
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पराजित गरेका नेकपा एमालेका नारदमुनि राना कैलाली-५ बाट पुन सांसद दोहोरिन चाहेका छन् ।
तर अघिल्लो पटक बाम गठबन्धनका कारण सहज रुपमा चुनाव जितेका उनी यसपटक नेपाली कांग्रेस र सत्ता गठबन्धनभित्रको असन्तुष्टिका कारण आफ्ना लागि चुनाव सहज हुने अनुमानमा छन् । कांग्रेसबाट निष्कासनमा परेका पूर्वसांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवार दिँदाको फाइदा भने आफूलाई हुने रानाको आकलन छ ।
कैलाली–५ बाट यसपटक पनि प्रधानमन्त्री पत्नी आरजु राणा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएकी थिइन् । तर स्वतन्त्र उम्मेदवारी दिएका ओझाकै कारण चुनाव हारिने भयका कारण अन्तिम समयमा उनी पछि हटेको चर्चा छ । त्यसपछि कांग्रेसले डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ ।
सत्तारुढ गठबन्धनको समर्थन पाएका पन्त र स्वतन्त्र उम्मेदवार ओझाको भोट बैंक डोटी समुदायकै मतदाता हुनुलाई रानाले आफ्नो सकारात्मक पक्ष मानेका छन् ।
निर्णायक मानिएका डोटी समुदायको मत पुख्र्यौली घर र एउटै राजनीतिक पृष्ठभूमि भएका पन्त र ओझालाई बाँडिदा थारु समुदायको मत कतातिर जान्छ भन्ने कुराले धेरै अर्थ राख्नेछ । राना थारु समुदायबाटै प्रतिनिधित्व गर्ने भएकाले त्यो मत आफूलाई आउने नारदमुनिको विश्वास छ ।
तर थारु समुदायको मत स्वतन्त्र उम्मेदवारी दिएर नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका जगदिश चौधरीसँग बाँडिन सक्छ । डोटी समुदाय र थारु समुदायको मत चार जनालाई बाँडिदा सुदूरपश्चिमका अन्य ६ पहाडी जिल्ला र कर्णाली पारीबाट बसाइँ झरेको समुदायको मतले जित हारमा भूमिका खेल्ने नेताहरु बताउँछन् ।
२०५४ सालमा धनगढी नगरपालिकाको उपमेयर जित्दा होस् वा २०७४ को प्रतिनिधिसभाको चुनाव जित्दा रानाले बाम गठबन्धनको साथ पाएर कांग्रेसको गढ भत्काएका थिए ।
२०७४ मा धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष कांग्रेसले जित्दा पनि उनले आरजुलाई पराजित गरे तर अहिलेको अवस्था त्यो बेलाको जस्तो छैन ।
गत ३० वैशाखको स्थानीय चुनावमा एमालेले धनगढीको उपमेयरसहित ६ वडा जित्नुलाई पनि उनको अनुकुल पक्ष हो । ३० वैशाखको स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्दा भने रानाका लागि अहिलेको चुनाव अनुकुल हुने देखिदैन ।
धनगढी उपमहानगरपालिकाको १९ वटा वडा, कैलारी गाउँपालिकाको वडा नं ६ र ९ पर्ने कैलाली–५ मा एक लाख पाँच हजार ७९३ मतदाता छन् । स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल हो भने एमाले दोस्रो स्थानमा छ ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ७७९ मत पाउँदा एमालेका उम्मेदवारले १७ हजार ४२० मत प्राप्त गरेका छन् । माओवादीले ८ हजार १७६, एकीकृत समाजवादीले २ हजार एक, राप्रपाका उम्मेदवारले एक हजार ७९७ मत पाएका छन् । वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा सत्तारुढ गठबन्धनसँग ३२ हजार ९५२ मत छ भने एमालेसँग १७ हजार ४२० छ ।
१९ वैशाख २०२९ सालमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा जन्मिएका नारदमुनि रानाले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । मध्यमवर्गीय परिवारमा जन्मिएका रानाले २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।
२०४८ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति सुरु गरेका राना हाल एमालेको पोलिट्ब्यूरो सदस्य र कैलाली जिल्ला इन्चार्ज छन् । कैलालीमा उनी छोटो समयमै राजनीतिक उचाइ हासिल गर्ने नेताका रुपमा चिनिन्छन् ।
२०५४ सालमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरमा निर्वाचित राना २०६४ सालमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बनेका थिए ।
२०७४ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुलाई पराजित गरेपछि उनी राष्ट्रिय स्तरमै चर्चाको पात्र बनेका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा केही समय वन तथा वातावरण मन्त्रीसमेत भएका थिए ।
रानाले सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष, शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्ष जस्ता पदमा रहेर सामाजिक काम पनि गरेका छन् ।
प्रतिक्रिया 4