
डीभी, पीआर लिने निजामती कर्मचारीलाई कारबाही गर्ने कानुन बनाउन लालबाबु पण्डितले राम्रै संघर्ष गरे । पण्डित तत्कालीन प्राधनमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री थिए, निजामती सेवा ऐन संशोधनका क्रममा पण्डितले निजामती कर्मचारीले डीभी, पीआर लिन नपाउने कानुन बनाउने अडान लिए । यो मुद्दामा उनले यति वाह्वाही पाए कि २०७४ को चुनावमा त्यही क्रेजको बलमा डा. शेखर कोइरालालाई हराइदिए ।
मोरङ क्षेत्र नम्बर ६ मा पण्डित एमालेबाट उम्मेदवार थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कोइराला । पण्डितले हेभिवेट उम्मेदवार शेखरलाई ६७५ मतान्तरले पराजित गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शपथ लिएकै दिन ३ फागुन २०७४ मा पण्डितलाई मन्त्री पनि बनाए ।
मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा साइकल मात्र उल्लेख गरेपछि पण्डित चर्चामा पनि रहे । ‘सिंहदरबार बदल्ने संघर्ष’ नामक पुस्तक लेखे, जसको कभरमा साइकल चढेर सिंहदरबार जाँदै गरेको तस्वीर छ ।
पण्डित यो पटक पनि मोरङ–६ बाट चुनाव लडेका छन्, तर उनको क्रेज पहिले जस्तो छैन । उनका प्रतिस्पर्धी पनि डा. शेखर नै हुन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर सभापति नभएपछि पार्टीमा नेताका रूपमा उदाएका छन् ।
सर्लाहीमा जन्मिएका पण्डित मजदुर संगठन हुँदै एमालेको केन्द्रीय राजनीतिमा आएका हुन् । अहिले स्थायी कमिटी सदस्य छन् । उनी २०४८ सालयता मोरङबाट चुनाव लडिरहेका छन् । २०४८ सालको निर्वाचनमा पण्डितले तत्कालीन मोरङ–३ मा नेपाली कांग्रेसका बद्रीनारायण बस्नेतलाई पराजित गरेका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ–३ मा भने बस्नेतले पण्डितसँग बदला लिए । २०५६ को निर्वाचनमा मोरङ–३ मा उनले कांग्रेसका गोपाल राजभण्डारीलाई पराजित भए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसे भने दोस्रो संविधानसभा निर्वाचनमा टिकटै पाएनन् । २०७४ को निर्वाचनमा मोरङ–६ मा वाम गठबन्धनको साझा उम्मेदवार भएका उनले चुनाव पनि जिते । यो पटक घट्दो क्रेज र माओवादीको समर्थन समेत नभएकाले उनलाई जित जोगाउन सहज छैन ।
चुनावी अंकगणित
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणामले पनि पण्डितलाई यो पटक सहज नभएको देखाउँछ ।स्थानीय तह निर्वाचन–२०७९ मा क्षेत्र नम्बर ६ मा कांग्रेसका वडाअध्यक्ष उम्मेदवारहरूले २७ हजार ८६ मत पाउँदा एमाले उम्मेदवारहरूले २४ हजार ५५६ मत पाएका थिए ।
पण्डितलाई ३ हजार ९३९ मत भएको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गरेको छ, तर शेखरलाई ४ हजार ९९६ मत प्राप्त माओवादी र २ हजार ३५५ मत भएको एकीकृत समाजवादीको साथ छ ।
साथै डा. कोइरालाले राष्ट्रिय राजनीतिमा आफ्नो कद उच्च बनाएका कारण पण्डितलाई सहज छैन, तर कांग्रेसभित्रको अन्तरसंघर्षका कारण उनलाई थोरै आश भने छ ।
प्रतिक्रिया 4