
१ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताले ४ मंसिरमा हुने निर्वाचनबाट संसद विघटन गर्ने प्रवृत्तिलाई पराजित गर्नुपर्ने बताएका छन् ।
बिहीबार एक अपिल जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनका लागि मत मागेका हुन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ । यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो ।’
उनीहरुले तत्कालिन सरकारले संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा डुबेको र स्वेच्छाचारी कदम चालेपछि यो गठबन्धन बनाउनुपरेको जिकिर गरेका छन् ।
संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका आफूहरुको लक्ष्य रहेको गठबन्धनको शीर्ष नेताले बताएका छन् ।
प्रतिक्रिया 4