+

विलियम्स दाजुभाइ: जो फरक देशबाट विश्वकप खेल्दैछन्

२०७९ मंसिर  १ गते १२:३९ २०७९ मंसिर १ गते १२:३९
विलियम्स दाजुभाइ: जो फरक देशबाट विश्वकप खेल्दैछन्

१ पुस, काठमाडौं । हरेक फुटबल खेलाडीको चाहना विश्वकप खेल्ने र उपाधि जित्ने सपना हुन्छ । केहीको मात्र त्यो चाहना पूरा हुन्छ । सबैले विश्वकप खेल्ने अवसर पाउँदैनन् ।

तर, केही यस्ता खेलाडी हुन्छन् जो आफ्नो दाजुभाइ सँगै विश्वकप खेल्छन् । एकै परिवारका दुई दाजुभाई एकै पटक खेल्नु बिरलै भेटिन्छ । त्यसमा पनि एउटै परिवारका दुई दाजुभाइ फरक देशबाट विश्वकप खेल्दैछन् भन्दा कलपना गर्न पनि गाह्रो होला । तर यो सत्य हो ।

विलियम्स दाजुभाइ कतार विश्वकपमा दुई फरक देशको प्रतिनिधित्व गर्दैछन् ।

दाजु इनाकी विलियम्स घानाको प्रतिनिधित्व गर्दैछन् भने भाइ निको विलियम्स युरोपियन राष्ट्र स्पेनबाट खेल्दैछन् ।

२८ वर्षीय इनाकी र २० वर्षीय निको दुवै स्पानिस ला लिगा क्लब एथ्लेटिक विल्वाओबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् ।

अफ्रिकामा भोकमगरी लागेपछि विलियमेसको बुबा आमा राम्रो भविष्य र सुखी जीवनका लागि देश छाडेर छाडेर स्पेन पुगेका थिए ।

इनाकी र निको दुवै स्पेनमा जन्मिएका हुन् । दुवैले पामप्लोनामा फुटबल खेल्न सुरु गरे । पछि एथ्लेटिक विल्वाओको एकेडेमीमा भर्ना भए । अहिले दुवै जना एउटै टिमबाट सँगै खेल्छन् ।

विश्वकपमा भने उनीहरु फरक देशबाट खेल्न लागेका हुन् । दाजु इनाकीले सन् २०१६ मा स्पेनका लागि डेब्यू गरिसकेका छन् । त्यसपछि उनी स्पेनको टिममा परेनन् । उनले विल्वाओका लागि लगातार २०३ खेलमा खेल्दै कीर्तिमान पनि बनाएका थिए ।

२०२२ को जुलाईमा उनले आफू घानाको लागि खेल्न उपलब्ध हुने बताए । गत सेप्टेम्बरमा उनले पहिलो पटक घानाको टिममा स्थान बनाए र ब्राजिल विरुद्धको खेलबाट डेब्यू गरे । उनले घानाका लागि दुई खेल खेलेका छन् र अिहले विश्वकप खेल्ने टिममा समावेश भएका छन् ।

भाइ इनाकीले भने २०२० देखि स्पेनको उमेर समूहको टिममा खेल्दै आएका छन् । उनले पनि २०२२ मै राष्ट्रिय टिममा डेब्यू गरे । लुइस एनरिकेले उनलाई नेशन्स लिगका लागि टिममा राखेका थिए र स्वीट्जरल्याण्डविरुद्ध खेल्दै स्पेनका लागि डेब्यू गरे ।

उनले स्पेनका लागि दुई खेल खेलेका छन् ।

कतार विश्वकपमा स्पेन र घाना फरक समूहमा छन् । जसले गर्दा यी दुई समूह चरणमा एक आपसमा खेल्न पाउने छैनन् ।

दुवैको टिम अगाडि बढेमा विलियम्स दाजुभाइको भेट क्वाटरफाइनलमा हुने सम्भावना छ । ‘आशा छ त्यसो होस्,’ इनाकीले भनेका छन्, ‘र, घानाले जितोस्,’

‘हामी यसको बारेमा हेर्नेछौं,’ भाइ निकोले भनेका छन्, ‘तर, खेलपछि हामी जर्सी भने अवश्य साट्नेछौं ।’

एक अर्का विरुद्ध विश्वकप खेल्ने दाजुभाइ

यसअघि सन् २०१० र २०१४ मा बोएटेङ दाजुभाइले पनि फरक देशबाट विश्वकप खेलेका थिए । जेरोमी बोएटेङले जर्मनी र केभिन प्रिन्स बोएटेङले घानाबाट विश्वकप खेलेका थिए । दुवै विश्वकपमा जर्मनी र घाना एउटै समूहमा थिए । दुवै विश्वकपमा बोएटेङ दाजुभाइले एकआपसमा खेलेका थिए ।

कतार विश्वकपमा एकै टिममा रहेका दाजुभाइ

विलियम्स दाजुभाइ कतार विश्वकपमा फरक देशबाट खेल्दैछन् । तर, कतार विश्वकपमा एउटै टिमबाट खेल्ने दाजुभाइको तीन जोडी पनि छन् ।

एडेन हाजार्ड र थोर्गन हाजार्डले बेल्जियमबाट खेल्दैछन् । यस्तै जोर्डन आयु र आन्द्रे आयुले घानाबाट खेल्दैछन् । आयु दाजुभाइले सन् २०१४ को विश्वकपमा पनि घानाबाट सँगै खेलेका थिए । लुकास हर्नान्डेज र थिएगो हर्नान्डेजले फ्रान्सबाट सँगै खेल्नेछन् ।

एकै टिमबाट विश्वकप खेल्ने अन्य दाजुभाइ

सन् २०१० को विश्वकपमा होण्डुरसको टिममा एकै परिवारका तीन दाजुभाइ समावेश थिए । जसमा जेरी, विल्सन र जोनी पालासिओस थिए ।

आइभरीकोष्टका याया र कोर्लो टुरेले सन् २०१० र २०१४ को विश्वकप सँगै खेले । मेक्सिकोका जोनाथन र जिओभानी डस सान्तोसले २०१८ को विश्वकप सँगै खेले ।

यस बाहेक सन् १९९४ र १९९८ विश्वकपमा नेदरल्याण्ड्सका फ्रान्क र रोनाल्ड डे बोएर जुम्ल्याहा दाजुभाइ थिए ।

नेदरल्याण्ड्सकै रेजे र विलि भान डेर केखोफ जुम्ल्याहा दाजुभाइले १९७४ र १९७८ को विश्वकपमा सँगै खेलेका थिए र फाइनल सम्म पुगेका थिए । नेदरल्याण्ड्सकै एर्विन र रोनाल्ड कोएमनले १९९० मा सँगै खेलेका थिए ।

सन् १९९८ मा डेनमार्कका ब्रायन र माइकल लाउड्रप तथा १९६६ र १९७० मा इंग्ल्याण्डमा ज्याक र बबी चार्ल्टनले सँगै विश्वकप खेलेका थिए ।

फिफा विश्वकप विलियम्स दाजुभाइ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय