
४१ वर्षीया रेखा थापाको परिचय अब फिल्म अभिनेत्री, निर्देशक र निर्मात्रीको रूपमा मात्र सीमित रहेन । उनी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा मोरङ-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार छिन् ।
सन् १९९९ को मिस नेपाल ब्यूटी पेजेन्टकी टप टेन रेखाले छवि ओझाले निर्माण गरेको फिल्म ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । २०५६ सालमा त्यो फिल्म रिलिज भएपछि रेखा व्यावसायिक सफलताको उकालोमा लागिन् ।
१०० फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्मको कथ्य र चरित्र निर्माणमा थुप्रै योगदान गरेकी छन् । गुण्डासँग भिड्ने एक्सन दृश्यदेखि महिलाका मुद्दा स्थापित गर्नेसम्मका सवालमा उनका फिल्म स्मरणीय मानिन्छन् ।
अब भने आफू देश निर्माणको पनि अभिभारा लिएर जनतामाझ गएको यो संवाददातालाई बताइन् । ‘फिल्म निर्माण पनि सँगै अघि बढ्छ’ उनले भनिन्, ‘साथै देश निर्माणको अभिभारा पनि हाम्रै काँधमा छ ।’
नेकपा (माओवादी केन्द्र) प्रवेश गरेर अनि त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर राजनीतिक चर्चामा आएकी रेखा थापा अहिले राजतन्त्र फर्काउने मूल एजेण्डा बोकेको राप्रपाको टिकटबाट सांसद बन्ने प्रयासमा छिन् । राप्रपाको पछिल्लो महाधिवेशनमा पनि उनी महामन्त्री पदमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।
रेखाको निजी जीवन उतारचढावपूर्ण ढंगले अघि बढेको देखिन्छ । फिल्म ‘हिरो’को सफलतापछि उनले त्यसका निर्माता ओझासँग विवाह गरिन्, तर दाम्पत्य जीवन दिगो हुन सकेन । ओझासँग सम्बन्धविच्छेद गरेकी उनले हालै जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरेकी छन् ।
रेखाको प्रवेशले मोरङ–३ मा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । फिल्ममा देख्न पाइने रेखा थापा भोट माग्दै घरदैलोमै आउँदा मतदाताहरूले रमाइलो मानिरहेका छन् ।
मोरङ-३ मा नेकपा (एमाले)का भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्माको मुख्य प्रतिस्पर्धा छ । पुराना दलका यी नेताले जनतालाई आश्वासन मात्र दिने गरेकोले वास्तविक रूपमा काम गर्न आफू राजनीतिमा आएको भन्दै रेखाले मत मागिरहेकी छन् ।
गत स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले दलगत रूपमा प्राप्त गरेको मतभार हेर्दा कांग्रेस र एमाले लगभग बराबर छन् । यो क्षेत्रमा कांग्रेसले २२ हजार ८५३, एमालेले २२ हजार ५३५, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ५८३ र राप्रपाले २ हजार ८४१ मत पाएका छन् ।
त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार १५९, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ७५ र स्वतन्त्र उम्मेदवारले १ हजार २ मत पाएका छन् ।
गत चुनावको नतिजा राप्रपाकी रेखाको लागि अनुकूल छैन । दोहोरिएका उम्मेदवारहरूप्रति जनतामा बढेको अरुचि र सेलिब्रेटीको चाखलाई मतमा बदल्न सक्दा भने उनले चमत्कार गर्न असम्भव छैन ।
प्रतिक्रिया 4