
१ मंसिर, काठमाडौं । नेपालमा झण्डै साढे ६ हजार हाराहारी व्यावसायिक पशु फार्म सञ्चालनमा रहेको एक सर्वेक्षणले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा गरेको नेपालमा व्यावसायिक पशुपालनको अध्ययनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
अध्ययनअनुसार आर्थिक वर्ष २०७८/७९ सम्म नेपालमा ६ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्महरु सञ्चालनमा छन् । जसमा बाख्रा फार्म सबै भन्दा धेरै २ हजार २९५ वटा छन् भने दोस्रोमा गाईपालन पशुफार्म रहेको छ । नेपालभर एक हजार २३३ वटा गाईपालन फार्म रहेका छन् ।
भैंसीपालनका ९१४ वटा, ४३ वटा राँगापालन, ५७२ वटा भेंडापालन फार्महरु छन् ।सर्वेक्षणकाअनुसार ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुंगुरपालन फार्म रहेको देखिएको छ ।
यस्तै नेपालमा गाई र भैंसीपालनको मिश्रित फार्म ४८३ वटा, बाख्रा र च्याँग्रा र भेंडा पालनको मिश्रित फार्म १९८ वटा र गाई र भैंसीपालन तथा बाख्रा र च्याँग्रा र भेंडापालनको मिश्रित फार्म २६५ रहेको देखाएको छ । व्यावसायिक पशुपालन फार्महरु मध्ये प्रदेश १ मा सबै भन्दा धेरै अर्थात एक हजार २७० वटा र मधेश प्रदेशमा सबै भन्दा कम अर्थात ४०४ वटा व्यावसायिक पशु फार्महरु रहेको पाइएको छ ।
नेपालमा राँगा भैंसी कति ?
सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा/भैंसीहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगाहरु २४ हजार ४४७ गोटा र भैंसीहरुको संख्या ९७ हजार १५० रहेको छ । यिनीहरु मध्ये दूध दिने भैंसीको संख्या १० हजार ८४१ र र दूध नदिने भैसीको संख्या ९६१५० रहेको छ ।
सर्वेक्षणअनुसार सबै भन्दा बढी भैंसी गण्डकी प्रदेशमा र सबै भन्दा कम भैंसी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ । गण्डकीमा ११ हजार ४६९ र सुदूरपश्चिममा एक हजार ६३० वटा भैंसीहरु रहेका छन्
नेपालमा एक लाख ५० हजार बाख्रा
सर्वोक्षणअनुसार नेपालमा जम्मा एक लाख ५० हजार ५६८ वटा बाख्राहरु व्यावसायिक रुपमा पालिएको छ । जसमा उन्नत जातका बाख्राहरुको संख्या ६७ हजार ०६७ रहेको छ । जसमा उन्नत जातका बाख्राहरु मध्ये बोर जातका बाख्रा सबै भन्दा बढी अर्थात ३१ हजार ६३७ संख्यामा रहेका छन् भने त्यस पछि जमुनापारी जातका बाख्राको संख्या २३ हजार ६६३ रहेको छ ।
सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३३ हजार २१६ वटा बाख्रा प्रदेश नम्बर १ मा र सबै भन्दा कम अर्थात ६ हजार ५०२ वटा मधेश प्रदेशमा रहेको पाइएको छ ।
यसैगरी व्यावसायिक रुपमा पालिएका च्याँग्राहरुको संख्या नेपालमा ३१ हजार ७८१ पाइएको छ । यो सर्वेक्षणले नेपालमा व्यावसायिक रुपमा पालिएका भेंडाको जम्मा संख्या ८८ हजार ४२१ देखाएको छ जस मध्ये बरुवाल जातका भेंडा सबै भन्दा बढी १३ हजार ३३४ संख्यामा रहेका छन् भने त्यस पछि कागे जातका भेंडाको संख्या ६ हजार २४८ रहेको छ ।
सर्वेक्षणले सबै भन्दा बढी अर्थात ३४ हजार ९७५ वटा भेंडा कर्णाली प्रदेशमा र सबै भन्दा कम ३९५ वटा भेंडा मधेश प्रदेशमा रहेको पाइएको छ ।
नेपालमा ३८ हजार सुंगुर
सर्वेक्षणकाअनुसार नेपालमा व्यावसायिक रुपमा पालिएका सुंगुरको जम्मा संख्या ३८ हजार ३६० गोटा छ । जस मध्ये उन्नत जातका सुंगुरहरुको संख्या ३५ हजार २३० गोटा रहेको छ भने सबै भन्दा बढी १६ हजार ८८४ वटा सुंगुर प्रदेश एकमा र सबै भन्दा कम ५२८ गोटा सुंगुर मधेश प्रदेशमा रहेको छ ।
गाई भैंसीको दूध उत्पादन कहाँ कति ?
सर्वेक्षणले नेपालमा १५ हजार ३८० वटा दूध दिने गाईहरुबाट दूध दिने अवधिमा ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । जात अनुसार तुलना गर्दा होलिस्टिन र होलिस्टिन क्रसब्रिड जातको गाईबाट सबै भन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ ।
गाईको दूध उत्पादनको दृष्टिकोणले एक करोड ३५ लाख ९८ हजार ५१० लिटर दूधको उत्पादन सहित बागमती प्रदेश अग्रणी स्थानमा रहेको छ । विवरणअनुसार स्थानीय जातको गाईको सरदर दूध दिने अवधि नौ महिना र उन्नत जातको १० महिना देखाएको छ भने प्रति गाई प्रति दिन सरदर १० लिटर दूध उत्पादन हुने गरेको पाइएको छ ।
यस्तै व्यावसायिक फार्महरुबाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दूध उत्पादन भएको देखाएको छ । जात अनुसार तुलना गर्दा मुर्रा जातको भैंसीबाट सबै भन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ ।
भैंसीको दूध उत्पादनमा ८३ लाख ८८ हजार १८३ लिटर दूध सहित गण्डकी प्रदेश अग्रस्थानमा रहेको छ । भैंसीको सरदर दूध दिने अवधि नौ महिना देखाएको छ भने प्रति भैंसी प्रति दिन सरदर आठ लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । यस्तै हप्तामा उत्पादित दूध मध्ये गाईको ८९५ र भैंसीको ८५५ बिक्री हुने गरेको समेत सर्वेक्षणलेमा उल्लेख छ ।
प्रतिक्रिया 4