+
+

जताततै मतगणनास्थलमा तारजाली, दलका प्रतिनिधिमाथि अविश्वास

दल र तिनका प्रतिनिधिले आफ्नो हितमा काम गर्छन् भन्ने आशाका साथ मतदाताले मत दिन्छन् । जनताको विश्वासको प्रतिक मानिने त्यही मत गणनामा दलका प्रतिनिधिले तलमाथि पार्छन् कि भन्ने शंका गरेर निर्वाचन आयोगले तारजाली लगाई मतगणना गर्न लगाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १८:१०
फाइल तस्वीर

२९ वैशाख, काठमाडौं । मतदानस्थलको अनुगमन सकेर देशभरका निर्वाचन अधिकृतहरु साँझदेखि सुरु हुने मतगणनास्थलको तयारीमा जुटे । चितवन, काठमाडौं, बाग्लुङ, पोखरा लगायतका जिल्लाको मतगणनास्थलमा तत्काल तारजाली लगाइयो । भरतपुरमा त ग्रिल वर्कसपका प्राविधिक झिकाएर अस्थायी वेल्डिङ नै गरेर जाली राखिएको छ ।

‘स्थानीय स्तरको जोखिम हेर्नू, अनि कतैपनि खतरा र चुनौती छ भने सुरक्षाका उपाय अपनाउनू भनेर हामीलाई निर्देशन आएको थियो । निर्णय गर्न स्वतन्त्र थियौं’ एक सहायक निर्वाचन अधिकृतले भने, ‘यसबारेमा श्रीमान (मुख्य निर्वाचन अधिकृत) लगायतसँग सरसल्लाह भयो । हिजो चितवनमा मतपत्र च्यातिएका कारण जिल्ला न्यायाधीश कवि न्यौपाने अहिलेसम्म आलोचनामुक्त हुनुभएको छैन । हामीले किन जोखिम लिने भनेर तारजाली राख्यौं ।’

केही निर्वाचन अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा अधिकारीसँग कुराकानी गर्दा मतगणनास्थलमा तारजाली राख्न कुनै निर्देशन त छैन । तर आयोगका अधिकारीहरुले अनौपचारिक रुपमा भने सुरक्षा चुनौती मूल्यांकन गरेर आवश्यक व्यवस्था गर्न सुझाव दिएका थिए ।

‘त्यसक्रममा उहाँहरुको आग्रह तारजाली राख्ने नै हो भने अन्तिम समयमा राख्नू भन्ने थियो’ निर्वाचनमा खटिएका एक कर्मचारीले भने, ‘सुरुमै तारजाली राख्दा चौतर्फी आलोचना हुने भएकाले उहाँहरुले अन्तिम समयमा काम गर्नु भन्नुभएको थियो ।’

दुई दिनअघि अनलाइनखबरसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बरु मतगणनास्थलमा सीसीटीभी राख्न परिपत्र गरिएको बताएका थिए । ‘कहिँ, कतै कुनै घटना भएको विषयलाई सामान्यीकरण गरेर देशभर त्यस्तै होला भनेर अनुमान गर्न मिल्दैन’, उनले भनेका थिए, ‘हामीले आवश्यक सुरक्षा प्रबन्ध गर्नुहोस् भनेका छौं ।’ त्यसको दुई दिनपछि नै सुरक्षाका दृष्टिले अलि बढी संवेदनशील ठाउँमा धमाधम तारजाली राख्न थालिएको हो ।

ठाउँ अनुसार तारजाली राख्ने कारणबारे निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारीहरुको प्रतिक्रिया फरक फरक छ । काठमाडौं महानगरपालिकाको गणनास्थल राष्ट्रिय सभागृहमा दलका प्रतिनिधिहरुको भिडभाड व्यवस्थापन गर्न तारजाली राखिएको एक कर्मचारीले बताए । ‘करिव आठ सय उम्मेदवार छन्, उनीहरुको एक जनाका दरले प्रतिनिधि रहँदा पनि भिडभाड हुने र व्यवस्थापन गर्न कठिन हुने भएकाले तारजाली राखेका हौं’ उनले भने ।

