रफी आफैंले राख्न पाउने भयो । सन् १९७४ को विश्वकपका लागि नयाँ ट्रफी (अहिलेको) निर्माण गरिएको हो ।

यो विश्वकप पहिलोपल्ट रंगीन पर्दामा प्रत्यक्ष प्रशारण गरिएको थियो । विश्वकपका हरेक खेलहरु औषतमा ५० हजार व्यक्तिले हेरेका थिए । यसलाई विश्वकपकै सबैभन्दा महान संस्करण भनिन्छ किनभने यसपल्ट ब्राजिलले तेस्रोपल्ट विश्वकप जितेको थियो भने शताब्दीकै महान पेलेले अन्तिमपल्ट खेलेका थिए ।

ब्राजिलका जेयर्जिन्होलाई ‘विश्वकप हुरिकेन’को उपनाम दिइएको थियो । उनले आफू समावेश भएर ब्राजिलले खेलेका सबै खेलमा गोल गरेका थिए ।

युरोपको सहज समयमा प्रत्यक्ष प्रशारण गर्न भन्दै मेक्सिकोको चर्को गर्मीमा मध्याह्नको समयमा विश्वकपका खेलहरु सन्चालन गरिएको थियो ।

तथ्यांकमा विश्वकप १९७०

आयोजकः मेक्सिको
टिमः १६
फम्र्याटः समूह चरण, नकआउट
खेलः ३२
गोलः ९५
विजेताः ब्राजिल
उपविजेताः इटली
गोल्डेन बुटः गर्ड मुलर (पश्चिम जर्मनी)

फिफा विश्वकप विश्वकप इतिहास विश्वकप १९७०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय