
३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार देखिन लागेको दावी गरेका छन् । बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताए ।
अप्रिय लाग्ने तर, अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अहिले अर्थतन्त्रमा सुधारको संकेत नदेखिने उनले दाबी गरे । कठोर नीतिगत निर्णय अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको उनको भनाइ थियो ।
राष्ट्र बैंकले लिएको नीतिले सकारात्मक काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको उनको भनाइ छ । लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितिमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको उनले बताए । असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनले बताए ।
अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको गभर्नर अधिकारीले बताए ।
‘गत अआर्थिक वर्षभरी नै हामी दबावको अवस्थामा थियौं । तरलता अभाव लगायतका कारणले कयौं ग्राहकको कर्जाको माग ट्र्न्सफर गरेको देख्यौं,’ उनले भने, ‘मुद्रास्फीति औसतमा साढे ८ प्रतिशत छ । निर्यात गत वर्गको भन्दा ठूलो मात्रमा घटेको छ भने आयात पनि उल्लेख्य मात्रमा घटेको छ । बाह्य क्षेत्रमा निकै हामीलाई पीडाजनक स्थिति थियो । तर, चालु आवको तीन महिनाको तथ्यांकले भने अर्थतन्त्र सुधारउन्मुख देखिएको छ ।’
गभर्नर अधिकारीले तरलताका कारण कुनै पनि बैंकलाई असहज अवस्था आउने नदिने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4