भरतपुर महानगरपालिकामा पुरानो अनुभवका कारण पनि तारजाली राख्नुपर्ने भनी निर्णय भएको थियो । सुरक्षा संयन्त्र, दलका प्रतिनिधि लगायत मुख्य निर्वाचन अधिकृतले छलफल गर्दा २०७४ सालको स्थानीय तह निर्वाचनमा झैं मतपत्रि च्यातिने जोखिम हुनसक्ने भनेर तारजाली राखिएको हो । त्यसपछि तत्काल भरतपुर महानगरपालिकालाई आग्रह गरेर उसलाई नै तारजालीको व्यवस्थापन गर्न लगाइएको हो ।

निर्वाचन आयोगले मतगणनास्थलको सुरक्षाबारे निर्णय गर्न निर्वाचन अधिकृतहरुलाई स्वतन्त्र छाडिएको बताउछ । ‘स्थानीय परिस्थिती हेरेर कतिपय ठाँउमा तारजाली राखिएको छ, कतिपयमा छैन’ निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले भने, ‘तपाईहरुले १०-२० ठाउँमा देख्नुभयो भने सबैठाउँमा तारजाली राखियो भन्नुहुन्छ । ७५३ मध्ये धेरै ठाउँमा तारजाली राखिएको छैन भन्ने कुरा ध्यान दिनुभएन ।’

मतगणनामा कसैले हस्तक्षेप गर्न नसक्ने वातावरण बनाउन निर्वाचन अधिकृतहरुको ध्यानाकर्षण गराइएको उनले बताए । अरु दिन निर्वाचन अधिकृतहरु अत्यन्त व्यस्त भएकाले मतदानस्थलको तयारीपछि फुर्सदमा निर्वाचन अधिकृतको कार्यालयहरुले तारजालीको व्यवस्था गरेको उनले बताए । उनले भने, ‘हामीकहाँ अन्तिम समयमा मात्रै काम गर्ने चलन छ । आजमात्रै फुर्सद भएकाले आज काम गर्नुभएको हो ।’

अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीविच तीब्र प्रतिस्पर्धा चलेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेर मुखमा हालेका थिए । त्यसपछि दुई वडाको मतगणना स्थगित भयो र फेरि मतदान हुँदा दाहाल निर्वाचित भइन् ।

लोकतन्त्रमा मतदाताहरुको मतबाट राजनीतिक दलहरुले वैधता पाउँछन् । देशभर दलका प्रतिनिधि र कतिपय स्वतन्त्र उम्मेदवारहरु नागरिकको विश्वासबाट पाउने मतका आधारमा निर्वाचित हुन्छन् । नागरिकले विश्वास गरेका तिनै दलका, उम्मेदवारको प्रतिनिधिका एकाध घटनाले देशैभर, त्यो पनि पाँच वर्ष पछिसम्म असर पर्‍यो । २०७४ सालको स्थानीय निर्वाचनमा मतपत्र च्यातिएपछि कतिपय ठाउमा तारजाली राखेर मतगणना गरिएको थियो ।

संवैधानिक कानुनका ज्ञाता काशीराज दाहाल मतगणनास्थलमा तारजाली राखेर मत गन्नुपर्ने अवस्था आउनु दुखद भएको बताउँछन् । ‘निर्वाचन आयोगले सकर्तकता अपनाउनु उचित हो, तर शंकैशंकामा अरुतिर पनि यस्तै होला भनेर तारजाली लगाउनु त विडम्बना भयो’, उनी भन्छन्, ‘कताकता हामीमा लोकतन्त्रलाई संस्थागत गर्ने आचरण र व्यवहार भएन कि झैं लाग्छ । संविधानमा लेखिएको लोकतन्त्र व्यवहारमा ल्याउन दल र तिनका प्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?