
धनकुटामा लोकप्रिय बनेका माओवादी नेता हेमराज भण्डारी यसपटक प्रतिनिधिसभाको टिकट पाउनेमा ढुक्क थिए, तर उनको आकांक्षामा सत्ता गठबन्धन बाधक बनिदियो ।
गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल थापाले टिकट उछिट्याएपछि भण्डारीले निर्वाचनको मुखमा नेकपा (माओवादी केन्द्र) छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरे ।
२०६४ को निर्वाचनमा धनकुटा १ बाट १७ हजारभन्दा बढी मतका साथ पहिलो संविधानसभामा पुगेका भण्डारी २०७० मा भने पराजित भएका थिए ।धनकुटाकै कुरुलेतेनुपामा जन्मिएका ४६ वर्षीय भण्डारीले गाउँमै एसएलसी गरेपछि धनकुटा बहुमुखी क्याम्पसबाट आईए–बीए र काठमाडौंको रत्नराज्य क्याम्पसबाट स्नातकोत्तर गरे ।
२०४५ सालमा विद्यार्थी राजनीतिमा आएका उनी २०४७ मा अनेरास्ववियु छैटौंको इकाई अध्यक्ष र २०४९ मा धनकुटा जिल्ला अध्यक्ष बने । २०५२ मा राष्ट्रिय जनमोर्चाको धनकुटा जिल्ला अध्यक्ष भएका उनी २०५६ मा अखिल छैटौंको महासचिव र त्यसपछि संयोजक भएका थिए ।
भण्डारी २०५५ मा नेकपा (मसाल)को जिल्ला सेक्रेटरी र २०५६ मा केन्द्रीय सदस्य बने । २०५७ मा उनी नेकपा (माओवादी)को दोस्रो राष्ट्रि«य सम्मेलन प्रतिनिधि र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बने । २०६० मा माओवादीको जिल्ला सेक्रेटरीका साथै जनमुक्ति सेनाको ब्रिगेड कमिसार भएका उनी त्यसपछि पार्टीको जिल्ला इन्चार्जको जिम्मेवारीमा पुगे ।
नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य भए भण्डारी । नेकपा भंग भएपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा प्रदेश–१ को सचिव बने । २०७८ पुसमा भएको पार्टीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरोमा पुगे ।
माओवादीमा डा. बाबुराम भट्टराई निकट रहेका भण्डारी पार्टी फुट्दा भट्टराईको पछि लागेनन् । बरु माओवादीभित्रै रहेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा फरक मत राखेर चर्चामा आए ।
अहिले त पार्टी नै छाडेर स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका छन् । धनकुटामा भण्डारीको संगठन छैन, तर भर्चुअल माध्यममा उनी सर्वाधिक चर्चामा छन् । यो चर्चालाई मतमा रूपान्तरण गर्न उनले निकै मिहिनेत गर्नुपर्नेछ ।
पछिल्लो समय उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । उनको पक्षमा विशेषतः नयाँ पुस्ता र सामाजिक अगुवाहरू लागेका छन् ।
भण्डारीले चुनावी घोषणापत्रमा धनकुटालाई समृद्ध बनाउने र संसदमा भ्रष्टाचार विरुद्ध आक्रामक हुनेदेखि निर्वाचनपछि कुनै पार्टीमा नजाने, स्थानीय तह, विद्यालय, स्वास्थ्य केन्द्र र सरकारी कार्यालयहरूमा हुने कामकाजको अनुगमन गर्न नागरिक अभियान चलाउनेसम्मका प्रतिबद्धता जनाएका छन् ।
भण्डारीका अनुकूलता-प्रतिकूलता
अहिले नयाँ पुस्ताका मतदाता थपिएका छन् । वर्षौंदेखि दोहोरिरहेका पुराना नेताहरूलाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ भण्डारी बन्न सक्छन् । उनको मुख्य अनुकूलता यही देखिन्छ । जितका लागि निर्णायक भने पुराना मतदाता नै हुनेछन् ।
धनकुटामा मत सर्वेक्षण गर्दा आफूले चुनाव जित्ने नतिजा पाएको बताउँदै उनी भन्छन्, ‘घरदैलो कार्यक्रम पनि उत्साहका साथ भइरहेको छ ।’
गत स्थानीय निर्वाचनको अंकगणित पनि उनका लागि प्रतिकूल देखिन्छ, जसमा धनकुटाका ६० वटै वडाका गठबन्धनका वडाअध्यक्षका उम्मेदवारले ३७ हजार ६८२ मत पाउँदा एमालेका वडाअध्यक्षका उम्मेदवारले ३६ हजार ३५ मत पाएका थिए ।
विकल्पको खोजी गरिरहेका नागरिकको मतका साथै लामो समय राजनीतिमा सक्रिय रहेकोले पार्टीहरूमा आबद्ध मत पनि तान्ने भण्डारीको रणनीति रहेको छ । ‘म चुनावमा विजय–पराजय जे भए पनि अब कुनै दलमा जान्नँ’ उनी भन्छन्, ‘दलभित्रको फोहोर त्यहीं बसेर सफा गर्न सम्भव भएन, अब बाहिरबाट सफा गर्ने हो ।’
प्रतिक्रिया 4