
१ मंसिर, काभ्रे । काभ्रेको प्रदेश सभातर्फ गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको काभ्रेमा ४ वटा प्रदेश सभा क्षेत्र छन् ।
यस पटक गठबन्धनको तर्फबाट पुरानै अनुहार उम्मेदवार बनेका छन् भने एमालेको तर्फवाट ३ जना नयाँ उम्मेदवार मैदानमा छन् । एमालेका दिलबहादुर लामा (दिलिप), कुमार खकुरेल र कुमार थापा नयाँ अनुहार हुन ।
एमालेका चन्द्र लामा मात्र दोहोरिएका छन् । लामासहित २०७४ को चुनाव जितेका नेकपा माओवादी केन्द्रका रत्न ढकाल र नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल पुरानै क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन् । २०७० सालको संविधानसभामा निर्वाचित कञ्चनचन्द्र वादे र तीर्थ लामा पनि प्रदेश सभामा झरेका छन् ।
प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा ९ उम्मेदवार
९ जना उम्मेदवार चुनावी मैदानमा रहेको प्रतिनिधिसभा १ को प्रदेश सभा १ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका रत्नप्रसाद ढकाल प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् ।
२०७४ मा भएको निर्वाचनमा २५ हजार १०६ मत पाएर विजयी भएका ढकालले कांग्रेसका चन्द्रबहादुर (सिवी) लामालाई पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका ढकाल यस पटक सत्तारुढ गठबन्धनबाट प्रतिनिधित्व गर्दै एमालेका दिलबहादुर तामाङ (दिलिप) सँग प्रतिस्पर्धामा छन् ।
भौगोलिक हिसाबले काभ्रेको विकट मानिने यस क्षेत्रमा मुख्य गरी स्थानीयबासिन्दाले विकास मागेका छन् । सडक, विजुली र खानेपानी उनीहरुको प्राथमिकता हो । काभ्रेको डाँडापारी र कोशीपारी क्षेत्र पर्ने यस क्षेत्रमा अझै पनि बर्खामा सडक चल्दैनन् ।
गठबन्धनका उम्मेदवार ढकालले संविधानको रक्षा, राजनीतिक स्थायीत्व र समृद्धिको लागि गठबन्धन गरेको स्पष्ट पारे । ‘चुनाव जित्नका लागि मात्र यो गठबन्धन होइन, संविधानको रक्षाका निम्ति, राजनीतिक स्थायीत्वका निम्ती र हाम्रो गाउँ, हाम्रो क्षेत्रको विकास गरेर जनताको समृद्धिको अभियान, जनताको जीवन स्तर बदलने अभियान, जनताको सुखको दिन ल्याउने अभियानका निम्ति यो गठबन्धन हो ।’
एमालेका उम्मेदवार तामाङले जनताको जीवनस्तरलाई उचाइमा पर्याउने बताए । ‘सबै वर्गका नागरिकको भविष्य निर्माणमा हाम्रो भूमिका रहन्छ,’ उनले भने, ‘जनताको निराशालाई चिर्दै आशातर्फ लैजानेछौं ।’
प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा लामाद्वय प्रतिस्पर्धामा
प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा नेकपा एमालेका चन्द्रबहादुर लामाले सत्तारुढ गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामासँग प्रतिस्पर्धा गर्दैछन् ।
२०७० मा संविधानसभाको सदस्य भएका तीर्र्थ लामा त्यस क्षेत्रका चर्चित नेता हुन र उनी चुनाव जित्ने दाबी गर्छन् ।
लोकतान्त्रिक वाम गठबन्धनले राजनैतिक स्थिरता, संविधानको रक्षा, विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको उम्मेदवार तीर्थले बताउने गरेका छन् ।
तीर्थसँग भिड्न लागेका चन्द्रबहादुर प्रदेशसभा २ मा २०७४ मा २४ हजार ४४७ मत प्राप्त गरी विजयी भएका थिए ।
जित दोहो¥याउने दाबी गर्ने चन्द्रबहादुर भन्छन्, ‘जनताका समस्या समाधान गर्न यस क्षेत्रकोे विकासका लागि चुनावी मैदानमा छु, कुराले होइन कामले जनताको विश्वास जितेको छु मलाई जनताले मलाई जिताउनुहुनेछ ।’
यो क्षेत्रका मतदाताले विकास र समृद्धि चाहेको बताउने उनी आफूले विकास र सम्बृद्धिका लागि गरेको काम नै जितको आधार हो भन्छन् ।
२ को प्रदेश सभा १ मा लम्साल खकुरेल
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा १ मा सत्तागठबन्धनबाट निवर्तमान संसद लक्ष्मण लम्साल नै चुनावी मैदानमा छन् । नेकपा एकीकृत समाजवादीका लम्साललाई आफ्नै पूर्वसहकर्मी एमालेका कुमार खकुरेलले टक्कर दिइरहेका छन् ।
अघिल्लो पटक एमालेबाट निर्वाचित भएका लम्साल पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका हुन् । अघिल्लो निर्वाचन जितेका लम्साल आफ्नो जितको आधार भनेको जनताको समस्या बुझ्नु भएको बताउँछन् । विकास र सम्वृद्धि कुरामा मात्रै सिमित होइन काम गरेर देखाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘जनतासँगको साक्षात्कार, जनताको समस्या बुझेर जनतालाई पहिलो स्थान दिएर विकासमा जोड दिएको छु ।’
नेकपा एमालेबाट उम्मेदवार खकुरेलले देश निर्माणमा स्पष्ट मिसन लिएर हिँडेको पार्टी भएकाले आफ्नो जित सुनिश्चित भएको बताए । ‘हाम्रो लागि यो निर्वाचन कुनै पद प्राप्ति मात्र होइन, हामीसँग मुलुक निर्माणको स्पष्ट मिसन छ ।
लुकलाई विकासकै रुपमा रुपान्तरण गर्ने अवधारणा छ, त्यो अवधारणा नै निर्वाचन जित्ने आधार पनि हो ।’
२ को प्रदेश सभा २ मा वादे र थापा
प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा गठबन्धनबाट नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे र एमालेका बागमती प्रदेश सदस्य कुमार थापाबीच प्रतिस्पर्धा देखिन्छ ।
वादे जनताले आफूलाई जिताउने दावी गर्छन् । भन्छन्, ‘जनताले विकास सम्बृद्धि, संविधानको रक्षा र सुशासन चाहेकाले त्यसको प्रत्याभूति दिलाउन पनि जनताले आफूलाई जिताउनेमा विस्वस्त छु ।’
अघिल्लो पटक निर्वाचित हुँदा धेरै काम गरे, अझै यस क्षेत्रमा धेरै विकासका कामहरु हुन बाँकी छन् ती कामलाई प्राथमकिता राख्दै समग्र काभ्रेको विकासमा दत्तचित्त भएर काम गर्ने वादेले प्रतिबद्धता व्यक्त गरे ।
२०७० सालको संविधान सभा चुनावमा वादेले एमालेका उम्मेदवार गोकुल बास्कोटालाई पराजित गरेका थिए । उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका थापाको भने यो पहिलो चुनाव हो ।
हिजो गरेका कामका अनुभवका हिसाबले जनताको विश्वास जित्नु र मन जित्नु नै आफ्नो जितको पहिलो मूल ढोका भएको थापा बताउँछन् । उनी भन्छन्, ‘सुखी नेपाली सम्बृद्ध नेपाल भन्ने अवधारणासहित विकासमा अघि सरेका छौ, हाम्रो जित्ने आधार पनि यही हो ।’
प्रतिक्रिया 4