+
+

देवी ज्ञवाली भन्छन्- मैले जिते मुख्यमन्त्री हुन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १३:०८

१ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघीय सांसद उठ्न चाहन्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जिते मुख्यमन्त्री पाउने सर्तमा । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट पराजित भएका ज्ञवाली यसपटक जितको खोजीमा छन् ।

क्षेत्र नं. २ को प्रदेश क्षेत्र (ख) बाट एमाले उम्मेदवार रहेका ज्ञवालीलाई यसपटक सत्ता गठबन्धनका उम्मेदवार उत्तम जोशीले चुनौती दिएका छन् । जोशी कांग्रेस चितवनका पूर्व जिल्ला सचिव हुन् । जिल्लाको तुलनात्मक रुपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा रहेको छ । यो प्रदेश क्षेत्र (ख) मा भरतपुर महानगरपालिकाका ७ वडाहरु वडा नं. २, ४,५,७, १०,११ र १२ पर्दछन् । यहाँ ६२ हजार २४२ मतदाता छन् । निर्वाचन जिते बागमती प्रदेशको मुख्यमन्त्री हुने योजनामा रहेका ज्ञवालीसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी

तपाईंको चुनावी अभियान कस्तो रह्यो ?

अब अन्तिमतिर छौं । सबै जनताको घर घरमा चोक चोकमा, विभिन्न सञ्जालहरुको माध्यमबाट जनतासँग भोट मागेको छु । उहाँहरुले पनि मत दिने भन्नुभएको छ । उत्साही छु, यसपटक ।

तपाईं २०७४ मा भरतपुर महानगरको मेयर र २०६४ मा संविधानसभा सदस्यमा पराजित हुनु भयो ? यसपटक जित्ने आधार के छ ?

जनतालाई थाहा छ की हामीले दिएको मत देवी ज्ञवालीलाई पुगेन र पराजय भोग्नुपर्‍यो भन्ने । मलाई २०७४ सालमा त माओवादीहरुले मतपत्र च्यातेर पराजित गराइएको हो । मलाई जनताले हराएका हैनन् । २०६४ मा माओवादीको देशब्यापी आएको माहोलले गर्दा पराजय भयो । तर, यसपटक मलाई जनताले जिताउनुहुन्छ । नपुगेको मत पुर्‍याएर कसैले हराउन नसक्ने गरी मत दिनुहुन्छ । मेरो जितको आधार भनेको मेरो राजनीति प्रतिको निरन्तरता हो । जनताको विश्वास हो । यहाँको राजनीतिक, सामाजिक परिवर्तन र विकासमा म अथक योद्धा भएर लागेको छु ।

एमालेका विरुद्धमा गठबन्धन छ ? गठबन्धन तुलनात्मक रुपमा बलियो पनि छ कसरी जित्नुहुन्छ ?

गठवन्धन पानीको फोका हो । यसको कुनै अर्थ छैन । वितेको २ वर्षमा यो गठवन्धनको प्रदेश र केन्द्र सरकारले कुनै एउटा काम जनताको पक्षमा गरेको छैन । महंगी बढाउने, अत्याचार गर्ने, उद्योगी व्यावसायीहरु हायलकायल पारिएका छन् । खै त जनतालाई राहत ? खै त विकास ? केपी ओलीलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि देशको विकास ठप्प भएर रोकियो । नेताको गठवन्धन होला जनताको गठवन्धन हुँदैन । हामी यसपटक सजिलै जित्छौं ।

तपाईं संघीय सांसद उठ्ने कुरा थियो, एकाएक प्रदेशमा झर्नुभयो किन ?

कुरा सही नै हो । म संघिय सांसद उठ्न चाहन्थे । तर, पार्टी भित्र सल्लाह भयो, सहमती भयो । म प्रदेशमा र कृष्णभक्त जी संघमा उठ्न हामी सहमत भयौं । मेरो गोरुको बाह्रै टक्का भनेर पनि त भएन । हामीमा एकता भाव छ । अहिलेको परिस्थितिले पनि हामीलाई एक ठाउँमा उभ्याएको हो ।

तपाईं बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भनेर चुनावी प्रचार गर्नुभएको रहेछ ? खास के हो ?

मलाई पार्टीले निर्वाचन जितेर जाँदै गर्दा प्रदेशको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने कुरा छ । म एमालेको १० औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जित्ने केन्द्रीय सदस्य पनि हो । एमालेका नेता कार्यकर्ताको भरोसा पनि हो । म निर्वाचित हुँदै गर्दा मुख्यमन्त्री बन्ने अवस्था तयार हुन्छ । त्यसको लाभ चितवनका जनतालाई पनि हुन्छ । मेरो क्षेत्रका जनतालाई पनि हुने नै भयो । तर, विपक्षी उम्मेदवारले जित्दा त एउटा सांसद मात्रै हुने हो । अब मुख्यमन्त्री हुनसक्ने मान्छेलाई जिताउने कि सांसद मात्रै हुने उम्मेदवारलाई जिताउने जनताले फैसला गर्नुस् भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?