+
+

‘मैले इलामे जनताको शिर उठाउने मौका पाएँ, अझै क्रियाशील हुनेछु’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २१:४६

१ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङ नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्दै संसदीय राजनीतिमा अविच्छिन्न निर्वाचित हुँदै आएका नेम्बाङ प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति बनेका बेला चर्चित लाउडा विमान प्रकरण उजागर गरेर राष्ट्रिय चर्चाको केन्द्रमा छाएका थिए ।

०६२/६३ को जनआन्दोलनका बेला केन्द्रीय समन्वय समितिमा रहेर काम गरेका नेम्बाङ त्यसलगत्तैको पुनर्स्थापित संसदमा सर्वसम्मत सभामुख बने । दुईपल्ट संविधानसभा अध्यक्षसमेत गरी चारपल्ट सर्वसम्मत सभामुख बन्ने अवसर पाएका उनको नेतृत्वमा हालको संविधान ०७२ सालमा जारी भयो । उनी चौथोपल्ट इलाम २ बाट चुनाव लड्दैछन् ।

अनलाइनखबरले मौन अवधि सुरु हुनुभन्दा केही अघि नेम्बाङसँग राष्ट्रिय राजनीति र जिल्लाको अवस्थासँग सम्बन्धित रहेर केही प्रश्न गरेको थियो, प्रस्तुत छ अन्तर्वार्ता :

०७४ को चुनावलाई तपाईंले आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने अवसरका रुपमा व्याख्या गर्नुभएको थियो । यसपल्ट कसरी चुनावमा जाँदै हुुनुहुन्छ ?

मैले राष्ट्रका लागि जुन योगदान गर्ने अवसर पाएँ, त्यसमा इलामे जनताको सदा साथ र आशिर्वाद छ । उहाँहरुले मलाई दुईपटक संविधानसभामा जिताएर पठाउनुभयो । त्यहाँभित्रका ३१ दलले मलाई सर्वसम्मतिले सभा अध्यक्ष चुने । मेरो नेतृत्व पहल र प्रयासमा सबै दललाई एक ठाउँ ल्याएर संविधान बनाउने पहल भयो ।

पहिलोपल्ट यो देशमा संघीयता लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समाजवाद उन्मुख संविधान बन्यो । यसो गरेर मैले इलामे जनताको गुन तिर्ने र उहाँहरुको शिर उठाउने काम गरें । मैले आफ्नो कर्तव्य निभाउँदै आउने दिनहरुमा समेत यसरी नै इलामे जनताको सदासर्वदा शिर उठाउने छु । राजनीतिक स्थिरताका लागि संविधान आएको छ, यसैलाई लिएर देश अब समृद्ध हुन्छ ।

पहिले निश्चित दलसँग लड्नुपर्थ्यो । यसपल्ट सत्ता गठबन्धनसँग एक्लै लड्नुपरेको छ । कसरी लिनुभएको छ यो प्रतिस्पर्धालाई  ?

एमालेलाई यसले खासै फरक पर्दैन । पहिलो कुरा त यो गठबन्धन सुरुमा जस्तो आकारमा थियो, यहाँसम्म आइपुग्दा त्यस्तो रहेन । राजनीतिक कारणले पनि यो बलियो छैन । संविधान, मूल्यमान्यता, स्वाभाविकता आदि कारणले यो दूषित छ ।

त्यसमाथि अस्ति स्थानीय तह चुनावका बेलाजस्तो बलियो स्वरुपमा समेत अब यो रहेन । उपेन्द्र यादव नेतृत्वको जसपा हामीसँग तालमेलमा छ । राप्रपाको लिङ्देन घटक स्थानीय चुनावमा हामीविरुद्ध थिए, अहिले तालमेलमा छन् । हृदयेश त्रिपाठीलगायतहरु पनि तालमेलमा छन् ।

तर संख्याले मनोवैज्ञानिक प्रभाव त पक्कै पार्ला ?

राष्ट्रलाई अघि बढाउने सवालका अघिल्तिर संख्या ठूलो कुरा होइन, स्पष्टता ठूलो कुरा हो । हामीले चुनावपछिको प्रधानमन्त्री केपी ओली भनेर प्रष्ट किटानका साथ अभियान बढाएका छौं । चुनावपछि एकजुट भएर देशलाई अघि लैजाने मार्गचित्र हामीबाहेक अरु कसैसँग छैन । तर गठबन्धनले के गर्‍यो ? उसले त कसलाई देशको नेतृत्व सुम्पने भनेर स्पष्ट भन्न पनि सकेन ।

उहाँहरुले अहिलेसम्म आफ्नो साझा उम्मेदवार भन्न सक्नुभएको छैन । यस्तो तरिकाले उहाँहरुले मंसिर ४ पछि कसरी देशलाई अघि बढाउनुहुन्छ भन्ने प्रष्ट छैन । तीनतिर मुख फर्केका घोषणापत्र छन् । तिनको कार्यान्वयन हुने सम्भावना छैन । हामीले कात्तिक १५ गते सशक्त रुपमा जारी गरेका गरेको घोषणापत्रले समृद्ध नेपाल सुखी नेपाली कार्यान्वयन गर्ने ग्यारेन्टी नै गर्छ ।

जिल्ला र क्षेत्रको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

मेरा सबै प्रतिस्पर्धीलाई सम्मान र शुभकामना छ । मैले भेटमा पनि त्यही शुभकामना दिएको छु । त्यसलाई मैले धेरै उठाउने गरेको छैन । तर जिल्लामा रहेका सम्बन्धित पार्टीकै धेरै साथीहरुले आफ्नो पक्षको उम्मेदवार छान्ने प्रक्रिया राजनीतिक भएन भनेर गुनासो गरेको सुन्छु । त्यसमा मेरो टिप्पणी छैन । त्यसैले पनि मलाई नै जनताले आशिर्वाद दिनेछन् ।

तपाईंको राष्ट्रिय व्यक्तित्व चम्के पनि जिल्लाले विकासमा उचित प्रतिफल नपाएका चर्चा पनि सुनिन्छन् नि ?

