
३० कात्तिक, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी भव्यरुपमा मनाउने गरी तयारी गरिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।
उनका अनुसार पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।
महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।
यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने छन् ।
प्रमुख अतिथिको रुपमा भारतबाट रामको डोलासहित आउने उनी मंसिर ११ र १२ गतका कार्यक्रममा सहभागी हुने सह महन्त दासले बताए । सतपाल महराज लगायत अयोध्याबाट हजारौं साधुशन्त जन्तीको रुपमा यसवर्ष पनि सहभागी हुन जनकपुर आउने तयारी छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको निमन्त्रणा स्वीकार गरेर सतपाल महराज जनकपुर आउन लागेका हुन् । भारतीय जनता पार्टीका राष्ट्रिय कार्यकारिणी सदस्य समेत रहेका सतपाल महाराज उत्तराखण्ड सरकारमा मुख्यमन्त्री पछिको दोस्रो शक्तिशाली मन्त्रीका रुपमा रहेका छन् ।
सतपाल महराजको भ्रमणबाट जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धधनमा विशेष टेवा पुग्ने र दुई देशबीचको सम्बन्ध प्रगाढ हुने वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल शाहको भनाइ छ । यसअघि २०१८ मा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथ विवाहपञ्चमी महोत्सवमा सहभागी भएका थिए ।
प्रतिक्रिया 4