विकास निर्माणमा मेरो क्षेत्र २ इलामको कर्णाली भनिन्थ्यो । प्रत्येक ठाउँमा मैले यहाँकै विकासको कुरा उठाएको छु । चुलाचुलीमा मैले ०५६ सालमा लालटिन बालेर चुनाव प्रचार थालेको थिएँ । बिजुलीको बल्ब पनि झुण्डिएको थिएन कतै । मलाई सम्झना छ, रतुवाको चपेटीबाट लारुम्बासम्म हिँडेर प्रचार गरेको थिएँ ।

सबैजसो क्षेत्रमा हिँडेरै प्रचार गरेको थिएँ । पक्की बाटो त छाडौं, एक किमि पनि कच्ची सडक थिएन । टेलिफोन लाइन आमचोक र इभाङमा बाहेक कतै थिएन । त्यो दुईवटा पनि भत्केको बिग्रेको अवस्थामा थियो । मैले यसलाई परिवर्तन गर्न प्रयास गर्छु भनेको थिएँ । कुन अवस्था थियो, आज के भएको छ भनेर तुलनामा हेर्नुपर्छ ।

यसपल्ट तपाईंका बाचा के छन् ?

मैले थालेका विकासका अभियान कतिपय पूरा हुने क्रममा छन् । कति पुरा भइसके । भइरहेका कामलाई आउने अवधिमा पूरा गर्छु । दुई वर्षभित्र धेरै ठाउँमा कालोपत्रे हुन्छ । काबेली करिडोर निर्माण साथै थप विद्युतीकरणको कार्यक्रम इलाममा पारेको छु । नेपालका केही जिल्लामा मात्रै सम्पूर्ण विद्युतीकरण हुँदैछ । त्यसमा इलाम पनि पर्छ । त्यसमा १ वर्षमा ८५ करोड खर्च हुन्छ । टेलिफोनको प्रविधिलाई मोबाइलले विस्थापित गरे पनि टेलिफोनका टावर निर्माण गराएको छु । सकारात्मक प्रयास गरेको छु । म ढुक्कले भन्न सक्छु, क्षेत्र २ अब इलामको कर्णाली रहेन ।

इलाम क्षेत्र २ मा परेसँगै नगरपालिका क्षेत्रलाई अगाडि ल्याउन नयाँ राजमार्ग सुरु गरेको छु । केचना कन्चनजंघा राजमार्ग, जो झापा पुग्ने बेलासे हुँदै झापा पुग्ने सबैभन्दा छोटो रुट छ । टेन्डर भएर ठेकेदार चयन भइसकेको छ । ठेकेदारले समयमा काम गर्नुपर्छ । यति भइसक्दा इलाम साह्रै छोटो बाटोबाट झापासँग जोडिनेछ । अहिलेको विकासमा कुना परेको स्थितिबाट अघि बढ्छ । भेडेटार, रवि, राँके सडक मैले नै थालेको हो । दमक, चिसापानी बाटो मैले नै थालेको हो । मंगलबारेबाट सिद्धिथुम्का हुँदै बेलासेको बाटो कालोपत्रे हुन्छ । कामका थुप्रै फेहरिस्त छन् ।

यसबाहेक इलाम नगरपालिकामा मेडिकल कलेज बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । सरकारले नगरे भारत अघि सरेर यसलाई अघि बढाउने छ । इन्डियन एम्बेसीले यसमा मसँग सकारात्मक कुरा गरेको छ । प्रस्ताव दिल्ली पठाइसकेको छ । देशमा खुल्ने पाँच मेडिकल कलेजमध्ये एउटा इलाममा बनाउने प्रष्ट छ ।

विमानस्थल बनाएर पनि चलाउन सक्नुभएन नि ?

हो, इलाममा मेरै पहल र प्रयासमा रवीन्द्र अधिकारी पर्यटनमन्त्री उड्ययन मन्त्री भएका बेला एयरपोर्ट बनाइयो । उहाँको दुःखद निधन भयो । विमानस्थल चल्न नसक्नु इलामको मात्रै समस्या होइन, सिंगै देशको समस्या हो । देशमा सुकिलुम्बासहित ३५ वटा साना एयरपोर्ट छन् । यस्ता साना एयरपोर्टमा ठूला हवाइजहाज उडान गर्दैनन् । मुस्ताङमा एउटा जहाज दुर्घटनामा पर्दा सम्बन्धित पाइलटको दुःखद निधन पनि भयो । ३५ वटा एयरपोर्ट प्राविधिक तयारी नपुग्दा बन्द पनि हुन सक्छन् । यसतर्फ मेरो ध्यान जानेछ ।

यो चुनावमा स्वतन्त्र पार्टी र उम्मेदवारहरुको उपस्थितिलाई कसरी लिनुभएको छ ?

हामीले जुन संविधान बनायौं, आआफ्नो आस्थाको आधारमा दलहरु व्यक्तिहरु चुनावमा सहभागी हुन सक्छन् । म उहाँहरुको उम्मेदवारीलाई स्वागत र शुभकामना नै दिन चाहन्छु । तर यस्ता स्वतन्त्र उम्मेदवारीले जनतामा आधारित सन्जाल बनाएर गएका दलहरुलाई कुनै गम्भीर चुनौती देलान् भन्ने लाग्दैन । दलीय प्रतिस्पर्धामा दलहरुको विकल्प स्वतन्त्र व्यक्तिहरु हुन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?